लिभरपुलको अग्रता फराकिलो बन्दै

लन्डन । लिभरपुलले अस्टन भिल्लालाई २–० ले हराउँदै इंग्लिस प्रिमियरसिपको अंक तालिकामा ५ अंकको अग्रता कायम गरेको छ । शनिबार राति भएको खेलको २०औँ मिनेटमा डार्बिन नुनेजले पाएको अवसरलाई सहजै गोलमा परिणत गरेपछि लिभरपुलले पहिलो अग्रता लिएको थियो । मोर्गान रोजर्सले मध्यान्तरपछि एक अवसर नगुमाएको भिल्ला खेलमा फर्कने सम्भावना पनि थियो ।

मोहम्मद सलाहले खेल सकिन ६ मिनेट बाँकी रहँदा लिभरपुलका लागि अर्को गोल गरेका हुन् । यस सिजनको लिगमा उनको यो लगातार ४ खेलमा गोल गरेका हुन् । लिगका ११ खेलमा लिभरपुलको यो नवौँ जित हो ।

शनिबार भएका प्रिमियरसिपका अन्य खेलमा ब्रिङटनले म्यानचेस्टर सिटीलाई २–१ ले, उल्भ्सले साउथहाम्टनलाई २–० ले, ब्रेन्टफोर्डले बोर्नमाउथलाई ३–२ ले र फुलहामले त्रिस्टल प्यालेसलाई २–० ले हराए । वेस्टहाम र एभरटनको खेल गोलरहित बराबरीमा सकिएको छ ।
तालिकामा लिभरपुल ११ खेलमा २८ अंकसहित शीर्ष स्थानमा छ भने सिटी २३ अंकसहित दोस्रो स्थानमा छ । १० खेल खेलेको नटिङघम फरेस्ट १९ अंकसहित तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको ब्रिङटनले ११ खेलबाट १९ अंक जोडेको छ । अस्टन भिल्ला ११ खेलमा १८ अंकसहित आठौँ स्थानमा झरेको छ ।

प्रशिक्षक पेप गुआर्डीवोलाले सिटीको टोली सम्हालेपछि ४ खेलमा लगातार हार बेहोरेको यो पहिलोपटक हो । सिटी सन् २००६ पछि पहिलोपटक लगातार ४ खेलमा पराजित भएको हो ।

२३औँ मिनेटमा एर्लिङ हलान्डको गोलमा सिटीले अग्रता लिएको थियो । दोस्रो हाफमा लगातार आक्रमण गरेको सिटीका लागि खेल सकिन १२ मिनेट बाँकी रहँदा जाओ पेड्रोले गोल गरे । त्यसको ५ मिनेटपछि नै म्याट ओ रेलीले निर्णायक गोल गरे । यसअघि गुआर्डीओलाले सन् २०१४–१५ को सिजनमा वायरन म्युनिखको प्रशिक्षक हुँदा लगातार ४ खेलमा पराजयको सामना गरेका थिए ।

ला–लिगामा रियलको फराकिलो जित

स्पेनिस ला–लिगामा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले सानदार जित निकालेको छ । भिनिसियस जुनियरको ह्याट्रिकमा रियलले ओसासुनाविरुद्ध ४–० को जित निकालेको हो ।

खेलको ३४औँ मिनेटमा जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको ८ मिनेटपछि जुड बेलिङ्घमले टोलीका लागि दोस्रो गोल गरे । दोस्रो हाफमा जुनियरले २ गोलसँगै ह्याट्रिक पूरा गरे । शनिबार भएको खेलमा रियलले आठौँ जित दर्ता गरेको छ । योसँगै रियलले १२ खेलबाट २७ अंकसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानको बार्सिलोनाको ३३ अंक छ । ओसासुनाको भने यो चौथो हार हो । प्रतियोगितामा ओसासुना २१ अंकसहित पाँचौँ स्थानमा छ ।

जर्मनीमा वायरन म्युनिखको अग्रता फराकिलो बन्दै

जर्मन बुन्डेसलिगमा शीर्ष स्थानमा रहेको वायरन म्युनिखले दोस्रो स्थानमा रहेको आरबी लेपिजलाई ५ अंकले पछि छाडेको छ । शनिबार भएको खेलमा म्युनिखले जमाल मुसियलाको सनसनीपूर्ण गोलमा सेन्ट पाउलीलाई १–० ले हराएको हो । २२आँै मिनेटमा उनले ३० यार्ड टाढाबाट प्रहार गरेको बल क्रसबारमा लागेर गोलपोस्टमा छिरेको थियो ।

लेपिज भने बोरुसिया मोन्चेनग्लेडब्लाकसँग गोलरहित बराबरीमा रोकियो । वायर लिभरकुसेन र बोकुमबीचको खेलमा १–१ गोलको बराबरी भयो । मेन्चले बोरुसिया डर्टमन्डलाई ३–१ ले हरायो । यसैगरी वेरडर ब्रेमनले हेलस्टल केलमाथि २–१ को जित हात पा¥यो । बुन्ढेसलिगामा वायरनको १० खेलमा २६ तथा समान खेलमा लेपिजको २१ अंक छ । ९ खेल मात्र खेलेको इन्रिच फ्रान्कको १७ तथा १० खेल नै खेलेको लिभरकुसेनले पनि समान १७ अंक छ ।

इटालियन सिरिएको खेलमा युभेन्ट्सले टोरिनोलाई २–० ले हरायो । यसैगरी, पर्माले भेनेजियालाई २–१ ले हरायो भने काग्लारी र एसि मिलान बीचको खेलमा ३–३ गोलको बराबरी भयो ।

प्रतिक्रिया