जापानका प्रधानमन्त्री इशिबा चुनावमा पराजय भोगे पनि तत्काल सरकारबाट नबाहिरिने

टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले मध्यावधि निर्वाचनमा आफ्नो गठबन्धनले अपेक्षित नतिजा नल्याए पनि सरकारको नेतृत्वमा रहिरहने प्रतिबद्धता जनाएका छन् ।

इशिबाले अक्टोबर १ मा पदभार ग्रहण गरेको केही दिनपछि अक्टुबर २७ का लागि निर्वाचनको घोषणा गरेका थिए । सन् १९५५ देखि जापानमा शासन गरिरहेको उनको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का चुनाबमा निकै कमजोर नतिजा देखिएको छ ।

एलडिपी नेतृत्वको गठबन्धनले बहुमत गुमाउने अनुमान गरिएसँगै इशिबाले राजनीतिक शून्यता हुन नदिने बताउँदै सत्तामा रहिरहने प्रतिबद्धता जनाएका हुन् । ‘म जापान र जापानी जनताको रक्षा गर्दै आफ्नो कर्तव्य पूरा गर्न चाहन्छु,’ इशिबाले भने ।

उनले भने, ‘सबैभन्दा ठूलो चुनावी कारक पार्टीका जिम्मेवार नेताको नै आर्थिक अनियमिततासँग जोडिएका मुद्दामा सम्लग्नता देखिनु र यसबाट जनतामा एलडिपीप्रति शंका अविश्वास र क्रोध सिर्जना हुनु नै रहेको बताइएको छ ।

‘म पैसा र राजनीतिको विषयमा आधारभूत सुधार गर्नेछु,’ इशिबाले भने, ‘मतदाताहरूले पार्टीमाथि कठोर निर्णय दिएका छन् ।’– रासस, एएफपी

प्रतिक्रिया