पेशावर । आतंकवादीहरूले मंगलबार पोलियो खोप टोलीको सुरक्षामा खटिएका एक पाकिस्तानी प्रहरीको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । मुलुकको रोग विरुद्धको लामो अभियानमा भएको यो पछिल्लो क्षति हो ।
‘दुई आतंकवादीले पोलियो खोप टोलीको सुरक्षामा खटिएका प्रहरीमाथि आक्रमण गर्दा प्रहरी अधिकारीको घटनास्थलमै मृत्यु भएको छ, त्यसपछि प्रहरी टोलीले दुई आक्रमणकारी र उनीहरूको स्थानीय सहजकर्तालाई पछ्याउँदै मारे’, खैबर पख्तुनख्वा प्रान्तको ओराकजाई शहरमा भएको आक्रमणबारे वरिष्ठ प्रहरी अधिकारी मलिक सिकन्दर खानले भने ।
अर्का प्रहरी अधिकारी नवीद उल्लाह खानले पनि यी विवरणहरूको पुष्टि गरे । ‘आक्रमणको समयमा दुई स्वास्थ्यकर्मी घरभित्र थिए र त्यसैले उनीहरू सुरक्षित रहे’, उनले भने ।
ओराकजाई शहर पूर्व आदिवासी सीमावर्ती क्षेत्रको एक भाग हो । यो करिब एक दशक अघि तालिबान आतंकवादीहरूको शरणस्थल थियो र तालिबानलाई पछि सैन्य अभियानले जरैदेखि उखेलेको थियो ।
पाकिस्तान र छिमेकी अफगानिस्तान मात्र त्यस्ता मुलुक हुन् जहाँ पोलियोको प्रकोप कायम छ र खोप टोलीहरूमाथि सुरक्षा बलहरू विरुद्ध अभियान चलाइरहेका आतंकवादीहरूले प्रायः आक्रमण गर्ने गर्छन् ।– रासस, एएफपी
प्रतिक्रिया