अमेरिकी चुनावको तरंग

यस पटकको चुनाव त नेपालीहरूले अझै बढी चासो लिने माध्यमसमेत बन्यो । किनकि चुनावी अभियान सुरु भएको केही महिनापछि नै डेमोक्र्याटिक पार्टीले जो बाइडेनको सट्टा कमला ह्यारिसलाई अघि बढायो । कमला ह्यारिस छिमेकी भारतकी नातिनी भएका कारण पनि नेपालीहरूको भावना स्वतः जोडियो ।

अञ्जु कार्की

मंगलबार सम्पन्न भएको अमेरिकी राष्ट्रपति निर्वाचनको मोटामोटी मत परिणाम बुधबार अपरान्हसम्ममा प्राप्त भइसकेको छ । अमेरिकाको ४७ औं राष्ट्रपतिका रुपमा ७५ वर्षीय डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । डेमेक्रेटिक पार्टीकी उमेद्वार कमला ह्यारिसलाई फराकिलो मत अन्तरले पराजित गर्दै राष्ट्रपति बन्न लागेका रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प अघिल्लो कार्यकालमा पनि राष्ट्रपति थिए । वर्तमान राष्ट्रपति जो वाइडेन भने यस पटक चुनावी मैदानबाट पछि हटेका थिए ।

राष्ट्रपति भनेको अमेरिकाको सबै भन्दा शक्तिशाली र कार्यकारी पद हो । अमेरिकामा हरेक चार–चार वर्षमा राष्ट्रपतिको चुनाव हुने गर्छ । अमेरिका निश्चित विधि र पद्धती अनुसार चलेको देश हो । पद्धति र विधि माथि थोरै पनि दायाँ बायाँ गर्ने तथा गर्नसक्ने गुन्जाइस राष्ट्रपतिलाई रहँदैन । तै पनि अमेरिकी राष्ट्रपतिको निर्वाचनलाई विश्वले नै निकै चासोका साथ हेरिरहेको हुन्छ । विश्वका प्राय जसो देशका नागरिकले सबै भन्दा चासो आफ्नो देशको निर्वाचनलाई दिने नै भए, त्यसपछिको दोस्रो चासो अमेरिकी राष्ट्रपतिको निर्वाचनलाई दिने गर्छन् । किनकी अमेरिका विश्वको महाशक्ति राष्ट्र त हुँदै हो , त्यस बाहेक विश्वका धेरै देश तथा ती देशका जनताको स्वार्थ अमेरिका सँग गाँसिएको हुन्छ । आफ्नो देशलाई विश्वकै साझा भूमी जस्तो बनाउन सक्नु अमेरिकाको ठूलो खुवी हो ।

अहिले पनि विश्वका कतिपय देश यस्ता छन् , जहाँका जनताले आफ्नै देशको सरकार छान्ने अवशर पाउँदैनन् । आफ्नो देशको शासन परिवर्तन भएको कुरा सरकारी मिडिया मार्फत थाह पाउँछन् । यस्तो सूचिमा कतिपय विकसित देशहरू समेत छन् । तर अमेरिकी चुनावमा विश्वका आधा भन्दा बढी देशका जनताले मतदान गर्छन् । किनकी विश्वका अधिकांश देशका जनता बसाँई सराँइ गरेर अमेरिका पुगेका छन् । निश्चित प्रक्रिया पार गरेपछि उनीहरूले मतदानमा भाग लिन पाउँछन् । सिनेटर तथा मन्त्रीसम्म हुन पाउँछन् । अमेरिकामै जन्मेको छ भने त राष्ट्रपति पदमै उमेद्वार हुन पाउँछन् । उदाहरणका लागि डोनाल्ड ट्रम्पकी मुख्य प्रतिस्पर्धी कमला ह्यारिस भारतीय आमा र अफ्रिकी बाबुकी छोरी हुन् । पूर्व राष्ट्रपति बाराक ओवामा अफ्रिकी बाबु र अमेरिकी आमाका छोरा हुन् ।

सरसरर्ती हेर्दा अमेरिका भनेको विश्वका करिव दुई सय देश जस्तै एउटा देश हो । आर्थिक तथा सामरिकदृष्टिले विश्वकै वैभवशाली देश हो । तर उसले अपनाएको विधि , पद्धति तथा उसले लिएका नीतिहरू विश्लेषण गर्ने हो भने अमेरिका विश्वकै साझा देश हो । अर्थात विश्वकै राजधानीको हैसियत बनाएको देश हो । एक आँकडा अनुसार नेपालीमुलका मतदाताको संख्या अमेरिकामा ३ लाखको हाराहारीमा छ । यी तीन लाखमध्ये धेरै जसोले औपचारिक रुपमा नेपाली नागरिकता त्यागेका छैनन् । उनीहरू नेपालमा आएर पनि मतदान गर्छन् , अमेरिकामा त गर्ने नै भए । नेपालका कुनै पनि पालिकाहरू यस्ता छैनन्, जहाँका व्याक्तिहरू अमेरिका पुगेर मतदाता नभएका होउन । त्यसैले अमेरिकी चुनाव प्रति नेपालका कुना काप्चाका ठूलो चासो हुने गरेको हो ।

यस पटकको चुनाव त नेपालीहरूले अझै बढी चासो लिने माध्यम समेत बन्यो । किनकी चुनावी अभियान सुरु भएको केही महिना पछि नै डेमोक्रेटिक पार्टीले जो बाइडेनको सट्टा कमला ह्यारिसलाई अघि बढायो । कमला ह्यारिस छिमेकी भारतकी नातिनी भएका कारण पनि नेपालीहरूको भावना जोडियो । अमेरिकामा बसोबास गर्ने नेपालीहरूको पहिचान भनेको दक्षिण एशियाली पहिचान हो ।

अश्वेत पहिचान पनि हो । दक्षिण एशिायली तथा अश्वेत पहिचान भएकाहरूले कमला ह्यारिसले जितुन भन्ने कामना गर्नु स्वभाविकै हो । तर यो कमना सफल भएन । किनकी अमेरिका युरोपियन मुलका स्वेतहरूको प्रचण्ड बहुमत भएको देश हो । स्वेतहरूमा पनि विगतको जस्तो उदारतामा कमी हुँदै गएको महशुस गरिएको छ ।
कमला ह्यारिस वा डोनाल्ड ट्रम्पले चुनाव जित्नु वा हार्नु सँग अमेरिकामा बसोबास गर्ने नेपालीका निम्ति केही न केही अर्थ राख्ला । तर हाम्रो देश नेपालका लागि केही अर्थ राख्ला की नराख्ला ? भन्ने पाटो तर्फ खासै विश्लेषण भएको छैन ।

खासमा भन्ने हो भने नेपाल देशका निम्ति खासै अर्थ राख्दैन । उदाहरणका लागि कुनै बेला विश्वकै नेतृत्व गरेको , प्रजातन्त्रको जननी मानिने, सबै भन्दा विकसित देश बेलायतको प्रधानमन्त्री पदमा भारतीय मुलका हिन्दू ब्राह्मण ऋषि सौनक विराजमान भए । तर उनका पालामा बेलायतको नेपालप्रतिको नीति उदार हुन सकेन । यतिसम्मकी गोर्खा भर्ती तथा समान पेन्सनको समस्या समेत समाधान हुन सकेन । बरु ऋषि सौनकले नेपाललाई भारतीय चश्माले हेरेको अनुभव भयो ।

नेपालको भूधरातलीय यथार्थतालाई विश्लेषण गर्नेहरूले अमेरिकी चुनावको यो परिणामले नेपाल माथिको एउटा खतराको संकेट टरेको टिप्पणी गर्न थालेका छन् । उनीहरूको तर्क अनुसार कमला ह्यारिसले जितेको भए ऋषी सौनकको पालाको बेलायतले जस्तै अमेरिकाले पनि नेपाललाई भारतीय चश्माले हेर्ने संभावना बढ्थ्यो , तर चुनवी परिणामले त्यो खतरा टर्यो ।

विश्वकै सबैभन्दा प्रभावशाली देश अमिरिकाले नेपाल माथि चासो राख्नुको एउटै कारण भूधरातल हो । यदी विश्वका महाशक्ति उन्मुख देश चीन र भारत छिमेकी नभइ दिएको भए अमेरिकाले मालदीप्सलाई दिने प्राथमितका र नेपाललाई दिने प्राथमिकतामा खासै अन्तर हुँदैनथ्यो । तर द्धितिय विश्वयुद्धको समाप्ती पछि अमेरिकाले नेपाल माथि निकै ठूलो चासो दिँदै आएको छ । चाहे नेपाललाई संयुक्त राष्ट्र संघको सदस्यता दिलाउन होस् , चाहे संयुक्त राष्ट्र संघको शान्ति मिसनमा नेपाललाई सबै भन्दा ठूलो हैसियतको देशका रुपमा स्थापित गर्न होस् , अमेरिकाले खेलेको भूमिका कुनै पनि स्वभिमानी नेपालीले बिर्सन मिल्ने छैन ।

त्यति मात्रै होइन, औलो उन्मुलन गरी नेपालको तराई तथा पहाडका बेसी क्षेत्रलाई बसोबासका लागि योग्य बनाउने मामिलामा होस अथवा भारतले सेना राखेको लिम्पियाधुरा क्षेत्रलाई नेपालको नक्शामा समेट्ने मामिलामा होस् अमेरिकाले निर्वाह गरेको भूमिकालाई नजरअन्दाज गर्न सकिने अवस्था छैन ।

कतिपयको तर्क अनुसार अमेरिकी चासो नभइ दिएको भए नेपाललाई भारतले सके सिक्किम नसके भुटान बनाउँथ्यो पनि होला । उनीहरूको तर्क छ –‘नेपाललाई संयुक्त राष्ट्र संघको सदस्यता नदिनका लागि तत्कालिन सोभियत संघले आफ्नै स्वविवेकले भीटो प्रयोग गरेको होइन , भारतको सल्लाहमा भिटो प्रयोग गरेको हो । नेपाललाई शान्ति क्षेत्र स्थापना गर्ने तत्कालिन राजा वीरेन्द्रको प्रस्तावलाई सोभियत संघले फिर्ता गरेको आफ्नै स्वविवेकले होइन , भारतको सल्लाहमा फिर्ता लिएको हो । ’ यो तर्कलाई पनि नजरअन्दाज गर्न सकिने अवस्था छैन ।

हाम्रा छिमेकी चीन र भारतबीच कयौं मामिलामा विवाद छ । तर नेपाल प्रति अमेरिकाले दर्शाएको चासोका सन्दर्भमा यी दुई देशहरू सँगै छन् । एमसीसी प्रकरणले यो कुरा उजागर गरिसकेको छ । नेपालमा अमेरिकी भूमिका नहोस् भन्ने मामिलामा चीन र भारत एक ठाउँमा छन् । यदी कमला ह्यारिसले चुनाव जितेको भए एमसीसीबाट अमेरिकाले हात झिक्न सक्ने संभावना बढ्थ्यो ।

किनकी एमसीसी विरुद्ध नेपालमा एक खालको जनमत तयार गर्न चीन र भारत आ–आफ्नै ढंगले जुटिरहेको छर्लङ्ग छ । फरक यत्ति हो की , खुलेआम आपत्ति प्रकट गर्ने हैसियतमा चीन छ , तर भारत भने अमेरिकाको भूमिका प्रति खुलेआम आपत्ति प्रकट गर्न डराउँछ । अमेरिका सँग एमसीसी संझौता नभइ दिएको भए नेपालको विजुली भारतले आयत गथ्र्यो की , गर्दैनथ्यो ? भन्ने उत्तर थाह नपाउनेहरूलाई त केही भन्नु छैन , तर जसले यसको उत्तर थाह पाएका छन्, उनीहरू समेत एमसीसीको खिलापमा छन् । यसको अर्थ हो नेपालमा छिमेकीको चलखेल बढिरहेको छ ।

प्रतिक्रिया