काठमाडौँ । मुलुकको एकमात्र चल्तीको अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल शुक्रबार राती १० बजेदेखि बन्द हुन सुरु भएको छ । विमानस्थल सुधारका लागि भन्दै दैनिक १० घन्टा विमानस्थल बन्द हुँदा झण्डै ३० प्रतिशत अन्तराष्ट्रिय उडान कटौति हुने र त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा पर्ने देखिएको छ ।
शुक्रबार रातिदेखि चैत्र १८ गतेसम्म करिब ५ महिनाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घन्टा बन्द हुनेछ । नागरिक उड्डयन प्राधिकरणका अनुसार ‘रन वे’मा ‘ट्याक्सी वे’ जोड्नुपर्ने भएकाले दैनिक १० घन्टा विमानस्थल बन्द गरेर काम हुँदैछ । प्राधिकरणले यसलाई विमानस्थल सुधारको गुरुयोजनाअनुसार नियमित प्रक्रिया भएको बताएको छ ।
हवाइ मार्गबाट विदेशी पर्यटक आउने एक मात्र विमानस्थल दैनिक १० घन्टा बन्द गर्दा देशको अर्थतन्त्रमा प्रत्यक्ष असार पर्ने पर्यटन व्यवसायीहरू बताउँछन् । नेपालले प्रत्यक्ष र तत्कालन लाभ लिने र बजार चलायमान बनाउने उद्योगको रुपमा रहेको पर्यटन क्षेत्र सरकारको उक्त कदमबाट प्रभावित हुने निश्चित छ ।
प्राधिकरणका अनुसार अहिले विमानस्थलको ‘ट्याक्सी वे’का साथै यो ५ महिनामा नयाँ ह्यांगर र इन्टरनेसनल पार्किङ गरी ३ वटा काम हुनेछ । नयाँ ह्यांगर र इन्टरनेसनल पार्किङ निर्माणका लागि विमानस्थल नै बन्द गर्नु नपर्ने भए पनि ‘ट्याक्सी वे’का कारण विमानस्थल बन्द गर्नु परेको प्राधिकरणले जनाएको छ ।
दैनिक १० घन्टा विमानस्थल बन्द हुँदा करिब ३० प्रति उडान कटौती हुने प्राधिकरणको आँकलन छ । त्रिभुवन विमानस्थलबाट हाल दुईतर्फी गरी दैनिक ४०० भन्दा बढी उडान र अवतरण हुने गरेको थियो । यो हिसाबले अब दैनिक करिब डेढ सयको संख्यामा हवाइ उडान कटौती हुनेछन् ।
मुख्य सिजनमै छेकियो पर्यटक आउने बाटो !
नेपालमा मुख्यतः ‘अटम’ र ‘स्प्रीङ’ यी २ वटा सिजनमा पर्यटकहरू बढी आउने गर्छन् । ‘अटम’ सिजनको सेप्टेम्बर, अक्टोबर र नोभेम्बर अर्थात् असोज, कात्तिक र मंसिर महिना पर्यटकको बढी चाप हुने महिना हो । त्यस्तै, फागुन, चैत र वैशाखलाई ‘स्प्रीङ सिजन’ भनिन्छ । नेपाल घुम्नका लागि यो सिजन पनि पर्यटकका लागि आकर्षक समय हो । वर्षभरी आउने पर्यटकमध्ये करिब ७० प्रतिशत पर्यटकहरू यही २ वटा सिजनमा नेपाल भित्रिने गर्छन् ।
अहिले यो कात्तिक–मंसिरको समयलाई ‘अटम’ सिजनको मुख्य पर्यटक भित्रिने समय मानिन्छ । तर, यहीबेला विमानस्थलमा उडान कटौती हुँदा पर्यटकको नेपाल यात्रा नै अनिश्चित हुने देखिएको छ । विदेशी पर्यटकहरूले आफ्नो भ्रमण तालिकालाई करिब १ वर्ष अघिदेखि निश्चित गरेका हुन्छन् । उनीहरूले भ्रमण प्याकेज पनि सोहीअनुसार तय गरेकाले उनीहरूको भ्रमण र समय व्यवस्थापनलाई नै असर पर्ने गरी आधा दिनका लागि देशकै अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नु सरकारको ‘बेबकुफि’ भएको पर्यटन व्यवसायी बताउँछन् ।
विगतका वर्षको तथ्यांक हेर्ने हो भने पनि यी २ सिजनमा करिब ७ देखि ८ लाख पर्यटक हवाइमार्गबाट नेपाल भित्रिएको देखिन्छ । वर्षभर नेपाल भित्रिने पर्यटकमा ‘अटम सिजनमा मात्र ४० देखि ५० प्रतिशत र स्प्रीङ सिजनामा ३० देखि ४० प्रतिशत पर्यटक नेपाल आउँछन् । बाँकी अन्य सिजनमा आउने गर्छन् ।
सरकारले विमानस्थल बन्द गर्ने निर्णय गर्दै गर्दा त्यसबाट प्रत्यक्ष असर पर्ने पक्षहरूसँग समन्वय र सल्लाह गर्नुपर्ने हो । तर, पर्यटन क्षेत्रसँग सम्बन्धीत कुनै पनि सरोकारवालासँग यस विषयमा छलफल भएको देखिँदैन । ‘विमानस्थल भन्नाले जाहाजको उडान र अवतरणसँग मात्र सम्बन्धीत हुँदैन । योसँग जोडीएका पाटाहरू अरु पनि छन्, तर सरकारले यो बुझ्न सकेन,’ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्व अध्यक्ष एवं पर्यटन व्यवसायी नवराज दाहाल भन्छन्, ‘मुख्य सिजन चलिरहेको छ, देशको अर्थतन्त्रसँग जोडिएको विषय छ, लाखौँ पर्यटकले १ वर्ष अघिदेखि नै आफ्नो योजना बनाएर बसेका छन् । यस्तो अवस्थामा बिना अध्ययन दिनको १० घन्टा विमानस्थन बन्द गरेर हुन्छ ?’
सरकारको यो कदमले नेपालको पर्यटन क्षेत्रमा ठुलो असर पर्ने देखिएको छ । सरकारले यो वर्ष १६ लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । तर, पर्यटक भित्रिने मुख्य समयमै विमानस्थल बन्द हुँदा सरकारको लक्ष्य त्यसै तुहीने पक्का छ । ‘हामी व्यवसायीहरू नेपालमा पर्यटक ल्याउन मरिहत्ते गरेर लागेका छौँ । सरकार पनि नेपालमा पर्यटनको सम्भावना छ भन्छ । तर, पर्यटक आउने बाटो चाहिँ सरकार आफैँले छेकेर बसेको छ,’ अर्का एक पर्यटन व्यवसायी भन्छन् ।
गत असोजमा आएको बाढी पहिरोका कारण प्रि–बुकिङको करिब १५ प्रतिशत बुकिङ रद्द गरिएको थियो । अहिले फेरि विमानस्थलमा उडान कटौती गर्दा नेपाल भ्रमणमा आउने तयारीमा रहेका विदेशी पर्यटकले धमाधम भ्रमण रद्द गरिरहेका छन् । पर्यटन व्यवसायी दाहालका अनुसार सरकार अहिलेकै निर्णयमा कायम रहे करिब ३० प्रतिशत पर्यटकले आफ्नो नेपाल भ्रमण रद्द गर्ने सम्भावना रहेको छ । त्यस्तै, अर्थतन्त्रमा पर्यटन क्षेत्रबाट हुने योगदान ३० देखि ४० प्रतिशतसम्म घट्ने उनले बताए ।
भैरहवा र पोखरा बन्ला त विकल्प ?
सरकारले आवश्यक समन्वय गर्न नसक्दा भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई विकल्पका रूपमा प्रस्तुत गर्न सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि लामो समय बन्द हुने भएपछि सरकारले हवाइ कम्पनीहरुलाई विश्वास दिलाउन सकेको भए केही मात्रामा भए पनि उडान ‘डाइभर्ट’ हुन सक्थे । तर यी २ विमानस्थल सञ्चालनमा आए पनि यसलाई अन्तर्राष्ट्रिय विमानस्थल भने पनि त्यसअनुसारको प्रचार र व्यावसायीकतामा नेपालको तर्फबाट आवश्यक पहल भएको देखिँदैन । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय एअरलाइन्सहरू त्रिभुवन विमानस्थल बाहेकका अन्य विमानस्थलमा सहजै विश्वस्त हुन पनि सकेका छनैन् ।
हुन त अहिले त्रिभुवन विमानस्थलमा उडान कटौती भएसँगै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयर एसिया, फ्लाई दुबई र जजिरा एयरलाइन्सको उडान तालिका स्वीकृत भइसकेको छ भने कतार एयरवेजले पनि उडानको तयारी गररिहेको छ । यसले उडान कटौतीबाट भएको समस्यालाई केही हदसम्म राहत देला तर, पर्यटन क्षेत्रको हिसाबमा यसले कुनै पनि फाइदा नपुर्याउने व्यवसायीहरू बताउँछन् । यसले उल्टै पर्यटकहरूको प्याकेजमा आर्थिक भार थप्ने उनीहरूको तर्क छ ।
हवाइ भाडा वृद्धि मन्त्रिस्तरीय छलफलमा
उडान कटौती हुनासाथ अहिले अन्तर्राष्ट्रिय विमान कम्पनीले ह्वात्तै भाडा बढाएका छन् । अन्तर्राष्ट्रिय उडानमा अहिले दोब्बरभन्दा बढी भाडा बढेको छ । यसले विशेष गरी पर्यटक र वैदेशिक श्रमका लागि विदेशिने र नेपाल भित्रिने श्रमिकहरूलाई मर्का परेको छ । यो विषयमा शुक्रबार अन्तरमन्त्रालय छलफल पनि भएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले शुक्रबार परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारीसँग छलफल गरेका थिए ।
पर्यटन मन्त्रालयका अनुसार छलफलमा वैदेशिक रोजगारीमा जानेका लागि भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न अनुमति दिने तथा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडानका लागि सहजीकरण गर्ने विषयमा कुराकानी भएको थियो ।
छलफलका क्रममा परराष्ट्रमन्त्री देउवाले हवाईभाडा वृद्धि नियन्त्रणका लागि आफूले पहल गर्ने बताउँदै तत्काल दिल्लीबाट उडान भर्नका लागि दूतावासमार्फत् पहलका लागि अनुरोध गरिने बताएकी थिइन् । श्रममन्त्री भण्डारीले यसअघि भारतको नयाँ दिल्लीबाट नेपालीहरू श्रमगन्तव्यमा जाने गरेकोमा म्यानपावर व्यवसायीहरूकै आग्रहमा मानव तस्करी बढेको गुनासोपछि रोक लगाएको जानकारी गराएका थिए । उनले हवाई टिकटमा भएको मूल्यवृद्धिका कारण नेपाल आउने पर्यटकसमेत मर्कामा परेको भन्दै सिन्डिकेट र कार्टेलिङ भएको भए त्यसलाई रोक्नुपर्नेमा बताएका थिए ।
त्यस्तै, पर्यटनमन्त्री पाण्डेले हाल त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तारका लागि विमानस्थलमा रातिको समयमा हुने उडान समय घटाएको विषयलाई लिएर हवाई टिकटमा वृद्धि भएको हुनसक्ने बताए । छलफलमा विमानस्थल बन्द भएको बहानामा केही विमान कम्पनीले कार्टेलिङ गरेको हुनसक्ने उल्लेख गर्दै वैदैशिक रोजगारसँग सम्बद्ध व्यवसायीहरूले यस विषयमा सरकारले आवश्यक निर्णय गर्नुपर्नेमा जोड दिएका थिए । छलफलमा सहभागि मन्त्रीहरूले विमानस्थल मर्मत गरिने सूचना नेपालले ६ महिना अघिदेखि नै दिएकाले अहिले आएर विदेशी हवाई कम्पनीले अस्वाभाविक रूपमा भाडा वृद्धि गर्नु गलत भएको बताएका थिए ।
विमानस्थलमा गर्न लागिएको स्तरोन्नती के हो ?
प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्यांगर एप्रोन’लगायत विस्तार गर्न लागेको हो । विस्तारका लागि १५ अर्ब खर्च हुने अनुमान गरिएको छ ।
प्राधिकरणले एडीबीको सहयोगमा सन् २०१० देखि २०२८ सम्मका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार सुधारका लागि गुरुयोजना तयार गरेको छ । सन् २०२६ सम्म सक्ने गरी ३ वर्षका लागि गान्सु मेकानाइज्ड चिनियाँ कम्पनीलाई ट्याक्सी वे विस्तारको ठेक्का दिइएको छ भने एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोग र नेपाल सरकारको लगानीमा ट्याक्सी वे विस्तारको काम भइरहेको छ । ‘प्यारालाल ट्याक्सी वे’ नहुनाले सबै जहाज ‘रनवे’ बाट ‘टेक अफ’ गर्दै आइरहेका छन् । यो समयमा अरू जहाज उडान अवतरण गर्न पाउँदैनन् । ‘प्यारालाल ट्याक्सी वे’ हुँदा जहाजहरू यसबाट नै उडानका लागि क्युमा जान सक्छन् । यो हुनेबित्तिकै रनवेको क्षमता करिब २५ प्रतिशतले बढ्ने छ ।
अन्तर्राष्ट्रिय उड्डयन संगठन (आईकाओ)ले तोकेको मापदण्ड तथा नेपाल सरकारको गुरुयोजनाअनुसार विमानस्थलको स्तरवृद्धि गर्न लागिएको हो । अहिले विमानस्थलमा हुन लागेको काम एसियाली विकास बैंकको अनुदान सहायतमा सन् २००९ मा तयार गरिएको गुरुयोजनाअनुसार सन् २०१३ देखि सुरु भएको स्तरोन्नतिकै निरन्तरता हो । अहिलेको पूर्वाधार विस्तार र स्तरोन्नतिले विमानस्थलले आगामी वर्षमा १ करोड २० लाख हाराहारी यात्रुलाई सेवा दिने प्रक्षेपण गरिएको छ । अहिले यसले वार्षिक करिब ८० लाख यात्रुलाई सेवा दिइरहेको छ ।
विमानस्थलभित्र यतिबेला सरकार र एसियाली विकास बैंकको ऋण सहायतामा करिब १५ अर्बका ३ वटा फरक–फरक ठेक्काहरू सञ्चालनमा छन् । ती योजनामा एसियाली विकास बैंकको सवा ४ अर्ब ऋण सहायतामा पहिलो ‘रन–वे’को दक्षिणतर्फ जोड्ने समानान्तर ‘ट्याक्सी–वे’ निर्माण र दोस्रो पनि यसैको करिब ४ अर्ब ऋणमा रन–वेको पूर्वतर्फ ह्यांगर एप्रोन तथा एक्जिट ट्याक्सी–वेहरू निर्माण भइरहेको छ । तेस्रो भने नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणको करिब ७ अर्ब लागानीमा ‘रन–वे’को उत्तरतर्फ जोड्ने समानान्तर ‘ट्याक्सी–वे’ र अन्तर्राष्ट्रिय पार्किङ एप्रोन निर्माण हुँदैछ ।
प्रतिक्रिया