महिला यु–१९ टि– २० विश्वकप छनोट : नेपालसँग थाइल्याण्ड १०६ रनले हार्यो

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी महिला यु– १९ टि– २० विश्वकप एसिया छनोटअन्तर्गत चौथो खेलमा नेपालसँग थाइल्याण्ड १०६ रनले हारेको छ ।

आइतबार युएईको अजमानमा भएको खेलमा नेपालले थाइल्याण्डलाई ३३ रनमै अल आउट गर्दै फराकिलो अन्तरले हराएको हो । चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा नेपालले थाइल्याण्डलाई १०६ रनले हराएको हो ।

सुरुमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले दिएको १४० रनको ठूलो लक्ष्य पछ्याएको थाइल्याण्ड १६ ओभरमा ३३ रन जोड्दै अल आउट भयो । थाइल्याण्डका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि कुशुम गोदारले ३, रिया शर्मा र रचना चौधरीले समान २ तथा कप्तान पूजा महतोले १ विकेट लिए ।

अजमानको सेभेन्स क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनको योगफल बनाएको थियो । नेपालका लागि ओपनर साना प्रविनले ४६ बलमा ७ चौकाको सहयोगमा सर्वाधिक ५३ रन जोडिन् । सानाले नेपालका लागि प्रतियोगितामा पहिलो अर्धशतक बनाइन् ।

अर्का ओपनर सावित्री धामीले २६ बलमा २८, सोनी पाख्रिनले १० बलमा १९ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन र दोस्रोमा कुवेतलाई १०८ रनले हराएको थियो । तेस्रो खेलमा भने नेपाल घरेलु टोली युएईसँग १३ रनले हारेको थियो ।

कात्तिक २९ गतेसम्म चल्ने यस प्रतियोगितामा नेपाल, घरेलु टोली युएई, कुवेत र थाइल्याण्डको सहभागिता छ । नेपालले पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसँग खेल्नेछ । नेपालको‌ अन्तिम खेलमा कात्तिक २८ गते युएईसँग खेल्ने छ । विश्व कप अर्को वर्ष मलेसियामा हुनेछ । डबल राउण्ड रोबिन लिगका आधार जारी प्रतियोगिताको शीर्ष टोली विश्व कपका लागि छनोट हुनेछ ।

प्रतिक्रिया