भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक २–३ वटा वैदेशिक उडान हुन थालेका छन् । सातामा २४ वटा उडान हुने गरी विभिन्न अन्तर्राष्ट्रिय बायुसेवा कम्पनीहरूले अनुमति लिएका छन् । कतार, दुबई, मलेसिया, थाइल्यान्ड लगायतका गन्तव्यमा उडान तथा अवतरण हुन थालेपछि भैरहवा क्षेत्रको चहलपहल बढेको छ । होटल व्यवसायीहरू खुसी छन् । यो खुसी दीर्घकालीन हुन सक्ने कुरामा भने उनीहरू ढुक्क छैनन् ।
किनकी राजधानी काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत तथा बिस्तारका लागि दैनिक १० घण्टा बन्द गरिएको छ, ३० प्रतिशत उडान कटौती भएका छन् । जसका कारण केही विमान कम्पनीहरूले भैरहवा विमानस्थल प्रयोग गरेका हुन् । तर उनीहरूले स्वस्फूर्त रूपमा प्रयोग गरेका भने होइनन्, पर्यटकको आवागमनमा बाधा नपुगोस्, भनेर सरकारले विभिन्न सहुलियत दिएका कारण केही अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले भैरहवा विमानस्थल प्रयोग गरेका हुन् । ५ महिनाभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिस्तार तथा मर्मतको काम सक्ने लक्ष्य सरकारले लिएको छ ।
यो काम सकिएपछि फेरि पहिलेको जस्तै विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान ठप्प हुने हो कि ? भन्ने आशंका भैरहवाबासीलाई छ । किनकी भैरहवा विमानस्थल स्वस्फूर्त रूपमा सञ्चालन हुने वातावरण अझै बनिसकेको छैन । भारतले आफ्नो अकास अनुमति नदिएका कारण उत्पन्न मुख्य समस्या त छँदै छ, त्यसबाहेक स्वदेशभित्रै संघीय, प्रदेश तथा स्थानीय सरकारहरूले गर्नुपर्ने कतिपय काम बाँकी छन् । यात्रुहरूलाई भैरहवा विमानस्थलमा आकर्षित गर्नका लागि निजी क्षेत्रका व्यवसायीहरूले गर्नुपर्ने काम पनि धेरै बाँकी छन् ।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका मुख्य यात्रु भनेका वैदेशिक रोजगारीमा जाने युवाहरू हुन् । तर, उनीहरूलाई अझै पनि स्वास्थ्य परीक्षण र भिसाका लागि काठमाडौँ धाउनुपर्ने वाध्यता बाँकी नै छ । स्वास्थ्य परीक्षण र भिसाका लागि काठमाडौँ आइसकेपछि विदेश जान फेरि भैरहवा पुग्नु कत्ति पनि व्यावहारिक हुँदैन । गत २६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले भैरहवामै स्वास्थ्य परीक्षण तथा भिसाको प्रबन्ध गर्नेलगायत केही निर्णय गरेको थियो । तर, ती निर्णयहरू अझै कार्यान्वयनमा आएका छैनन् ।
जसरी काठमाडौँको त्रिभुवन विमानस्थलमा उत्रेपछि तत्कालै देशका अन्य सहरी क्षेत्रमा उडान गर्न सकिने सुविधा छ, त्यो सुविधा भैरहवाबाट अझै छैन । भैरहवाबाट पनि देशका अन्य सहरहरूमा उडानका लागि सरकारले हवाई सेवा कम्पनीहरूलाई प्रेरित गर्न सकेको छैन । भैरहवा तथा बुटवल क्षेत्रका होटल व्यवसायीहरूले १० हजार जनालाई सेवा दिनसक्ने क्षमता रहेको दाबी गरेका छन् ।
जुन अत्यन्त राम्रो कुरा हो, तर गुणस्तरीय सेवा दिन नसकेको, होटलहरूमा पुग्नका लागि ट्याक्सीले महँगो भाडा लिने गरेको लगायत गुनासो यात्रुहरूको छ । नियमित उडान हुन थालेको एक साता बित्दानबित्दै यात्रुहरूबाट यस्तो गुनासो आउनु भनेको स्थानीय सरकारको कमजोरी हो । आफू लुटिइने हो कि भन्ने डर रहेसम्म वैदेशिक रोजगारीबाट फर्कनेहरूले भैरहवालाई गन्तव्य बनाउँदैनन् भन्ने कुरालाई स्थानीय व्यवसायी, सरकार तथा बासिन्दाले गम्भीरतापूर्वक लिनै पर्छ ।
करिव ८ वर्ष लगाएर निर्माण सम्पन्न गरिएको भैरहवा विमानस्थल उद्घाटन भएको पनि ३ वर्ष पुग्न लागिसकेको छ । तर शिलान्यास हुनुभन्दा अघि नै सम्पन्न गर्नुपर्ने कतिपय काम अझै बाँकी छन् । भारतसँग कूटनीतिक पहल गरी पश्चिमको नाकाबाट प्रवेश गर्न दिने व्यवस्था अझै हुन सकेको छैन । यसैगरी सीमाक्षेत्र नजिकै भएका कारण विमान उडान तथा अवतरण गर्ने बेला आइएलएस यन्त्र सञ्चालन गर्न प्रत्येकपटक भारतको अनुमति लिनुपर्ने वाध्यता अझै बाँकी छ । हिउँदमा तुवाँलो लागेका बेला आइएलएस यन्त्र सञ्चालन अपरिहार्य मानिन्छ ।
भैरहवा विमानस्थलप्रति भारत किन सकरात्मक हुन सकेको छैन ? भन्ने कुरा मोटामोटी थाहा भइसकेको छ । काठमाडौँ विमानस्थलमा त आफ्नो सुरक्षा उपस्थिति खोजेको भारतले सीमाना नजिकैको भैरहवा विमानस्थलमा खोज्नु स्वभाविकै हो । यदि भैरहवा विमानस्थल साविकको ठाउँभन्दा ३ किलोमिटर उत्तरतर्फ निर्माण गरिएको भए आइएलएस यन्त्र सञ्चालनका लागि भारतबाट अनुमति लिनुपर्ने झन्झट हुने थिएन । योजना छनौटमा त ठुलो कमजोरी भएकै हो, साथै हाम्रो कूटनीतिक दक्षता र चतुर्याइँ पनि कमजोर देखिएको छ ।
प्रतिक्रिया