निर्वाचन परिणाम र मध्यपूर्वको युद्धमा विश्वको चासो

काठमाडौँ । करिब १ वर्ष लामो प्रक्रियापछि अमेरिकाको नयाँ राष्ट्रपति पदका लागि आज (मंगलबार) निर्वाचन हुँदैछ । १ वर्ष लामो प्रक्रियापछि हुँदै गरेको चुनावमा डेमोक््रयाटका तर्फबाट उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकनका तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आमनेसामने भएका छन् । कुल ५३८ इलेक्टोरल मतमध्ये २७० मत पाउने उम्मेदवारले जनवरी महिनाको तेस्रो साता ह्वाइट प्रवेश गरेर देशको शासन सत्ता सम्हाल्ने अवसर पाउनेछ ।

भोलि बुधबारसम्म अमेरिकाको नयाँ राष्ट्रपति को भन्ने टुंगो लागिसक्छ । अमेरिकी नागरिकलाई जति चुनावी परिणामको व्यग्र पर्खाइ छ, त्योभन्दा बढी विश्व समुदायको चासो गढेको छ । मध्यपूर्वमा निरन्तरको युद्धले थिलथिलो भएको वैश्विक अर्थतन्त्रका कारण आजित भएका देशहरूले अमेरिकी चुनावको नतिजालाई मुख्य चासोका रूपमा लिएका छन् । अमेरिकी शासनसत्ताको बागडोर कसले सम्हाल्छ र त्यसले मध्यपूर्वको युद्ध मत्थर पार्ला वा झन् चर्काउला भन्ने चासो र चिन्ता धेरै देशमा परेको छ । त्यसबाहेक युरोपियन देशहरू रुस र युक्रेनबीचको द्वन्द्व के हुन्छ भन्ने चासो पनि सर्वत्र छ ।

गत जुलाई महिनामा भएको बहस कार्यक्रममा राष्ट्रपति निर्वाचनको दौडमै रहेका वर्तमान राष्ट्रपति जो बाइडेन पूर्वराष्ट्रपति ट्रम्पका सामु निरीह सावित भएका थिए । सोही कारण उनले उम्मेदवारी नै त्यागेका थिए । त्यस समयमा भएको सर्वेक्षणमा बाइडेन ट्रम्पभन्दा पछि परेका थिए । धेरैको अनुमानअनुसार डेमोक््रयाट उम्मेदवार ह्यारिसले पनि ट्रम्पलाई पछि छाड्ने कमै सम्भावना थियो । धेरैको अनुमानलाई गलत सावित गर्दै जमैका मूलका बाबु तथा भारतीय मूलकी आमाकी छोरी तथा ह्यारिस अघि बढेकी थिइन् । त्यो क्रम सेप्टेम्बर महिनामा आएर रोकिएको थियो । सेप्टेम्बरमा भएको सर्वेक्षणमा ह्यारिस थोरै मात्रै अघि रहेकी थिइन् । तथापि उनको लोकप्रियताको त्यो क्रम भने रोकिएको थियो ।

त्यसयता भएका धेरै सर्वेक्षणमा दुवै उम्मेदवार लगभग बराबरीको अवस्थामा थिए । यी २ मध्ये कसले अमेरिकी निर्वाचनमा सफलता हात पार्ला भन्ने निर्वाचन परिणाम सार्वजनिक नभई भन्न सकिने अवस्था छैन । लगातार तेस्रो पटक उम्मेदवार भएका ट्रम्प दोस्रो पटक राष्ट्रपति हुने या कमला अमेरिकी इतिहासमा पहिलो पटक महिला राष्ट्रपति हुने भन्ने कुराको निर्णय निर्वाचन परिणामले नै तय गर्नेछ ।

निर्वाचनका मुख्य एजेन्डा

निर्वाचनका दौरान पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सबैभन्दा बढी उठाएको विषय र एजेन्डा बाइडेन प्रशासनको समयमा अमेरिकाको अर्थतन्त्र र जनजीवनमा आएको समस्या हो । उनले हरेक कार्यक्रममा यसै विषयलाई लिएर धेरै बहस गरे । यति मात्र होइन, उनले आप्रवासी समस्यालाई पनि त्यत्तिकै उठाए । अवैध आप्रवासीका कारण अमेरिकामा अपराध बढेको भन्दै ट्रम्पले यसलाई मुख्य एजेन्डा बनाएका थिए । भेनेजुएलाका अवैध आप्रवासीका कारण मारिएका १ वर्षीय बालककी आमालाई समेत निर्वाचनमा प्रयोग गरिएको थियो ।

यसैगरी ह्यारिसले गर्भपतन र आप्रवासीको समानताको विषयलाई एजेन्डा बनाएकी छिन् । ‘माई बडी, माई च्वाइस’ लेखिएको प्लेकार्डसहित ह्यारिसको चुनावी कार्यक्रममा धेरैजना उपस्थित भएका थिए । आप्रवासीको समान हक र अमेरिकाको महानता भनेकै संसारका सबै दुःखीलाई संरक्षण र सुरक्षा दिन सक्ने हुनुपर्छ भन्ने कुरामा ह्यारिस अडिग भइन् । करको दायरा तथा समानातको विषय ह्यारिसको अर्को मुद्दा थियो । अमेरिकामा रहने सबैको आफ्नो घर र निजी सवारीसाधन हुनु पर्छ भन्ने कुरामा उनको जोड थियो । यसकारण घर खरिद र सवारीसाधन खरिदमा कर छुट उनको मुख्य एजेन्डा हो । ट्रम्पले यसलाई आधार बनाएर ह्यारिसलाई बारम्बार ‘रेडिकल माक्र्सवादी’ भएको कुरा उठाइरहेका थिए ।

मध्यपूर्वको युद्ध दुवैका एजेन्डामा समावेश थिए । दुवैले आफू राष्ट्रपति भएमा मध्यपूर्वमा जारी युद्ध तत्काल अन्त्य हुने दाबी गरेका छन् । अमेरिकामा रहेका यहुदी र अरब यहुदीको मत आफूतर्फ आकर्षित गर्नका लागि दुवै उम्मेदवार व्यस्त रहे । ट्रम्पले ‘यहुदीले ह्यारिसलाई मत दिनु नै ठुलो अपराध हुने’ भन्नेसम्मका अभिव्यक्ति दिए ।

युद्धको अन्त्य गर्दै तत्काल बन्दी रिहाइ गर्ने ह्यारिसको प्रतिबद्धता पनि कायम थियो । यसका बाबजुद अहिले युद्ध जारी रहेको तथा इजरायलले गाजा र लेबनानमा बारम्बार आक्रमण गरेका कारण त्यहाँ रहेका अरब अमेरिकीहरूको विरोध प्रदर्शनको सामना ह्यारिसले गर्नुपरेको थियो ।

मुख्य भोट बैंक

अमेरिकाका कुल ५० राज्यमध्ये ४३ राज्यले प्रायः एकै उम्मेदवारलाई जिताउने गरेका छन् । यसकारण योभन्दा बढी चुनावी अभियान अन्य ७ राज्यमा छ । सर्वेक्षण गर्ने निकाय र सञ्चारमाध्यम पनि यी ७ राज्यमै व्यस्त रहे । यी ७ राज्यका आधारमा हर्ने हो भने ह्यारिसको मूल पकड अश्वेत महिलामा रहेको छ । अन्य महिलामा पनि नभएको होइन, परन्तु अश्वेत अमेरिकी महिला ह्यारिसको ‘डाइङ हर्ट’ फ्यान नै रहे । शिक्षित युवाहरू ह्यारिसको पक्षमा धेरै रहे । उनीहरू अहिले भइरहेको धेरै कुरामा परिवर्तन चाहन्छन् ।

अर्धशिक्षित युवा, ग्रामीण भेगका मतदाता र गोरा पुरुषहरू ट्रम्पको पक्षमा रहे । खासमा समानताका कुरा गर्नेहरू ह्यारिसको पक्षमा धेरै रहे भने अमेरिकीहरू विशेष हुन् भन्ने सोच हुनेहरू ट्रम्पको पक्षमा धेरै रहे । अन्तिम समयसम्म मिचिगन, पेनेसेल्भिनिया र विन्सकिन्सनमा धेरै उम्मेदवारको लगाव रहेको थियो । यो लगाव नर्थ क्यारोलिनामा पनि थियो । यसकारण तिनै राज्यको मत नै निर्णायक हुन सक्छ ।

निर्वाचन अभियानमा सेलिब्रिटी

ह्यारिसको सारथि बनेर सुरुमै जो बाइडेन अघि बढे । निर्वाचन अभियानमा हिलारी क्लिन्टन पनि उपस्थित भइन् । उनले डेमोक््रयाटको सम्मेलनमा २०१६ को निर्वाचनको स्मरण गर्दै आफू असफल भए पनि अमेरिकी नागरिकले नयाँ इतिहास कोर्ने विश्वास रहेको बताएकी थिइन् । मिचेल ओबामा र बाराक ओबामा पनि चुनावी अभियानमा होमिए ।

अमेरिकाकी पहिलो अश्वेत महिला बिलेनियर ओफ्राह विन्फ्रे पनि ह्यारिसको अभियानमा जोडतोडले लागिन् । यसअघि विविध क्षेत्रमा अश्वेत अमेरिकी महिलाले पाएको सफलतालाई आधार मान्दै प्रथम अमेरिकी महिला मिचेल ओबामाले भनेकी थिइन्, ‘सफलताको उचाइ चढ्ने पहिलो आधार भनेको हामीले देख्ने सपनाको उचाइ हो । दोस्रो आधार भनेको यसलाई पूरा गर्नका लागि आवश्यक दृढ इच्छा शक्ति र मिहिनेत मात्र हो ।’ ओबामाले ह्यारिसको पक्षमा वकालत गर्दै सो कुरा भनेकी थिइन् । उनको अभियानमा खेलकुदका सुपरिचित नाम पनि रहे । एनबिएका सुपर स्टार सेब्रियन जेम्सले त कमला ह्यारिसको विकल्प नै नभएको कुरा बताइसकेका छन् ।

कलाकारहरू स्कारलेट जोन्सन, रोबर्ट डाउनी जुनियर, क्रिस इभान्स, मार्क रुफालो, डन चिडल, डानाइ गुयरा र पाउल बेटानी पनि ह्यारिसको पक्षमा खुलेर लागे । गायिका म्याडोनाले पनि ह्यारिसलाई नै साथ दिइन् । गायिका तथा कालाकार जेनिफर लोपेज पनि ह्यारिसको पक्षमा खुलेर लागेकी छिन् । उनले आफू जन्मिएको स्थान प्युरेटिरिकोको सवालमा ट्रम्प अभियानमा व्यक्त गरिएको टिप्पणी आपत्तिजनक भएको बताउँदै सबै ल्याटिनो अमेरिकीलाई ह्यारिसको पक्षमा मतदान गर्नसमेत अपिल गरिन् । कुनै समय चर्चामा आएकी मोनिका लेवेनेस्की पनि ह्यारिसको पक्षमा उभिएकी थिइन् । कलाकार ह्यारिसन फोर्ड पनि ह्यारिसको पक्षमा खुलेर लागेका छन् । र्याप गायक कार्डी बीले जो बाइडेनको प्रशासन चित्त नबुझ्दो हुनुका बाबजुद अहिले अमेरिकामा डेमोक्याट पार्टीको विकल्प नभएको समेत बताए ।

गायक निक्की जाम सुरुआतमा ट्रम्पको पक्षमा उपस्थित थिए । ट्रम्पकै कार्यक्रममा उनीमाथि दुव्र्यवहार भएको भन्दै एकाएक कित्ता परिवर्तन गरेका छन् । उनी पनि अन्तिम समयमा ह्यारिसको चुनावी अभियानमा सरिक भए । सुरुआतमा उनले ट्रम्पको आर्थिक योजनाले ल्याटिनोलाई लाभ हुने ठहर गरे पनि प्युरेटिरिकाको बारे गरिएको टिप्पणीका कारण कित्ता परिवर्तन गर्न बाध्य भएका हुन् ।

बडी बिल्डर तथा क्यालिफोर्नियाका पूर्व रिपब्लिक गभर्नर आर्नोल्ड क्वायरजेरनर ह्यारिसको पक्षमा रहे । तथापि उनको त्यति सारो आकर्षण भने छैन । अहिले उनी राजनीतिलाई घृणा गर्न थालेका छन् । तथापि उनको मतमा ट्रम्पभन्दा ह्यारिस उपयुक्त भने हुन् । संगीतकार डना उमर पनि ह्यारिसको पक्षमा उभिए ।

त्यसो त ट्रम्पको पक्षमा पनि एकसे एक सेलिब्रिटी नलागेका होइनन् । चन्द्रमामा पाइला टेक्ने दोस्रो अन्तरिक्ष यात्री आड्रियन बल्ज ट्रम्पको पक्षमा उभिए । ट्रम्पको अन्तरिक्ष नीतिले उनी प्रभावित भएका हुन् । पूर्व एनएफएल स्टार ब्रेट फार्भ पनि विन्सकन्सिनमा भएको कार्यक्रममा उपस्थित हुँदै आफू ट्रम्पको पक्षमा रहेको घोषणा गरे । बिलेनियर तथा टेस्लाका मालिक एलन मस्क ट्रम्पको पक्षमा खुलेरै लागेपछि यसले निर्वाचन अभियान नै तरंगित बनाएको थियो ।

सर्वेक्षण

धेरै सर्वेक्षणले ह्यारिसलाई १ प्रतिशतले अघि देखाएका छन् । कुल मतमा ह्यारिसको पक्षमा ४८ प्रतिशत तथा ट्रम्पको पक्षमा ४७ प्रतिशत देखिए पनि अमेरिकामा हुने निर्वाचनको परिणाम इलेक्टोरल मतका आधारमा हुने भएका कारण यो परिणाम अन्तिम भने होइन । धेरै पटक कुल मत बढी पाएर पनि इलेक्टोरल मतका कारण परिणाम गुमाउने सम्भावना बढी छ । अन्तिम पटक सन् २०१६ मा हिलारी क्लिन्टनले पनि सोही नियति भोगेकी थिइन् ।

प्रतिक्रिया