पर्थ । पाकिस्तानले अस्ट्रेलियाविरुद्धको एकदिवसीय शृंखलामा जित हात पारेको छ । आइतबार पर्थमा भएको खेलमा अन्तिम तथा तेस्रो खेलमा ८ विकेटको जित हात पर्दै पाकिस्तानले शृंखला २–१ ले जितेको हो । पाकिस्तानलाई जित दिलाउने क्रममा अन्तिम खेलका म्यान अफ दी म्याच तथा म्यान अफ द सिरिजसमेत घोषित हारिस राउफले ७ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । अस्ट्रेलियाले दिएको १४१ रनको रन पछ्याएको पाकिस्तानले १३९ बल बाँकी रहँदा २ विकेटको क्षतिमा १४३ रन जोडेको थियो । पाकिस्तानका कप्तान मोहम्मद रिजवान ३० तथा बाबर आजम २८ रनमा अविजित रहे । यसैगरी, सइम अयुबले ४२ तथा अब्दुल्लाह सफिकले ३७ रन जोडे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया ३१ दशलमव ५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १४० रनमा सीमित भएको हो । अस्ट्रेलियाका सियन अबोटले सर्वाधिक ३० रन जोडे । म्याथ्यु सर्टले २२ रन जोडेको खेलमा अन्य कुनै ब्याट्सम्यानले १५ रनको आँकडा पनि पार गर्न सकेनन् । राउफले शृंखलामा कुल १० विकेट लिए ।
सहिन अफ्रिदीले ८ दशमलव ५ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । महँगो सावित भएका नसिम शाले ९ ओभरमा ५४ रन खर्चे पनि ३ विकेट लिए । पाकिस्तानको अस्ट्रेलियामा सन् २००२ पछि यो पहिलो शृंखला जित हो ।
भारतविरुद्धको पहिलो टेस्टको तयारीका लागि अस्ट्रेलियाले नियमित कप्तान प्याट कुमिन्ससहित जोस हजेलउड, मिचेल स्टार्क, स्टेभन स्मिथ र मार्नस लाबु साङ्गेलाई आराम दिएको थियो ।
प्रतिक्रिया