छात्रवृत्ति करारका चिकित्सक आन्दोलित

सिरहा । मधेस प्रदेशका प्रादेशिक अस्पतालहरूमा छात्रवृत्ति करार सेवामा कार्यरत चिकित्सकहरू आन्दोलित बनेका छन् । प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकले चालु आर्थिक वर्षको तलबभत्ता नपाएपछि आइतबारदेखि आन्दोलित बनेका हुन् । मधेस प्रदेशका ७ वटा प्रादेशिक अस्पतालका छात्रवृत्ति करारका चिकित्सक अस्पताल जान छाडी आन्दोलित बनेका हुन् । जसका कारण प्रदेशभरिका प्रादेशिक अस्पतालको सेवा प्रभावित बन्न पुगेको छ ।

छात्रवृत्ति करारका चिकित्सकले यसअघि मौखिक रूपमा पटक–पटक अस्पतालका प्रमुख र मन्त्रालयलाई गुहार्दा पनि सुनुवाइ नभएपछि गत असोज २९ मा सबै अस्पताल प्रमुखलाई लिखित ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा उनीहरूले कात्तिक ३ गतेपछि काममा नआउने पनि उल्लेख गरेका हुन् ।
कतैबाट पनि आफूहरूका समस्यालाई वास्ता नगरिएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको चिकित्सकहरूको भनाइ छ । ‘हामीले पटकपटक सबैलाई गुहा¥यौँ, तर कसैले पनि हाम्रा समस्यालाई गम्भीरतापूर्वक लिएको पाइएन’, प्रादेशिक अस्पताल लहानमा कार्यरत डा.आकाश राउतले भने, ‘बाध्य भएर हामी ड्युटी बहिष्कारको निर्णयमा पुगेका छौँ ।’

ज्ञापनपत्र बुझाएको मितिदेखि ७ दिन¬¬¬भित्र समस्या समाधान नभए कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि उनीहरूको छ । ‘आजबाट हामीले ड्युटी बहिष्कार गरेका छौँ’, डा.राजेशरंजन झाले भने, ‘सम्बन्धित निकाय यसैगरी गैरजिम्मेवार बनिरह्यो भने हामीले कडा कदम चाल्नेछौँ ।’
छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका, २०७१ अनुसार छात्रवृत्ति कोटामा अध्ययन पूरा गरेका विद्यार्थीहरूले २ वर्ष सरकारी अस्पतालमा काम गर्नुपर्ने व्यवस्था छ । जसअन्तर्गत मधेस प्रदेश सरकार अन्तर्गतका प्रादेशिक अस्पतालमा झण्डै १०० हाराहारीमा चिकित्सक कार्यरत छन् ।

उनीहरूलाई सेवासुविधा संघीय सरकारले उपलब्ध गराउँछ । संघीय सरकारले उनीहरूले काम गर्ने अस्पताल जुन तहका सरकारको मातहतमा हुन्छ, त्यहाँ बजेट पठाइदिन्छ । तर, मधेस प्रदेशमा चिकित्सक आन्दोलित नै हुनुपर्ने परिस्थित बजेट नआएर भन्दा पनि प्रदेशकै ढिलासुस्तीका कारण सिर्जना भएको बताइएको छ ।

मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने प्रक्रियागत कामका कारण उनीहरूलाई सेवा सुविधा उपलब्ध गराउन ढिलाइ भएको जनाएको छ । सेवा सुविधासम्बन्धी विषय अन्तिम प्रक्रियामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले बताए । आउँदो शुक्रबारसम्ममा उनीहरूलाई सेवा सुविधा उपलब्ध गराउने गरी काम भइरहेको उनले जानकारी दिए । ‘प्रक्रियागत कुरामा ढिलाइ भयो’, उनले भने, ‘अन्तिम चरणमा पुगिसकेको छ, शुक्रबारसम्म सेवासुविधा उपलब्ध गराउने गरी काम अगाडि बढेको छ ।’ काम बहिष्कार गरेर आन्दोलित बनेका चिकित्सकलाई काममा फर्किन अनुरोध गरेको मन्त्री सिंहले बताए ।

प्रतिक्रिया