प्रधानमन्त्री ओली किन बन्दैछन् सशंकित ?

सम्पादकीय

नेकपा एमालेको शनिबार बसेको सचिवालय बैठकमा सरकारको भविष्यका बारे चिन्ता प्रकट गरिएको समाचार मिडियामा आएका छन् । साथै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढलिहाल्ने परिस्थिति नरहेको भन्दै नेताहरूलाई आस्वस्त पारेका छन् । नेपाली कांग्रेसले साथ दिँदासम्म सरकारले अन्तर्राष्ट्रिय क्षेत्रको सहयोग पाइरहने विश्वास प्रधानमन्त्री ओलीले प्रकट गरेका छन् । भारतको औपचारिक भ्रमण अगावै चीनको भ्रमण हुन गइरहेको र नेपाली कांग्रेसको इतर पक्षले सरकारविरुद्ध सडक अभियान सुरु गरिसकेको अवस्थामा सत्ताको नेतृत्व गरेको नेकपा एमाले सशंकित हुनु स्वभाविकै हो । यही आशंकाका बीच सरकार सञ्चालनका लागि कांग्रेस एमालेको उच्चस्तरीय संयन्त्र बनाउने र त्यो संयन्त्रको पहिलो कार्यकालको नेतृत्व नेपाली कांग्रेसले गर्ने अवधारणा प्रधानमन्त्री ओली स्वयंले अघि सारेका थिए । यसैगरी प्रधानमन्त्री ओलीकै प्रस्तावअनुसार चीन भ्रमणका लागि सम्पूर्ण गृहकार्य बनाउन परराष्ट्र मन्त्री डा.आरजु राणा देउवालाई जिम्मेवारी दिइएको छ । जबकी यो विषय जिम्मेवारी दिनै पर्ने मामिला होइन, परराष्ट्र मन्त्रीको स्वतः जिम्मेवारी हो ।

परराष्ट्र मन्त्री राणाले पदीय जिम्मेवारीभन्दा पनि बढी भूमिका निर्वाह गरेकी छन् भन्ने कुरा भारत भ्रमणकै क्रममा पुष्टि भइसकेको छ । आफ्नो चीन भ्रमणप्रति भारत आक्रामक नहोस् भन्नका लागि पनि प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री राणालाई थप जिम्मेवारी दिएका हुन सक्छन् । त्यसो त रवि लामिछानेमाथि कारबाही अघि बढाएर प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसको इतर पक्षका नेता गगन थापालाई पनि विश्वासमा लिने प्रयास गरेका छन् ।

सरसर्ती हेर्दा नेपाली कांग्रेसमा देउवा इतिहासमै सबैभन्दा शक्तिशाली पार्टी सभापति देखिएका छन् । बिपी कोइराला पनि सभापति हुँदा यति शक्तिशाली थिएनन् । आफ्नो निर्णय नै कांग्रेसको निर्णय हुने परिस्थिति सभापति देउवाले निर्माण गरेका छन् । त्यसमाथि पनि इतर पक्षका नेता मध्येका महामन्त्री गगन थापालाई उच्चस्तरीय संयन्त्रमा समावेश गरिएको छ । सुरुसुरुमा केही मन्त्रीहरूको कार्यशैलीलाई लिएर महामन्त्री थापाले सार्वजनिक रूपमा आलोचना गर्ने गरेका थिए, तर रवि लामिछानेको गिरफ्तारीपछि उनी पुरै सरकारको पक्षमा लागेका छन् । त्यसैले अनेकौँ संकेतहरू देखिँदा पनि प्रधानमन्त्री ओलीले ढुक्क रहन आफ्नो पार्टी पंक्तिलाई आग्रह गरेका हुन् ।

तर, प्रधानमन्त्री ओली ढुक्क रहने अवस्था के कति छ त ? भन्ने उत्तर खोज्न कांग्रेसको इतर पक्षका नेता डा.शेखर कोइरालाका पछिल्ला गतिविधि पनि नियाल्नुपर्ने हुन्छ । खासगरी डा.कोइरालाकै अडानका कारण प्रधानमन्त्री ओली ३ वटा तयारीबाट पछि हटेको देखिन्छ । कुलमान घिसिङलाई कारबाही गर्ने, उपसभामुख इन्दिरा रानामगरलाई महाअभियोग लगाएर हटाउने, अध्यादेश ल्याएर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई विभाजन गर्ने अभियानबाट ओली पछि हट्नुको मुख्य कारण कांग्रेसको इतर पक्षका नेता डा.कोइरालाको सुझाव हो । तै पनि डा.कोइरालाले मेची महाकाली संकल्प यात्रा भन्दै आफ्नो पक्षका युवाहरूलाई देशव्यापी अभियानमा खटाइसकेका छन् । यो अभियानको पर्दा पछाडि को होला ? भन्ने अनुमानलाई शनिबार उदयपुरको एक सार्वजनिक कार्यक्रममा बोल्दै डा.कोइरालाले उजागर गरिदिएका छन् । संविधान संशोधनको मुख्य जिम्मेवारीमा वर्तमान सरकार अससफल भएको, भ्रष्टाचार नियन्त्रण तथा सुशासनमा वर्तमान सरकार चुकेको डा.कोइरालाले सार्वजनिक रूपमा बताएका छन् ।

यो भनाइको अर्थ हो, ‘नेपाली कांग्रेसको इतर पक्षको दृष्टिकोणमा वर्तमान सरकारको औचित्य सकिएको छ ।’ किनकी जे का लागि गठन गरिएको हो, त्यो काम गर्न नसकेपछि किन चाहियो यो सरकार ? भन्दै प्रश्न उठिसकेको छ । महामन्त्री थापा देउवा पक्षमा लागेका कारण आफू कमजोर भएकोले डा.कोइरालाले सरकारमाथि जेहाद छोडेका हुन् कि ? भन्ने अनुुमान धेरैको छ । तर, रवि लामिछानेमाथि संसदीय छानविन समितिले प्रतिवेदन दिनुभन्दा अघिका गगन थापा र छानविन समितिको प्रतिवेदन पछिका गगन थापाको साखमा धेरै अन्तर भइसकेको छ । किनकी संसद् भित्रको छलफललाई सर्वोपरी ठान्ने नेपाली कांग्रेसले रवि लामछानेविरुद्ध छानविन समिति गठनका लागि २ महिनासम्म संसद् अवरोध पुर्यायो । गगन थापाले आफूसँग प्रमाणहरू छन् भनेकै कारण विश्वासमा परेर सिंगो पार्टी होमियो, तर सहकारीबाट रकम ल्याउने मामिलामा लामिछाने दोषी देखिएनन्, बरु कांग्रेसकै उपसभापति धनराज गुरुङमाथि आशंका गर्नुपर्ने थुप्रै कारणहरू देखिए ।

प्रतिक्रिया