‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी तथा कार्यशाला’ सुरु

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सोसाइटी फर प्रवल प्रमानिक्स एकेडेमी अफ आर्टस्, भारतको संयुक्त आयोजनामा बुधवारबाट ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी तथा कार्यशाला’ सुरु भएको छ । कार्यक्रमको प्रतिनिधिसभा सदस्य रघुजी पन्त, प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलगायतले संयुक्त रूपमा उद्घाटन गरे । प्रतिनिधि सभा सदस्य पन्तले यस्ता कार्यक्रममार्फत कला, संस्कृतिको आदान–प्रदान हुने विचार व्यक्त गरे ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कार्यक्रमले ७ वटा देशका कलाकारसँग साक्षत्कार गर्ने अवसर दिनुका साथै कला, संस्कृतिको आदान–प्रदानमा सहयोग गरेको बताउनुभयो । श्रीलङ्काका कलाकार महेस चतुरंग एकनायकेले नेपाल आएर कला प्रदर्शनीमा सहभागी हुन पाएकामा आयोजकप्रति आभार व्यक्त गरे ।

बङ्लादेशकी कलाकार रुविना नार्गिसले यस कार्यक्रममा सहभागी हुन पाउँदा धेरै खुसी लागेको बताइन् । सोसाइटी फर प्रवल प्रमानिक्स एकेडेमी अफ आर्टसका अध्यक्ष अरूप चन्द्रले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँग सहकार्यमा यस कार्यक्रम गर्न पाएकामा धेरै खुसी लागेको बताए । प्रदर्शनीमा नेपालसँगै भारत, श्रीलङ्का, मौरिसस, बङ्गलादेश, स्पेन, अर्जेन्टिनाका ७५ कलाकारका १५० भन्दा बढी कलाकृति समाविष्ट गरिएको छ । प्रदर्शनी ७ मङ्सिरसम्म चल्ने छ ।

प्रतिक्रिया