चाडपर्व सकिएसँगै विकासको चटारो होस्

सम्पादकीय

नेपालीहरूका ठुला चाड दसैँ र तिहार सकिएका छन् । अब केही दिनभित्रै छठ पर्व पनि सम्पन्न हुँदै छ । छठ पर्व सकिएलगत्तै धानबाली भित्र्याउने र गहुँबाली लगाउने सिजन सुरु हुन्छ । हाम्रो देशमा विकास निर्माणको कामले गति लिने बेला भनेकै छठ पर्व सकिएपछि हो । असारदेखि भदौसम्म भारी वर्षा हुने भएका कारण विकास निर्माणको काम करिब ठप्पजस्तै हुने गर्छ । त्यसपछि कात्तिक या मंसिरको पहिलो सातासम्म ठुला चाडपर्व पर्ने भएका कारण यसै पनि काम ठप्प हुने गरेको छ । त्यसैले विकास निर्माणका कामले गति लिने भनेकै मंसिरदेखि जेठसम्मको समय हो ।

सरकारले जनतामा आशा जाग्ने गरी काम देखाउने भनेको पनि यही ७ महिनामा हो । यी ७ महिनामध्ये पनि हिउँदको सिजनमा हिमाली क्षेत्रमा जनजीवन ठप्प हुने गरेको छ । वर्षौं अघिदेखि सुरु भएका विकास निर्माणका आयोजनाहरू अधुरै छन् । एकातिर यस्ता आयोजनामा भएको लगानीको प्रतिफल आउन सकेको छैन भने अर्कातिर आयोजना निर्माणका लागि लिइएको ऋणको ब्याज बढेको बढ्यै छ । विकास निर्माणको काम बाह्रै महिना निरन्तर अघि बढाउने किसिमले व्यवस्थापन गर्न सरकार तथा राज्य संयन्त्र चुकेको देखिएको छ ।

पछिल्ला केही वर्षको अवस्था हेर्दा केही आशाजनक संकेत देखिएका छन् । यस वर्षको दसैँमा खसी–बोका आयात गर्नुनपरेको समाचार आयो । सकेसम्म स्वदेशी स्याउ किन्ने अभियान सुरु भएकाले विदेशी स्याउ आयात गर्नेहरूले समेत स्वदेशी स्याउको छाप लगाएका कार्टुन प्रयोग गर्न बाध्य भए । तिहार पर्वमा स्वदेशी फूलमालाले करिबकरिब माग धानेको समाचार पनि आए । यति मात्रै होइन, तनहुँ सेती जलविद्युत् परियोजना निर्माणको कामलाई भाइटीकाको दिनमा पनि निरन्तरता दिइएको समाचार आयो । यसैगरी यस वर्षको दसैँ र तिहारमा आन्तरिक पर्यटन पनि गज्जबले फस्टाएको समाचार आयो । पर्यटन व्यवसायीहरू खुसी भए ।

विगतका दसैँ र तिहारमा सार्वजनिक यातायातका साधन ठप्प हुने भएकाले सर्वसाधारण यात्रुलाई ठुलो सकस हुन्थ्यो, दोब्बर–तेब्बर भाडा असुलिन्थ्यो । तर, यस पटकको दसैँ तिहारमा सार्वजनिक यातायातमा खासै ठुलो समस्या भएन, यातायात मजदुरहरूले पनि श्रमको महत्व बुझ्न थालेका हुन् कि जस्तो देखियो । चाडपर्वलाई खर्च गर्ने माध्यम मात्रै बनाउने होइन, आम्दानीको माध्यम पनि बनाउनुपर्छ भन्ने चेत श्रमिक वर्गमा आउन थाल्नु भनेको देशका लागि सकारात्मक संकेत हो ।

स्वदेशी साधन स्रोत प्रयोग भएका उत्पादनहरूको निर्यात बढ्न थाल्नु, कृषि उपजको आयात वृद्धिदर घट्न थाल्नु, विदेशी पर्यटकहरूको संख्या बढ्न थाल्नु, रेमिट्यान्सको रकम वृद्धि हुनु, किसानले रासायनिक मलको अभाव बेहोरेका समाचार सुन्न नपर्नु अर्थतन्त्रका लागि सकारात्मक संकेत हुन् । यसैगरी पछिल्लो समयमा आएको सकारात्मक समाचार भनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिआइए) मा हवाई उडान सुरु हुनु हो । अब १–२ महिनाभित्रै नागढुंगा सुरुङमार्ग सञ्चालनमा आउने सरकारले जनाएको छ । काठमाडौँ–तराई द्रुतमार्ग निर्माणको प्रगति सन्तोषजनक रूपमा अघि बढिरहेको समाचार आएका छन् । गत भदौ ११ र १२ गतेको बाढीका कारण करिब ५०० मेगावाट क्षमताका विद्युत् आयोजनाको उत्पादन ठप्प छ । यति हुँदाहुँदै पनि यो लक्ष्मीपूजाका दिनसमेत करिब ३ सय मेगावाट जलविद्युत् निर्यात भएको समाचार आउनुलाई सुखद् मान्नुपर्छ ।

विगतमा लोडसेडिङका बेला प्रिमियम शुल्क तिरेर अतिरिक्त बिजुली प्रयोग गर्ने केही उद्योगीहरूले बेइमानी गर्न खोजिरहेको कुरा छिपेको छैन, तर तीमध्ये केही उद्योगीहरूले बक्यौता तिर्न थालेको समाचार आएको छ । राज्यको ढुकुटी जसरी पनि लुट्नैपर्छ भन्ने मानसिकतालाई यो समाचारले केही हदसम्म भए पनि मत्थर पर्छ । हाम्रो देशको सत्ता सञ्चालनमा दुर्भाग्यवश बेइमान व्यक्तिहरू पुग्ने गरेको तीतो यथार्थ एकातिर छ भने अर्कातिर मौका पाउनासाथ लुटिहाल्ने व्यक्तिगत प्रवृत्ति पनि फस्टाउँदै गएको छ । यस्तो प्रवृत्ति नत्यागेसम्म देश बन्दैन । सरकार तथा राज्य संयन्त्रबाट भएको बेइमानीविरुद्ध खवरदारी गर्दै देश निर्माणमा इमानसाथ भूमिका निर्वाह गर्नु जनताको कर्तव्य हो ।

प्रतिक्रिया