‘पूर्णबहादुरको सारंगी’ले कमायो ३० करोड

काठमाडौँ । लक्ष्मी पूजालाई लक्षित गर्दै यही १५ कात्तिकदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १७औँ दिनसम्म आइपुग्दा झण्डै ३० करोड रुपैयाँ संकलन गरेको जानकारी दिए । १ करोड ३० लाख रुपैयाँ लगानी लगाएको जानकारी दिँदै उनले यस चलचित्रको प्रगति यही रफ्तारले अघि बढिरहेको खण्डमा आफूले सोचेभन्दा धेरै रकम संकलन हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘हाम्रो गाउँघरको मौलिक कथालाई नेपालसँगै विश्वभर दर्शकले दिनुभएको मायालाई धन्यवाद भन्ने शब्द हामीसँग छैन, यस चलचित्रमार्फत हामीले विदेशी चलचित्रसँग डराउनुपर्ने प्रवृत्तिलाई पनि अन्त्य गरेका छौँ, नेपाली दर्शकसम्म जानकारी पुगेमा उहाँले नेपाली चलचित्रलाई नै माया गर्नुहुन्छ भन्ने प्रमाणित भएको छ ।’

उनले चलचित्रले गत मंगलबारसम्म २५ करोड ३ लाख र बुधबार २ करोड रुपैयाँको हाराहारीमा व्यापार गरेको बताए । नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल भ्रमणमासमेत निस्किएको छ । निर्माता पौडेलले गत बिहीदेखि पूर्वबाट सुरु भएको भ्रमणमा मोफसलका चलचित्र भवनमा पुगेर दर्शकलाई धन्यवाद व्यक्त गरेको जानकारी दिए ।

‘हामी गाईघाटबाट भ्रमण सुरु गर्दै छौँ, ग्रामीण भेगका चलचित्र भवनमा पुगेर त्यहाँका दर्शकलाई धन्यवाद दिएका छौँ, उहाँहरूको मायाले हामी मात्र नभई नयाँ निर्मातालाई पनि हौसला मिलेको छ’, निर्माता पौडेलले भने । उक्त भ्रमणमा निर्माता पौडेलसँगै अभिनेता विजय बराल, अभिनेत्री अञ्जना बराइलीलगायत थिए ।

प्रतिक्रिया