रौतहट । कटहरिया नगरपालिकाका नगर प्रमुख (मेयर) अजय प्रकाश जैसवालले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेका छन् ।
शुक्रबार जैसवालले एक विशेष कार्यक्रमका बीच कटहरिया नगरपालिका स्थित रहेका सामुदायिक विद्यालयहरूबाट ३.६० भन्दा बढी जिपिए ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्दै पुरस्कार वितरण गरेका हुन् । कार्यक्रममा नगर प्रमुख जैसवालले ३ दशमलव ६० जिपिएभन्दा माथि ल्याएर एप्लस ग्रेड प्राप्त गर्ने पाँच जना विद्यार्थीहरूलाई ल्यापटप वितरण गरेका छन् ।
ल्यापटप प्राप्त गर्ने विद्यार्थी प्रथम स्थानमा अनरूद यादव ३.७१, दोस्रो स्थानमा मधु साह ३.६९, तेस्रो स्थानमा सन्ध्या कुशवाहा ३.६२, चौथो स्थानमा बादसाह कुशवाहा ३.६२ र पाँचौँ स्थानमा धर्मेन्द्र रायले ३.६१ अंक प्राप्त गरी एप्लस ल्याएका थिए ।
विद्यार्थीहरुलाई नगर प्रमुख जैसवालले साथसम्मान गरेका छन् । साथै कटहरिया नगरपालिकाकै एक विद्यार्थी एमबीबीएसमा यसै वर्ष छात्रवृत्ति प्राप्त गरेका वडा नं १ भषेढवा निवासी राधेश्याम दासलाई ५ वर्षको शैक्षिक खर्चमा लाग्ने सम्पुर्ण अध्ययनरत खर्च नगरपालिकाले सहयोग गर्ने गर प्रमुख जैसवालले घोषणा गरेका छन् ।
नगर प्रमुख जैसवालले विद्यार्थीहरूलाई दोसल्ला ओढाएर सम्मान गर्दै उज्ज्वल भविष्यको कामना गरे । उनले भने, ‘विद्यार्थीहरूको मेहनत र समर्पणले समुदायलाई प्रेरित गर्नेछ । यस्ता प्रयासले मात्र शिक्षामा गुणस्तर वृद्धि गर्न सकिन्छ ।’
साथै, उनले समुदायिक विद्यालयहरूमा शिक्षाको स्तर सुधार गर्न कटिबद्ध रहेको बताउँदै विद्यार्थीहरूको उपलब्धिलाई उच्च प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरे । नगर प्रमुख जैसवालले भने विद्यार्थीहरु आफ्नो लगनशीलता र मेहनतले कटहरिया नगरपालिकाको प्रतिष्ठा बढाउनेमा विद्यार्थीहरूको योगदान महत्त्वपूर्ण रहेको बताए ।
त्यति मात्र नभएर नगरपालिकामा गत वर्ष झैँ यस वर्ष पनि एसइईका विद्यार्थीहरुको लागि निशुल्क कोचिङ कक्षाको व्यवस्था गर्ने उनले बताए ।
साथै लोकसेवा आयोग तयारी गर्ने विद्यार्थीहरुको लागि पनि व्यवस्था गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘हाम्रो नगरपालिकामा अन्य विकास कम किन नहोस तर शिक्षा, स्वास्थ्य र शुद्ध खानेपानीमा विशेष ध्यान दिनेछु ।’ त्यति मात्र नभएर नगर प्रमुख जैसवालले युवाहरूको शिक्षामा लगानी गर्न नगरपालिकाले विशेष योजना अघि सारेको र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।
त्यसतै जनता उच्च माविका प्रधानाध्यापक सचिन्द्रप्रसाद यादवको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको विशिष्ट अतिथि नगर उप–प्रमुख रितादेवी यादव, वडाअध्यक्ष श्यामाकान्त यादव, समिश बिक्रम साह र वडाअध्यक्ष रुपेश यादवले आ–आफ्नो मन्तब्य राख्दै विद्यार्थीहरुको हौसला बढाउनु पर्ने बताए ।
आउदो दिनमा शिक्षामा थप प्रगति गर्नुपर्नेमा उनीहरुले जोड दिए । कार्यक्रममा नगरपालिकाका विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, पदाधिकारीहरू, शिक्षक, विद्यार्थी र अभिभावकहरूको पनि उपस्थिति थियो ।
प्रतिक्रिया