भारतीय धनाढ्य गौतम अडानी विरुद्ध अमेरिकामा ठगी र घुसखोरीको मुद्दा

न्यूयोर्क । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिने धनाढ्य व्यवसायी गौतम अडानीमाथि अमेरिकामा ठगी ठगी र घुसखोरीको आरोपमा मुद्दा दायर भएको छ । अमेरिकामा रहेको उनको आफ्नो एउटा कम्पनीको ठेक्का लिन २५ करोड डलर घुस दिएको र त्यो कुरा लुकाएको आरोप लागेको छ । बुधबार न्यूयोर्कमा दायर गरिएको आपराधिक मुद्दा भारतका सबैभन्दा धनी व्यक्तिमध्ये एक ६२ वर्षीय अडानीका लागि ठूलो धक्का हो ।

अडानीको व्यापारिक साम्राज्य बन्दरगाह र विमानस्थलदेखि ऊर्जा क्षेत्रसम्म फैलिएको छ । अमेरिकी अभियोजकहरुले अदानी र उनको कम्पनीका अन्य वरिष्ठ अधिकारीहरुले आफ्नो नवीकरणीय ऊर्जा कम्पनीको लागि ठेक्का लिन सो रकम घुस दिन सहमत भएको आरोप छ । सो सम्झौताबाट कम्पनीले आगामी २० वर्षमा दुई अर्ब डलरभन्दा बढी नाफा कमाउने अपेक्षा गरिएको थियो । अडानी समूहले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

अडानी समूह सन २०२३ देखि अमेरिकामा शंकाको घेरामा छ । त्यो वर्ष हिन्डनबर्ग नामको कम्पनीले अडानीमाथि ठगीको आरोप लगाएको थियो । गौतम अडानीले सो कम्पनीको दाबीलाई पूर्ण रुपमा अस्वीकार गरेका थिए तर त्यो समाचार बाहिर आएपछि अडानी समूहका कम्पनीको शेयरमा भारी गिरावट आएको थियो ।

यो घुस योजनालाई अगाडि बढाउन अडानी आफैंले धेरै पटक सरकारी अधिकारीहरुसँग भेट गरेको अधिकारीहरुले बताएका छन् । गौतम अडानी बाहेक अन्य सात जना व्यक्तिहरु विरुद्ध अमेरिकी न्यायाधिवक्ताको कार्यालयले यस विषयमा मुद्दा दायर गरेको छ । यी सात जनामा सागर आर अदानी, विनीत एस जैन, रंजित गुप्ता, रुपेश अग्रवाल, दीपक मल्होत्रा, सौरभ अग्रवाल र सिरिल क्याबनेज छन् ।

अडानीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निकट सहयोगी मानिन्छ । भारतका विपक्षी दलहरु त्यसमा पनि काग्रेस नेत राहुल गान्धी संसदमै प्रधानमन्त्री मोदीले राजनीतिक सम्बन्धका कारण अडानीलाई फाइदा पुर्याएको आरोप लगाउँदै आएका छन् । तर, अडानीले यी आरोपलाई अस्वीकार गर्दै आएका छन् ।

अडानीको यो मुद्दा केही साताअघि अमेरिकी राष्टपतिमा डोनाल्ड ट्रम्पले जितेपछि बाहिर आएको हो । ट्रम्पले अमेरिकी न्याय विभागमा आमूल परिवर्तनको कुरा गरेका छन् । गत हप्ता मात्र्र अडानीले सामाजिक सञ्जालमा ट्रम्पलाई विजयको लागि बधाई दिएका थिए र अमेरिकामा १० अर्ब डलर लगानी गर्ने घोषणा गरेका थिए । (बिबिसी)

प्रतिक्रिया