सिट जोगाउने दबाबमा कांग्रेस, संख्या थप्ने एमाले दाउ

उपनिर्वाचनमा दलहरूको ध्यान ३ पालिकामा केन्द्रित

जिल्ला समन्वय समिति प्रमुख २, नगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष २, नगरपालिका उपप्रमुख १, गाउँपालिका उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष गरी ४४ रिक्त पदका लागि चुनाव हुँदै छ

काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन नजिकिँदै गर्दा अहिले राजनीतिक माहोल पनि त्यतै ढल्किएको छ । विशेष गरी ठुला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र विजयी भएका स्थानमा नै अहिले उपनिर्वाचन हुन लागेकाले पनि माहोल उपनिर्वाचनमय हुँदै गएको छ ।

१६ मंसिरमा हुने निर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी दर्ताको मिति तय भए पनि दलहरू उम्मेदवार चयनमा अहिले व्यस्त छन् । स्थानीय तहको निर्वाचन भए पनि उम्मेदवार चयनमा केन्द्रकै हस्तक्षेप बढी हुने गरेकाले वडाध्यक्ष पदको उम्मेदवार चयनका लागि पनि रस्साकसी चलिरहेको छ ।

विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि १६ मंसिरमा उपनिर्वाचन हुँदै छ । जसमा जिल्ला समन्वय समितिका प्रमुख २, नगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष २, नगरपालिका उपप्रमुख १, गाउँपालिका उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष गरी जम्मा ४४ वटा रिक्त पदका लागि उपनिर्वाचन हुँदै छ ।

४४ पदका लागि उपनिर्वाचन हुँदै गर्दा सबै दलको आँखा ३ पालिकाको प्रमुख पदमा रहनेछ । यसअघि ती पदमा आफू विजयी भएकाले कांग्रेस आफ्नो सिट सुरक्षित गर्ने ध्यानमा छ भने अन्य दलहरू पनि आफ्नो संख्या बढाउने योजनामा छन् । काठमाडौँको कीर्तिपुर नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिकामा प्रमुख चयनका लागि निर्वाचन हुँदै छ । स्थानीय तहको ‘मेजर पोस्ट’ भएकाले पनि यी पदमा सबै दलको आँखा गाडिएको छ ।

यसअघि कीर्तिपुर नगरपालिकामा कांग्रेसका राजकुमार नकर्मी विजयी भएका थिए भने मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिकामा कांग्रेसकै जयप्रकाश गच्छदार थारू र लछुमन गुरुङ विजयी भएका थिए । त्यसबेला ३ वटै स्थानमा कांग्रेसबाट विजयी भएकाले अबको उपनिर्वाचनमा पनि ती स्थान सुरक्षित गर्नका लागि जित्नैपर्ने दबाबमा कांग्रेस छ ।

३ वटै पालिकामा एमालेले हराएको थियो कांग्रेसले

गत साउनमा काठमाडौँको कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएपछि शुभलक्ष्मी शाक्य (सुनिता) ले पालिकाको कार्यवाहक मेयरको जिम्मेवारी सम्हालिरहेकी छिन् । २०७९ सालको निर्वाचनमा कांग्रेस उम्मेदवार नकर्मी ३ हजार ५३६ मतान्तरले निर्वाचित भएका थिए । त्यसबेला नकर्मीले ९ हजार ४३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार केशवरत्न बज्राचार्यले ५ हजार ५०७ मत ल्याएका थिए ।

पकडको हिसाबले हेर्ने हो भने कीर्तिपुर नगरपालिकामा कांग्रेस बलियो देखिन्छ । २०७९ मा पनि यहाँ मेयर उपमेयरसहित ९ वटा वडामा कांग्रेस उम्मेदवार नै विजयी भएका थिए । तर, एमालेसँग कडा प्रतिस्पर्धा हुने क्षेत्रका रूपमा रहेकाले यस पटक एमालेको सम्भावना पनि उत्तिकै छ । गत निर्वाचनमा पनि कांग्रेसका उम्मेदवार निर्वाचित भएको स्थानमा एमालेका उम्मेदवार निकटतम प्रतिद्वन्द्वी भएर पछ्याएका थिए ।

त्यस्तै, मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारूको निधन भएपछि सो स्थानमा पनि उपनिर्वाचन हुँदै छ । २०७९ को निर्वाचनमा गाउँपालिका अध्यक्षमा थारू ७ हजार ६०५ मत ल्याई विजयी भएका थिए । यहाँ पनि निकटतम प्रतिद्वन्द्वी एमाले नै थियो । एमाले उम्मेदवार शिवनारायण माझी थारूले ६ हजार ९३ मत पाएका थिए ।

त्यसबेला गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवारलाई १ हजार ५१२ मतले पछि पार्दै कांग्रेसका थारू विजयी भएका थिए । तर, वडागत रूपमा भने एमाले हाबी भएको थियो । पालिकाका ७ वटा वडामध्ये ५ वटा वडाको अध्यक्षमा एमाले र कांग्रेसले–माओवादी १÷१ वडामा विजयी भएका थिए । गत निर्वाचनमा एमालेले वडाध्यक्षमा ६ हजार ८५४ मत ल्याउँदा कांग्रेसले ५ हजार ५३७ मत ल्याएको थियो ।

एमालेले वडागत मतमा कांग्रेसभन्दा १ हजार ३१३ मतले अगाडि थियो । तर, उपाध्यक्षमा भने कांग्रेसकी उम्मेदवार भुखनीकुमारी माँझीलाई पराजित गर्दै एमालेकी उम्मेदवार गुणावतीदेवी विजयी भएकी थिइन् ।

यसैगरी दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा विजयी भएको ९ महिनामै अध्यक्ष लछुमन गुरुङको निधन भएपछि यहाँ पनि उपनिर्वाचन हुँदै छ । गुरुङको निधनपछि गाउँपालिका उपाध्यक्ष मञ्जुकुमारी शर्माले अहिले पालिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेकी छन् ।

२०७९ को निर्वाचनमा गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवार गुरुङ ४६० गतको झिनो अन्तरले निर्वाचित भएका थिए । यहाँ पनि कांग्रेसको निकटतम प्रतिद्वन्द्वी एमाले नै थियो । गुरुङले २ हजार ९७९ मत ल्याएर विजयी हुँदा एमाले उम्मेदवार हरिप्रसाद उपाध्यायले २ हजार ५१९ मत ल्याएका थिए ।

६ वटा वडा रहेको महाबुमा कांग्रेसले अध्यक्ष, उपाध्यक्षहसहित ३ वटा वडामा क्लिनस्विप गर्दा माओवादी २ वटा वडाको अध्यक्षमा निर्वाचित भएको थियो भने एमालेले एउटा वडामा क्लिनस्विप गरेको थियो । माओवादीले वडाध्यक्ष जितेको एउटा वडामा कांग्रेसले सदस्यमा क्लिनस्विप गर्दा एउटा वडामा माओवादीले एउटा वडा सदस्य र एकीकृत समाजवादीले दुइटा वडा सदस्यमा जित हात पारेको थियो ।

यी ३ स्थानबाहेक ओखलढुंगा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि निर्वाचन हुँदै छ ।

तयारी अन्तिम चरणमा

उपनिर्वाचनका लागि मंसिर २ गते बिहान १ देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुनेछ भने सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ । त्यस्तै, ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
मंसिर ५ गते बिहानदेखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

उपनिर्वाचनका लागि निर्वाचन आयोगको तयारी पनि अन्तिम चरणमा पुगेको छ । आयोगले मतपत्र छपाइको विषयमा भने निर्णय गर्न बाँकी रहेको जनाएको छ ।

अहिले प्रमुख निर्वाचन आयुक्त अमेरिकी राष्ट्रपति निर्वाचनको पर्यवेक्षणमा रहेकाले कात्तिक २४ गते मात्र स्वदेश फर्किनेछन् । उनी आएपछि मात्र मतपत्र छपाइलगायत महत्वपूर्ण विषयमा निर्णय हुने बताएको छ ।

प्रतिक्रिया