आँधीबाट फिलिपिन्समा १०० जनाभन्दा बढीको मृत्यु, दर्जनौँ बेपत्ता

मनिला । फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण मृत्यु हुनेको संख्या १०० जनाभन्दा बढी पुगेको उद्धारकर्मीले आइतबार बताएका छन् ।

आँधीपछि आत्तिएर एउटा तालमा हाम फालेका दर्जनौँ मानिस अझै हराइरहेका छन् भने उनीहरूको खोजी भइरहेको छ । गत अक्टोबर २४ मा फिलिपिन्समा आएको ‘ट्रामी’ यस वर्षको सबैभन्दा घातक आँधीमध्ये एक थियो ।

राष्ट्रिय विपद् निकायका अनुसार भूकम्पका कारण पाँच लाखभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् भने कम्तीमा ३६ जना हराइरहेका छन् । सबैभन्दा बढी प्रभावित बिकोल क्षेत्रमा प्रहरीले ३८ जनाको डुबेर मृत्यु भएको जनाएको छ ।

बिकोलका क्षेत्रीय प्रहरी निर्देशक आन्द्रे डिजोनले एएफपीसँग भने, ‘हामीलाई अझै पनि धेरै फोन आइरहेका छन् र हामी सकेसम्म धेरै मानिसहरूलाई बचाउने प्रयास गरिरहेका छौँ, आशा छ, त्यहाँ थप मृत्यु हुने छैन ।’ डिजोनले यस क्षेत्रको क्यामारिन सुर प्रान्तका ‘धेरै बासिन्दाहरू’ अझै पनि आफ्नो घरको छत र माथिल्लो तलामा फसेको बताए ।

मनिलाको दक्षिणमा पर्ने बाटाङ्गासमा मृत्यु हुनेको संख्या ५५ जना पुगेको प्रान्तीय प्रहरी प्रमुख ज्याकिन्टो मालिनाओले जानकारी दिए । क्याभिट प्रान्तमा डुबेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । एएफपीको आधिकारिक प्रहरी र विपद् निकाय स्रोतका अनुसार अन्य प्रान्तमा थप पाँच जनाको शव फेला परेपछि मृतकको संख्या १०० पुगेको छ ।

नागरिक सुरक्षा कार्यालयका एडगर पोसाडासले भने, ‘आगामी दिनमा अझै धेरै मानिसको मृत्यु भएको जानकारी आउने सम्भावना छ, किनभने उद्धारकर्ताहरू पहिलेभन्दा फरक स्थानमा उद्धारका लागि पुगेका छन् ।’ प्रहरी, तटरक्षक र मरिन डाइभिङ टोलीले आइतबार पनि बाटाङ्गासको तालमा हामफालेका भनिएका सात परिवारको खोजी गरिरहेका छन् ।

प्रान्तीय प्रहरी प्रमुख मालिनाओले भन्नुभयो, “पहाडको पानीले बालेटे शहरमा रहेको उनीहरूको घरमा पहिरो र बाढी ल्याएपछि उनीहरूको घर भत्किने डरमा आत्तिएर तालमा हाम फालेका थिए ।

बटाङ्गासमा अधिकांश को मृत्यु वर्षाका कारण आएको पहिरोका कारण भएको बताइएको छ । माटो, ढुंगा र ढलेका रूखको थुप्रोबाट २० जनाभन्दा बढीको शव निकालिएको छ भने कम्तीमा २० जना अझै हराइरहेको प्रहरीले जनाएको छ ।

मालिनाओले भने, ‘सबै शव नभेटिएसम्म हामी खोजी जारी राख्नेछौँ ।’ उत्तरी फिलिपिन्सको विभिन्न भागमा आएको बाढीका कारण करिब पाँच लाख ६० हजार मानिस विस्थापित भएको राष्ट्रिय विपद् निकायले आइतबार जनाएको छ ।

प्रत्येक वर्ष करिब २० वटा ठूला आँधीबेहरीले फिलिपिन्स र यसको वरपरका घर र पूर्वाधारमा क्षति पुर्याउने गरेको छ भने दर्जनौँ मानिसको ज्यान लिने गरेको छ ।

एशिया–प्रशान्त क्षेत्रका आँधीबेहरीहरू समुद्र तटको नजिक बढ्दै गएको र जलवायु परिवर्तनका कारण जमिनमा अझ तीव्र र लामो समयसम्म टिक्ने आँधी आउने हालै गरिएको एक अध्ययनले देखाएको छ ।– रासस, एएफपी

प्रतिक्रिया