यस पटक मौन नबस्ने फर्स्ट लेडी मेलानियाको संकेत

न्युयोर्क । पति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति पदमा जित हात पारेपछि प्रथम अमेरिकी महिला बन्ने निश्चित भएकी मेलानिया ट्रम्पले सामाजिक सञ्जालमा आफ्नो कुरा राखेकी छिन् । ‘बहुसंख्यक अमेरिकीले हामीलाई विश्वास गरेर जिम्मेवारी सुम्पिएका छन्,’ ट्रम्पले उल्लेख गरेकी छिन्, ‘हामी र रिपब्लिकन पार्टीबाट अमेरिकीले आफूलाई सुरक्षित महसुस गरेका छन् ।’

सन् २०१६ मा डोनाल्ड पहिलो पटक राष्ट्रपति निर्वाचित हुँदा मेलानियाले धेरै समय न्युयोर्कमा रहेका आफ्ना छोरासँग नै बिताएकी थिइन् । ह्वाइट हाउसमा उनको प्रवेश कमै थियो । विज्ञहरूका अनुसार यस पटक मेलानियाले ह्वाइट हाउसमा धेरै समय बिताउनेछिन् । उनले यस पटक अमेरिकी राजनीतिको महत्वपूर्ण क्षेत्रमा आफ्नो उपस्थितिसमेत देखाउनेछिन् ।

५४ वर्षीया स्लोभानियन अमेरिकन मेलानिया पूर्व फेसन मोडलसमेत हुन् । तिनै ग्लायमरस मोडल ट्रम्प टावरमा पुगेपछि प्रथम अमेरिकी महिला त भइन् । तर, ट्रम्पको सो कार्यकाल धेरै समयसम्म विवादमै बित्यो । त्यसकारण पनि मेलानिया मौनप्रायः नै बसिन् । तर, यस पटक भने उनी आममानिसका सामु खुलेर धेरै नबोल्ने तथा ह्वाइट हाउसमै रहेर भूमिका निर्वाह गर्ने सम्भावना प्रबल छ । बोस्टन युनिभर्सिटीका कम्युनिकेसन प्राध्यापक टेमी भिगिल आधुनिक प्रथम महिलामध्ये मेलानिया फरक रहेको बताउँछन् ।

आफूले चाहेको कुरा गरेरै छाड्ने उनको अचम्मको बानी भएको उनी बताउँछन् । यस पटक आफ्ना पति दोस्रो कार्यकालका लागि चुनावी दौडमा रहँदा थुप्रै कानुनी अभियोग लागेको थियो । त्यसले मेलानियालाई भने कुनै प्रभाव पारेन । कुनै कार्यक्रममा उनी अनुपस्थित हुँदा पनि खोजी हुने गरेको थियो । गत जुलाईमा भएको रिपब्लिकनको राष्ट्रिय सम्मेलनमा रातो चम्किलो क्रिस्चियन सुट लगाएर उपस्थित भएकी उनले कुनै मन्तव्य राखेकी थिइनन् । यो नै परम्पराभन्दा फरक थियो । चुनावको १ दिनअघि मेडिसन स्क्वायरमा भएको कार्यक्रममा उनले छोटो मन्तव्य राखेकी थिइन् । तर, त्यो मन्तव्य अर्थपूर्ण रहेको धेरैको बुझाइ छ ।

उनले आफ्ना पतिमाथि भएको पहिलो आक्रमणको स्मरण गराउँदै त्यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याउन पनि डोनाल्डको जित आवश्यक रहेको बताएकी थिइन् । रिपब्लिकन पार्टीमा गर्भपतनको पक्षमा वकालत गर्ने उनी एक्लो जस्तै थिइन् । परन्तु उनका पति निर्वाचनमा होमिँदा भने उनी यस विषयमा चुप नै रहिन् । सन् २०२१ मा भएको ‘क्यापिटल रियोट’को प्रसंगमा उनले त्यस समयको चुनावी परिणामबारे प्रश्न उठाउने आफू एक्लो नभएको जिकिर गरिन् ।

ग्ल्यामरस पृष्ठभूमिकी उनी प्रथम महिलाको भूमिकामा कति रमाउन सक्छिन् भन्ने चासो स्वाभाविक हो । राजनीतिक पण्डितहरू भने उनी पूर्ण रूपमा रमाउन सक्ने बताउँछन् । डोनाल्डले पनि प्रथम महिलाको भूमिकाबारे मेलानियासँग प्रशस्त चेत रहेको बताउँदै आएका छन् ।

सन् १९९९ मा डोनाल्ड राष्ट्रपति हुने कुरा धेरै टाढाको विषय थियो । सोही समयमा उनले पूर्वमोडल तथा प्रथम महिला ज्याकलिन केनेडी र बेटी फोर्ड जस्तै हुने चाहना राखेकी थिइन् । पदीय जिम्मेवारी त्यस्तो पाउने आकांक्षा भए पनि ती दुवै बढी परम्परागत भएको गुनासो उनको थियो ।

अबका भ्रमणका क्रममा संसारका शीर्ष नेताहरूसँग भेट गर्ने उनको योजना छ । साथै अन्तर्राष्ट्रिय विषयमा योजना बनाउन आफै सक्रिय हुने धेरैको अनुमान छ । कुनै समय डोनाल्डले आप्रवासी बच्चालाई अभिभावकबाट छुटाउन खोज्दा मेलानियाले विरोध गरेकी थिइन् । त्यसकारण सन् २०१८ को जुनमा डोनाल्ड आफ्नो यात्राबाट पछि हटेका थिए ।

भिगिलका अनुसार डोनाल्डको पहिलो कार्यकालमा मेलानियाले भोगेको सबैभन्दा ठुलो समस्या भनेको राजनीतिको कम अनुभव हो । अहिले अवस्था फेरिएको छ । सायद डोनाल्डको दोस्रो कार्यकालमा मेलानिया मौन रहनेछैनन् । यस पटक ह्वाइट हाउसमा उनको भूमिका प्रभावकारी हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया