बालबालिकाको क्यान्सरको निःशुल्क उपचार सुरु

सरकारले सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो

काठमाडौँ । गत कात्तिक ११ गते स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्री स्तरीय निर्णय गर्दै १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने गरी ल्याएको योजना कार्यान्वयनमा आएको छ । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचारको निःशुल्क सेवा सुरु गरेको छ ।

अस्पतालले मंसिर २ गतेदेखि नै १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिए । सरकारले सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, कान्ति बाल अस्पताल काठमाडौँ र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेको थियो । पौडेल मन्त्री बनेलगत्तै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क उपचार सेवा प्रदान गर्ने गरी पहल सुरु गरेका थिए ।

अस्पतालका निर्देशक डा. चालिसेले भने, ‘सरकारको नीतिअनुसार भक्तपुर क्यान्सर अस्पतालले नेपालमै पहिलो पटक गत २ गतेदेखि यो सेवा सुरु गरेका छौँ, स्वास्थ्यमन्त्रीले बुधबार यसको औपचारिक उद्घाटन गर्दै हुनुहुन्छ, अब बालबालिकाले आर्थिक अभावका कारण उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था आउँदैन, हाम्रो अस्पतालले निरन्तर सेवा दिन्छ ।’

बालबालिकाको क्यान्सर रोगको उपचारसँगै आवश्यक ३५ प्रकारका औषधि निःशुल्क प्रदान गरिनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १४ चैत, २०८० मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग बालबालिकामा हुने क्यान्सरको उपचारका लागि निःशुल्क औषधि प्राप्तिका लागि सम्झौता गरेको थियो ।

प्रतिक्रिया