काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिराबाट क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक टोलीले स्थलगत अवलोकन सुरु गरेको छ । टोलीले २ पटक अवलोकन–निरीक्षण भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
सडक डिभिजन कार्यालय भक्तपुर पनि क्षतिग्रस्त सडक पुनःनिर्माणबारे जाइकाको निर्णयको पर्खाइमा थियो । जाइकाको प्राविधिक टोलीद्वारा २ पटक अवलोकन निरीक्षण भइसकेको र आगामी डिसेम्बर पहिलो हप्तासम्ममा प्रतिवेदनसहित निर्णय आउने कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए । उनका अनुसार जाइकाको निरीक्षण–प्रतिवेदनसँगै नेपाल सरकारले पनि पुनःनिर्माणको तयारी गरिरहेको छ ।
उक्त राजमार्ग पुनःनिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुुता युताकासँग शिष्टाचार भेट गरी सहयोगबारे छलफल गरेका थिए । ‘जाइकाको प्रतिक्रियाको पर्खाइमा पनि छौँ, डिसेम्बर पहिलो हप्तासम्ममा जाइकाको निर्णय आएपछि निर्माण थालिनेछ’, इन्जिनियर योगेशले भने, ‘पुनःनिर्माणका लागि ढिला गर्ने पक्षमा छैनौँ, नेपाल सरकारद्वारा तत्कालै निर्माण थाल्नेगरी सरोकारवाला निकायसँग छलफलसँगै सर्वे र डिजाइनको तयारी पनि सुरु भैसकेको छ ।’
जाइकाले पुनःनिर्माण नगरे करिब २ महिनाभित्र सडकको पुनःनिर्माण गर्न डिभिजन सडक कार्यालय नै सुरु गर्ने उनको भनाइ छ । राजमार्गको सडक पुनःनिर्माण गर्न ७ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)अन्तर्गत काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको बर्खे खोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त अवस्थामा छ । बाढीपहिरोले अवरुद्ध राजमार्ग २ हप्तापछि सञ्चालनमा ल्याइए पनि सुक्खा पहिरोको जोखिमका कारण कार्यालयले गत असोज ३० गतेदेखि नै राती यातायात सञ्चालमामा रोक लगाउँदै आएको छ ।
राजधानी काठमाडौँलाई जोड्ने छोटो मार्गका रुपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी गत असोज २५ गतेबाट सञ्चालन गरिएको हो । पुनःनिर्माण गरिने सडक २ लेनको हुने जनाइएको छ । भत्किएको ठाउँमा खोलाको बगरमै २ लेनको पुल बनाउने वा भित्ता काटेर सडक बनाउने वा तलबाटै पर्खाल उठाएर सडक तयार गर्ने भन्ने ३ वटा अवधारणामा छलफल भइरहेको योगशले बताए । उनका अनुसार भत्किएका स्थानमा आवश्यकताअनुसार १०० देखि १५० मिटरसम्मका पुल ठाउँ–ठाउँमा बन्नेछन् ।
सडक डिभिजन कार्यालयका अनुसार रोशी खोलाको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म २१ किलोमिटर सडकखण्डको १४ स्थानमा करिब १० किलोमिटर सडक क्षतिग्रस्त गराएको थियो । राजमार्गको कुल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्काेटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पु¥याएको कार्यालयले जनाएको छ ।
जाइकाद्वारा निर्मित उक्त राजमार्ग निर्माण गर्दा प्रति किमी ३५ करोड रुपैयाँ लागत थियो । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷५४ बाट विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो ।
खण्ड–खण्ड विभाजन गरी १८ असार, २०७२ देखि निर्माण सम्पन्न गरी औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । तत्कालीन अवस्थामा जापान सरकारको २६ अर्ब जापानी येन र नेपाल सरकारको १ दशमलव १ अर्ब जापानी येनको लागतमा उक्त राजमार्ग निर्माण भएको हो ।
प्रतिक्रिया