वास्तवमा जारकालीन रुस ‘विभिन्न जातिहरूका निमित्त एउटा बन्दी गृह’ जस्तै थियो । रुसी क्रान्तिले ती गैररुसी सबै जातिहरूलाई त्यो औपनिवेशिक दासताको बन्दीको स्थितिबाट मुक्त गर्यो र तिनलाई समाजवादी सोभियत युनियनभित्र स्वायत्त शासन प्रणाली प्रदान गर्यो । तर कलिलो समाजवादी सोभियत संघले यी कुराहरू अघि बढाउन पाउँदा नपाउँदै त्यसले तत्कालै प्रतिक्रान्तिकारी शक्तिहरूको तीव्र प्रतिरोधको सामना गर्नुपर्यो ।
यतिबेला विश्वभरी नै वैज्ञानिक समाजवादमा विश्वास राख्ने र त्यसका लागि संघर्षरत जनसमुदायले महान अक्टोबर समाजवादी क्रान्तिको १०७औँ वार्षिकोत्सव मनाइरहेका छन् । हुन पनि त्यो रुसी क्रान्तिकारी माक्र्सवादी चिन्तक तथा नेता भ्लादिमिर इलिच लेनिनको नेतृत्वमा विश्वलाई नै नयाँ मोड दिने क्रान्ति थियो र हो । त्यति मात्रै होइन, त्यो क्रान्ति समाजका सबैभन्दा शोषित, पीडित वर्ग र समुदायका मजदुर किसानको त्यस्तो क्रान्ति थियो जसले क्रान्तिपछिको मानव समाजमा मानिसले मानिसलाई शोषण गर्ने कुनैस्थिति नै नरहेको बिल्कुलै नयाँ समाजको निर्माण गरेको थियो । बिल्कुलै नयाँ शोषित पीडित वर्ग र समुदायको राज्य स्थापना गरेको थियो ।
त्यतिबेला रुसमा निरंकुश राजतन्त्र थियो । त्यसलाई जारशाही भनिन्थ्यो । जमिन्दार वर्गको त्यो जार साम्राज्यले त्यस बेलाको मध्य एसियासम्मै ढाकेको थियो । त्यतिबेलाको तथ्यांकअनुसार रुसमा क्रान्तिपूर्वका सबैभन्दा पछिल्लो जार शासकको अधिनमा मात्रै ८ लाख हेक्टर सबैभन्दा राम्रो जमिनमाथि स्वामित्व थियो । २८ हजार ठूला जमिन्दारहरू थिए । ठूला साना सबै जमिन्दारको स्वामित्वमा त्यतिबेलाको रुसी साम्राज्यमा १ करोड ६७ लाख ४० हजार हेक्टर जमिन रहेको उल्लेख छ । यस्तो सामन्ती स्थितिकासाथै औद्योगिक र खानीको क्षेत्रमा प्रवेश भएको ठूलो पुँजीवादी एकाधिकारले समेत गर्दा रुसी समाज अर्धसामन्ती जमिन्दारी प्रणालीको रूपमा खडा हुँदै गएको थियो । यद्यपि यसरी रुसमा पनि पुँजीवादको बिकास तीव्ररूपमा हँुदै गएको थियो, तर युरोपका अरू देशहरूसँग तुलना रुस मूलतः पिछडिएको अवस्थाबाटै गुज्रिरहेको थियो ।
यस्तै स्थितिमा रुसी जारशाही पनि पहिलो विश्व युद्ध (१९१४–१८)मा सामेल भएको थियो । विश्वलाई आ–आफ्नो स्वार्थ अनुकूल विभाजन गर्ने त्यो एउटा विश्वमा घटित पहिलो साम्राज्यवादी युद्ध थियो । त्यसमा जर्मनी, बेलायत, फ्रान्स र रुस आ–आफ्ना उपनिवेश र त्यहाँ भएका स्रोत साधनहरूमाथि नियन्त्रण गर्न युद्धमा होमिएका थिए । यस क्रममा जारशाहीले रुसका लाखौँलाख श्रमजीवी मजदुर किसानलाई जबर्जस्ती सेनामा भर्ना हुन बाध्य तुल्याइरहेको थियो । त्यस क्रममा हजारौँ हजार रुसी सिपाहीहरूले ज्यान गुमाइरहेका थिए र लगातार जर्मनीसँग हारिरहेका थिए । गरिब तप्काका पनि सबैभन्दा गरिब किसानहरू भने रुसी जमिन्दारका दासजस्तै मात्र थिए ।
यस्तो युद्ध र दासताको अन्त्यन्तै पीडादायक स्थितिले रुसमा ब्यापक जनअसन्तोष फैलिरहेको थियो । यस स्थितिबाट मुक्त हुन रुसको क्रान्तिकारी शक्ति खासगरी रुसी कम्युनिस्ट पार्टी बोल्शेभिकले जारशाही सत्ताका विरुद्ध जनविद्रोहको बिगुल फुक्यो र जन असन्तोषको सही नेतृत्व गर्यो । त्यो आमजनविद्रोहले फेब्रुअरी १९१७ मा ठुलो क्रान्तिको रूप लियो र जारशाहीको सत्तालाई पल्टाइदियो अनि त्यसको स्थानमा पुँजीवादको प्रभुत्व भएको सरकार आयो । फेब्रुअरी क्रान्तिपछि सत्तामा पुगेको शक्तिले जारशाही सत्ताको प्रतिक्रियावादी तप्कासँग सम्झौताको नीति लियो र ठुला पुँजीपति वर्गको हित साधन गर्ने बाटो पक्रियो । जसले गर्दा त्यो सरकारकाप्रति पनि जनअसन्तोष तीव्ररूपले बढ्दै गयो, खासगरी युद्धमा मारिएका सेना र घाइते भएका जनताका परिवारका बीचमा यो सरकार धेरै नै अप्रिय बन्न पुग्यो ।
यद्यपि त्यो फेब्रुअरी क्रान्तिको दौरानमा लोकप्रिय शक्तिको रूपमा जनताका नयाँ पद्धतिहरू जस्तै सोभियतहरू (मजदुर, किसान र सैनिकहरूका सोभियतहरू) लाई एउटा सशक्त शक्तिको विकासको रूपमा अघि बढाएको थियो र त्यो जनताको नयाँ संयन्त्र देशका सबै प्रमुख सहरहरू र कतिपय ग्रामीण क्षेत्रमा पनि फैलिसकेको थियो ।
बोल्शेभिक पार्टी (जुन फेब्रुअरी क्रान्तिपछि कम्युनिस्ट पार्टीको रूपमा प्रकट भयो)ले श्रमजीवी जनता र सेनाका विभिन्न टुकुडीहरूकाबीचमा बनेका सोभियतहरूबाट बढ्दो मात्रामा ठूलो समर्थन पाउँदै गयो । सेप्टेम्बर महिनाको अन्त्य हुँदा नहुँदै त्यो संक्रमणकालीन सरकारले मजदुर, किसान र सेनाको ठुलो असन्तोषलाई झेल्नुपरेको थियो । राजधानी पेत्रोग्राद र मास्कोजस्ता सहरहरूमा सर्वहारा वर्गले आफ्नै सोभियतहरू खडा गरेका थिए, सैनिकहरूले सरकारको साथ दिन छोड्दै बढ्दो क्रान्तिकारी उभारको समर्थन गर्न थालेका थिए । रुसका ग्रामीण क्षेत्रभरी नै त्यतिबेला कृषि मजदुरहरूले जमिन्दार र तानाशाहरूको जमिन आफ्नो हातमा लिन सुरु गरिसकेका थिए । जारको सेनामा रहेका सैनिहरूले पनि आफ्नै सोभियत खडा गर्न थालेका थिए र युद्धको अन्त्य गर्नुपर्ने र शान्ति स्थापना गर्नुपर्ने माग जोडदाररूपमा उठाइरहेका थिए । नेता लेनिनले सेनाको बर्दीमा यो किसानहरूकै जमात हो भनेर प्रष्ट दर्शाएका थिए ।
विकसित भएको ठिक यस्तो बस्तुगत स्थितिमा बोल्शेभिक पार्टीका नेतृत्वदायी सिद्धान्तकार र मार्गदर्शक अग्रज नेता लेनिनले ठोस परिस्थितिको एकदमै ठोस विश्लेषण गर्दै देश बुर्जुआ क्रान्तिको पहिलो चरणबाट दोस्रो चरणतिर अघि बढिरहेको र यो दोस्रो चरणको क्रान्तिले राज्य शक्तिलाई सर्वहारा वर्ग र गरिब किसानको सबैभन्दा विपन्न तप्काको हातमा सुम्पनुपर्दछ भन्ने प्रष्ट घोषणा र दिग्दर्शन गराएका थिए ।
अन्ततः क्रान्तिकारी बोल्शेभिक पार्टीको ‘सम्पूर्ण शक्ति सोभियतलाई प्रदान गर’ भन्ने नारा र आह्वानमा अक्टोबर २५ का दिन मजदुरहरूको सेना (रेडगार्ड) र सेनामा भएका क्रान्तिकरी सैनिकहरू केरेन्सीको नेतृत्वमा रहेको अन्तरिम सरकारलाई सत्ताच्युत गर्न अघि बढे । राजधानी पेत्रोग्रादमाथि कब्जा गर्दै त्यो क्रान्ति सफलताकासाथ सम्पन्न भयो । अनि त्यसपछिका साताहरूमा मास्को र अन्य केन्द्रहरूमा जार समर्थक, भक्त र समर्पित प्रतिरोधीहरू र प्रतिक्रान्तिकारीहरूलाई परास्त गर्दै क्रान्तिकारी सेनाले पूरै रुसभरी नै सोभियत शक्तिको स्थापना गर्दै गयो । यसरी क्रान्तिको विजय भयो र लेनिनको नेतृत्वमा शासन गर्ने सरकार होइन सेवा गर्ने जनकमिसार काउन्सिल स्थापना गर्ने महत्वपूर्ण मोडमा आइपुग्यो ।
संघर्षको बेला बोल्शेभिकहरूले जनतालाई भूमि, शान्ति र भोजन भन्ने नाराको वरिपरि एकताबद्ध गरेका थिए । ठिक त्यही कुरालाई मूर्त र प्रष्टरूपमा अघि बढाउन लेनिन नेतृत्वको जनकमिसार काउन्सिलले पहिलो महत्वपूर्ण कदम चाल्दै अखिल रुसी मजदुर, किसान र सैनिक प्रतिनिधिहरूको सोभियतसमक्ष पहिलोपटक उच्च प्राथमिकताकासाथ भूमि र शान्तिसम्बन्धी सबैभन्दा महत्वपूर्ण आज्ञाप्ति जारी गर्यो । यो भूमि आज्ञाप्ति जारी गरेपछि जमिन्दारहरूको सबै जमिन, चर्च र गुम्बाहरूको अधिनमा रहेका जमिन र जमिनसँग सम्बन्धित सम्पत्तिहरू स्थानीय र जिल्ला स्तरीय किसान सोभियत कमिटीहरूलाई सुम्पनुपर्ने नियम बनायोे ।
अनि सँगसँगै अर्को महत्वपूर्ण आज्ञाप्ति — ‘शान्तिसम्बन्धी आज्ञाप्ति’ले तत्काल युद्धको अन्त्य गर्न, युद्धमा संलग्न सबै सम्बद्ध देशहरूसँग शान्ति वार्ता गर्न ठोस प्रस्तावकासाथ जोडदार अपील गर्यो । सोभियतको नवगठित जनकमिसार काउन्सिलले कुनै क्षतिपूर्ति र विजित या पराजित भूभागको कुनै कुरा विना नै यस्तो शान्ति सम्झौतामा तत्कालै सहभागी हुने दृढता व्यक्त गर्दै शान्ति सम्झौतामा हस्ताक्षर गर्न सरकार दृढ रहेको कुरा व्यक्त गर्यो र यसरी शान्तिलाई उच्च प्राथमिकता दियो । क्रान्ति सम्पन्न भएपछि बनेको पहिलो जनकमिसार काउन्सिलका यस्ता महत्वपूर्ण र आधारभूत आज्ञाप्तिका अतिरिक्त अशिक्षाको अन्त्य, प्राथमिक शिक्षा सबैलाई अनिवार्य, स्वास्थ्योपचारको सुविधा सबैलाई तथा नयाँ समाजवादी सोभियत संघको निर्माणजस्ता थप कुराहरू समेत त्यो आज्ञाप्तिमार्फत प्रस्तुत गर्यो ।
वास्तवमा जारकालीन रुस ‘विभिन्न जातिहरूका निमित्त एउटा बन्दी गृह’ जस्तै थियो । रुसी क्रान्तिले ती गैररुसी सबै जातिहरूलाई त्यो औपनिवेशिक दासताको बन्दीको स्थितिबाट मुक्त गर्यो र तिनलाई समाजवादी सोभियत युनियनभित्र स्वायत्त शासन प्रणाली प्रदान गर्यो । तर, कलिलो समाजवादी सोभियत संघले यी कुराहरू अघि बढाउन पाउँदा नपाउँदै त्यसले तत्कालै प्रतिक्रान्तिकारी शक्तिहरूको तीव्र प्रतिरोधको सामना गर्नुपर्यो । रुसमा एउटा जटील गृहयुद्धको आगो दन्कियो । त्यसले गर्दा लालसेनाले श्वेत सेना र प्रतिक्रान्तिकारी शक्तिहरूसँग भिड्नैपर्ने स्थिति आयो । बृटेन, जर्मनी र फ्रान्सलगायत १० वटा पुँजीवादी देशहरूले रुसको क्रान्तिविरोधी शक्तिलाई हातहतियार र रसदपानी समेतको समर्थन र सहयोग गरिरहेका थिए । ४ वर्षसम्म यस्तो घनघोर लडाइँ चलेपछि लालसेनाले क्रान्तिविरोधी प्रतिक्रियावादी शक्ति र श्वेत सेनामाथि विजय हासिल गर्यो ।
अक्टोबर क्रान्ति विश्वमा पहिलापहिला भएका विभिन्न क्रान्तिहरूभन्दा भिन्न, उच्च र गुणात्मक हिसाबले नै उन्नतस्तरको क्रान्ति थियो । १७८९ मा भएको प्रसिद्ध फ्रान्सेली क्रान्तिदेखि यता पनि विश्वमा अरू ठुल्ठुला क्रान्तिहरू हुँदै र तिनले सत्ता हातमा लिँदै पनि आएका हुन् । तर ती क्रान्तिहरूमार्फत पुरानो सामन्त वर्गको हातमा रहेको राज्य शक्ति बुर्जुआ बर्ग अर्थात् पुँजीवादी वर्गले हस्तगत गरेको हो । यसरी पुरानो शोषक वर्गको स्थानमा नयाँ शोषक वर्ग फेर्ने रूपमा मात्र ती पुराना क्रान्तिहरू भएका थिए । तर अक्टोबर क्रान्ति ती क्रान्तिहरूभन्दा फरक क्रान्ति थियो । निश्चय नै इतिहासका विभिन्न चरणमा विभिन्न ठुल्ठुला क्रान्तिकारी आन्दोलन र परिवर्तनहरू भए । उदीयमान नयाँ शोषक वर्गले पुरानो शोषक वर्गलाई सत्ताबाट विस्थापित पनि गरेको हो । यही घटना सामन्त वर्गविरुद्ध पुँजीवादी वर्गले क्रान्ति गर्दा पनि घटेको हो । तर अक्टोबर समाजवादी क्रान्ति यस अर्थमा के फरक छ भने, शोषक शासक वर्गको सत्तालाई समाप्त पारेर यो क्रान्तिले शोषित पीडित मजदुर, विपन्न किसान जो शोषक वर्गबाट हर किसिमले प्रताडीत थिए तिनले शोषक वर्गको शासन सत्ता पल्टाइदिए । क्रान्ति पछि हिजोको जस्तो नयाँ शोषक वर्गको सत्ता होइन कि शोषित पीडित वर्गको सत्ता विश्वमा पहिलोपटक आरम्भ भयो ।
रुसको यो समाजवादी क्रान्तिमा सर्वहारा श्रमजीवी वर्गको नेतृत्वदायी भूमिका रहेकोले विश्वको पहिलो समाजवादी क्रान्ति भनेर परिचित भयो । लेनिनले के प्रष्ट भनेका छन् भने क्रान्ति त्यतिबेला मात्र सम्पन्न र सफल भएको मानिने छ जतिबेला पुरानो राज्य यन्त्र सबै किसिमले समाप्त हुन्छ र नयाँ राजयन्त्र स्थापित हुन्छ । ठिक यही कुरा त्यसबेला रुसमा सम्पन्न भएको थियो । जुन क्रान्तिले रुसको पुरानो सामन्ती जारशाही सत्तालाई समाप्त पारेको थियो र नव स्थापित समाजवादी सोभियत संघलाई स्थापित गरेको थियो । जुन मजदुर, विपन्न किसानलगायत सबै वर्गीय शोषण र समाजिक उत्पीडनमा परेका वर्ग र समुदायको शासन सत्ता कायम भएको थियो ।
यसरी विश्वको क्रान्तिकारी आमूल परिवर्तनवादी दर्शन माक्र्सवादलाई सही किसिमले बुझ्दै, पक्रिदै र लागू गर्दै तथा अझ विकसित गर्दै लेनिनले जुन समाजवादी सोभियत संघ विकसित गरेका थिए र स्तालिनले त्यसलाई थप अर्थ–सामाजिक आधार प्रदान गरेर अघि बढाएका थिए त्यो शोषणरहित विश्व समाज आज रहेको छैन । नेतृत्वमा आएको घोर सैद्धान्तिक विचलन र बाह्य प्रतिक्रियावादी शक्तिहरूका कारण शोषित पीडित जनताको त्यो विश्वको पहिलो राज्य व्यवस्था समाप्त भयो । तर त्यसले स्थापना गरेका अर्थ–सामाजिक–सांस्कृतिक तथा राजनीतिक मानवीय मूल्य–पद्धति र क्रान्तिकारी मूल्यवान परम्पराले आज पनि विश्वका शोषित पीडित जनतालाई आफ्नो मुक्ति र प्रगतिको निमित्त अजश्र प्रेरणा दिइरहेको छ । तथा सही र रचनात्मक बाटो देखाइरहेको छ ।
प्रतिक्रिया