राजमार्गकाे ठगीमा रमिते सरकार

सम्पादकीय

पृथ्वी राजमार्गमा विभिन्न व्यवसाय गर्नेहरूलाई एक महिलाले र्याखर्याख्ती पार्दै गरेको भिडियो यतिबेला समाजिक सन्जाल फेसबुक तथा युट्युबमा निकै भाइरल बनेको छ । त्यो भिडियो अत्यधिक लाइक तथा सेयर भइरहेको छ । आशिका तामाङ नाम गरेकी ती महिला कुनै सरकारी निकाय वा राज्य संयन्त्रकी प्रतिनिधि होइनन् । उनले आफूलाई सामाजिक अभियन्ता भन्ने गरेकी छन् । अन्याय गर्नेहरूलाई ठाउँको ठाउँ ठेगान लगाउन यो अभियान सुरु गरेको दावी उनको छ । कानुनतः कुनै व्यवसायको अनुगमन गर्ने, दोषी भेटिए चेतावनी दिने वा कारबाही गर्ने अधिकार राज्य संयन्त्रलाई मात्रै हुन्छ । कुनै व्यक्तिले यस्तो भूमिका निर्वाह गरेमा कानुन हातमा लिएको मानिन्छ । कानुन हातमा लिने अधिकार कसैलाई हुँदैन । तर कानुन कार्यान्वयनमा राज्य चुक्यो भने स्वतः व्यक्तिको हातमा जाँदो रहेछ भन्ने कुरा यो घटनाले सिद्ध गरेको छ । पृथ्वी राजमार्गमा मात्रै होइन, देशका सबैजसो राजमार्गहरूमा व्यवसायीको नाममा ठगहरूको बिगबिगी छ ।

फरक यत्ति हो कि, सबैभन्दा धेरै व्यस्त भएका कारण पृथ्वी राजमार्गमा पनि ठगहरूको बिगबिगी बढी नै छ । देशको संघीय राजधानी काठमाडौँ र पर्यटकीय राजधानी पोखरा जोड्ने तथा तराईसमेत जोड्ने करिब २०० किलोमिटर लामो पृथ्वी राजमार्गले लाखौँलाई व्यवसाय गर्ने अवसर दिएको छ । तर, ती लाखौँमध्ये केही हजार व्यक्ति भने लुट्नकै लागि पृथ्वी राजमार्गको छेउमा पसल थापेर बसेका छन् । राज्य संयन्त्रलाई यो लुट थाहा छ, तर राज्य संयन्त्र तमासे बनेका कारण लोकप्रिय बन्ने नाममा कानुन हातमा लिने प्रवृत्ति बढ्ने हो कि ? जस्तो देखिएको छ ।

पृथ्वी राजमार्गको छेउछाउका कतिपय होटल, रेस्टुरेन्ट, खाजा घर, खुद्रा ब्यापारीहरूले सर्वसाधारण यात्रुलाई के कसरी ठगिरहेका छन् ? लुटिररहेका छन् ? भन्ने कुरा ‘ओपन सेक्रेट’ जस्तै छ । लुटका लागि उनीहरूले आफ्नै शब्द र भाषा निर्माण गरेका छन् । उनीहरू भन्छन्, ‘चले, दले र खले’हरूलाई हातमा लिन सक्नेहरूले मात्रै ‘मुुग्र्याउने’ हुन् । उनीहरूले गाडी चालकलाई ‘चले’, सहचालकलाई ‘खले’ र आफ्नो पसलअगाडि बस रोक्न मद्दत पुर्याउने दलाललाई ‘दले’ भन्ने गर्छन् ।

अनि ग्राहकलाई ‘मुर्गा’ भन्ने गर्छन् । ग्राहकलाई ठग्ने कलालाई उनीहरूको भाषामा ‘मुग्र्याउने’ भनिन्छ । ग्राहकलाई सेवा दिने होइन कि ‘मुग्र्याउने’ उद्देश्यले नै कतिपयले व्यवसाय गरेका छन् । जसले ‘मुग्र्याउन’ सक्दैन वा मनले मान्दैन, ऊ खाजा तथा खाना बिक्रीको व्यवसायमा टिक्ने अवस्था छैन । किनकी उसको पसल आसपासमा बस रोकिँदै रोकिन्न ।

राजमार्गमा यात्रुहरू ठगिने गरेका समाचार धेरै नै आएपछि केही वर्षअघि गृह मन्त्रालयका तत्कालीन सचिव लीलामणि पौडेल दसैँको अवसरमा सार्वजनिक बस चढेरै आफ्नो घर गुल्मी गए । त्यसरी नै काठमाडौँ फर्के । काठमाडौँ फर्केको भोलिपल्ट उनले केही प्रहरी अधिकृतलाई आफ्नो कार्यकक्षमा बोलाएर भने, ‘राजमार्गका कतिपय खाना तथा खाजाघरमा मूल्य सूचीको बोर्ड लुकाएर राखिँदो रहेछ । ग्राहकले खाइसकेपछि पैसा तिर्न काउन्टरमा जाँदा उसको अनुहार हेरर मूल्य असुल गरिँदो रहेछ ।

ठगिएको महसुस गरी ग्राहकले प्रश्न गर्न थाल्यो भने कुटपिट तथा ताउर माहुर गरिँदो रहेछ ।’ करिब २ दशकअघि तत्कालीन गृहसचिव पौडेलले गरेको यो अनुगमनपछि केही वर्षसम्म प्रहरी प्रशासन, जिल्ला प्रशासन तथा अन्य सरकारी निकायहरूले अनुगमन पनि गरेका थिए ।

तर फेरि उस्तै भएको छ । राजमार्ग आसपासमा खाजा तथा खाना खानु भनेको ठगिनु हो भन्ने कुरा धेरैले थाहा पाएका छन् । सकेसम्म उनीहरू खान चाहँदैनन्, तर वाध्यता छ । पछिल्ला वर्षमा त सडक बिस्तार तथा मर्मतका कारण सवारी साधनहरू घण्टौँसम्म जाममा पर्ने गरेका छन् ।

पहिरोले पनि त्यतिकै सास्ती दिने गरेको छ । जसका कारण दोब्बर मूल्य तिरेर खानुपर्ने थाहा पाउँदापाउँदै पनि सडक जामका कारण यात्रुहरू गुणस्तरहीन खाना, खाजा वाध्य छन् । यस्तो देख्दादेख्दै पनि सरकारी निकायको अनुगमन नभएपछि कानुन हातमा लिने प्रवृत्ति बढ्न सक्छ । कसैले व्यवसायको नाममा कानुन हातमा लिँदा राज्यले वास्ता गरेन भने अर्कोले उनीहरूलाई कारबाही गर्ने नाममा कानुन हातमा लिनु स्वभाविकै हो ।

प्रतिक्रिया