हिजबुल्लाह र हमासका नेता मारिने क्रम जारी

७ अक्टोबर २०२३ मा भएको इजरायलमा भएको आक्रमणका मुख्य योजनाकार तथा हमास नेता याया सिनवार मारिएका छन् । बिहीबार शवको दन्त्य परीक्षण तथा डिएनए परीक्षण गरेर मारिएको पुष्टि भएको हो । बुधबार भएको ट्यांक आक्रमणको शव बिहीबार फेला परेको हो । उनको दन्त्य परीक्षण र डिएनए गरिएपछि इजरायली सेनाले यसको पुष्टि गरिएको हो । दक्षिणी गाजाको रफाहामा गरेको आक्रमणपछि सेनाले नै शव लिएका थिए । उनी सिनवार भएको अनुमानपछि परीक्षण भएको थियो ।

सिनावरको मृत्युपछि नेतान्याहुले बन्दीको रिहाइ र हतियार छाड्नु मात्र हमासका नेताले ज्यान बचाउन सक्ने अन्तिम उपाय भएको बताएका छन् । सिनावरको मृत्युपछि संसारका धेरै नेताले प्रतिक्रिया दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्ध विरामको बाटो खुला भएको प्रतिक्रिया दिएका छन् । अमेरिकी उपराष्ट्रपति तथा राष्ट्रपति पदकी उम्मेद्वार कमला ह्यारिसले सिंगो संसार नै सिनावरको मृत्युमा खुसी भएको जनाएकी छन् ।
अहिले इजरायलमा बन्दी बनाइएकाहरूको परिवारमा भने आफ्ना प्रियहरूको जीवन अझ बढी जोखिममा परेको महसुस गर्न थालेका छन् । अहिले १०० जनाभन्दा बढी अझै हमासको कब्जामा छन् । सन् २०११ मा इजरायली जेलबाट छुटेपछि हमासको हरेक अपरेसनमा उनको भूमिका मुख्य रहेको थियो । उनको मृत्युले हमासलाई ठुलो संकट पर्ने जनाइएको छ । ३१ जुलाईमा हमासका नेता इस्माइल हानिएको मृत्यु भएपछि उनको नेतृत्वमा हमास थियो ।

बुधबार उनी सुरुङ छाडेर अपार्टमेन्ट प्रवेश गर्न खोजेको समयमा आक्रमण भएको इजरायली सेनाले जनाएको हो । सिनावरभन्दा अघि हमासको प्रमुख इस्मायल हानिया थिए । गत जुलाईमा उनी मारिएपछि हमासभित्र बलियो प्रभाव बनाएका सिनवार राजनीतिक प्रमुख चुनिएका थिए । सन् २०१७ देखि गाजा स्ट्रिपमा हमास समूहका नेता रहेका सिनवारई सर्वसम्मतिमा सो समूहको राजनीतिक विभाग नेतृत्व गर्ने जिम्मेवारी दिइएको थियो ।

सिनवार चरमपन्थी नेता मानिन्छन् । उनको त्यही स्वभावका कारण पनि गाजामा युद्धविरामका लागि भएका दर्जनौँ प्रयासहरू असफल भएको बताइन्छ । सिनवार यसअघि गाजा क्षेत्रमा हमासको राजनीतिक एकाइ प्रमुख थिए । सन् १९६२ मा जन्मेका सिनवार हमासको सुरक्षा सेवा ‘मज्द’का संस्थापक पनि थिए ।

सिनवार ३ पटक पक्राउ परेका थिए । सन् १९८२ मा इजरायली सैनिकले उनलाई पहिलोपटक पक्राउ गरेको थियो । त्यतिबेला उनलाई ४ महिना जेलमा राखिएको थियो । सन् २०११ मा इजरायलले आफ्ना एक सैनिकको रिहाइको बदलामा हमास र फतहका कैदीहरूलाई रिहा गरेको थियो । त्यसमा याह्या सिनवार पनि परेका थिए ।

इजरायली कैदबाट मुक्त भएपछि उनी हमासमा आफ्नो पुरानो स्थानमा फर्किए । सन् २०१७ मा सिनवार गाजा क्षेत्रमा हमासको राजनीतिक विभाग प्रमुख बनेका हुन् । उनको आतंककारी प्रवृत्तिलाई लिएर विश्व समुदाय आतंकित थियो । अमेरिकाले उनलाई सन् २०१५ मा ‘अन्तर्राष्ट्रिय आतंककारी’ को सूचीमा राखेको थियो ।

हमासको नेताको मृत्युको बाबजुद युद्ध लम्बिने कुरामा भने कुनै शंका छैन । हिजबुल्लाले इजरायलसँगको युद्ध नयाँ चरणमा प्रवेश गरेको जनाएको छ । हिजबुल्लाहले इजरायलले दक्षिणी लेबनानमा जमिन आक्रमण सुरु गरेपछि ५५ इजरायली सेना मारिएको दाबी गरेको छ । साथै ५०० इजरायली सेना घाइते भएको दाबीसमेत गरिएको छ ।

इजरायलले यस बारेमा कुनै प्रतिक्रिया दिएको छैन । हमास नेता याया सिनावरको मृत्युबारे भने हिजबुल्लाहले अझै औपचारिक धारणा बाहिर ल्याएको छैन । बिहीबार नै इजरायल डिफेन्स फोर्स (आइडिएफ)ले ५ जना सेना दक्षिणी लेबनानमा भएको सैन्य अपरेसनको क्रममा मारिएको जनाएको छ ।
समाचारमा जनाइए अनुसार अहिले सिनवार मारिएकै स्थानमा गत महिना ६ बन्दीको शव फेला परेको नजिकै अहिले उनी मारिएको हो । गत वर्षदेखि नै अमेरिकी विशेष अपरेसनले बन्दीको ट्रयाक गर्ने क्रममा हमास नेता पत्ता लगाउन सहयोग भएको हो । मारिने समयमा उनी उत्तरी लेबनानको रफाहाबाट उत्तरतर्फ जाने प्रयासमा थिए । यसैगरी बुधबार लेबनानमा भएको आक्रमणमा ४५ जना मारिएको इजरायलले जनाएको छ । गाजा र लेबनानमा जनजीवन झनै कठिन बनिरहेको छ । बिहीबार गाबल्य शरणार्थी शिविरमा समेत आक्रमण भएपछि लेबनानको स्वास्थ्य संयन्त्र नै पुरै असफल भएको छ ।

त्यहाँ शल्यक्रिया गर्न सक्ने एक मात्र अस्पताल अमल अवदान अस्पतालले पनि भार थेग्नै नसक्ने भएको जनाएको छ । अब सफियन स्कुलमा भएको आक्रमणमा २२ जना मर्नुको साथै १५० जना घाइते भएका थिए । ७ अक्टोबरमा सिनावारको आक्रमणपछि इजरायलले हमासविरुद्ध फायर खोलेको थियो । हमासले गरेको आक्रमणमा कम्तीमा १२ सय इजरायलीको मृत्यु भएको थियो भने त्यसयता इजरायलले ४२ हजारभन्दा धेरैको ज्यान लिने गरी हमला गरिसकेको छ । यही क्रममा हमासका राजनीतिक प्रमुख त यो साता मारिए । यसअघि नै हमास र हिजबुल्लाहले धेरै नेता गुमाइसकेको छ ।
हिज्बुल्लाहका नेता हसन नस्रल्लाह सेप्टम्बरको अन्त्यमा इजरायली सैन्य कारबाहीमा मारिएका थिए ।

इजरेल डिफेन्स फोर्सले नस्रल्लाहसहित इरान समर्थित लडाकु समूहका अरू वरिष्ठ नेताहरू मारिएको जनाएको हो । मारिनेमा हिज्बुल्लाहको दक्षिणी मोर्चाका कमान्डर पनि रहेको इजरेली सेनाको एउटा विज्ञप्तिमा जनाइएको छ । आफ्नो लडाकु विमानले लेबननको ‘बेइरुतस्थित दहियाको एक आवासीय भवनमुनि भूमिगत’ स्थानमा रहेको हिज्बुल्लाहको मध्य मुख्यालयमा गरेको ‘प्रहार’ मा उनी मारिएका थिए । सो सशस्त्र समूहको पकड क्षेत्र मानिने दक्षिणी बेइरुतको दहियाबाट हिज्बुल्लाहका उच्च नेतृत्वले संगठन चलाइरहेको इजरेली दाबी रहँदै आएको थियो ।

इजरायलमा भएको लगातार आक्रमणको विषयमा यसलाई लेबनानी स्वास्थ्यमन्त्रीले इजरायली नरसंहारको संज्ञा दिए । इजरेलको सेनाले बारम्बार हिजबुल्लाह मुख्यालयमा ‘निकै सटिक’ आक्रमण गरेको यसअघि बताएको थियो । यसले नस्रल्लाहलाई लक्षित गरिएको थियो कि थिएन भन्ने जनाएको थिएन ।

मारिएपछि उनको अन्त्येष्टि गर्ने स्थानमा समेत त्रास उत्पन्न भएको थियो । मृत्यु भएको ७ दिनपछि उनको अन्तिम संस्कार गरिएको छ । इजरायली आक्रमणको डरले नसरल्लाहलाई एक ‘सेक्रेट’ स्थानमा ‘दफनाइएको’ जनाइएको छ । उनको मृत्युको शोकमा ठुलो संख्यामा मानिसहरू भेला भएका थिए । केही दिनदेखी नै विश्वभर रहेका उनका मुस्लिम समर्थकले उनको सम्झनामा श्रदाञ्जली सभाहरू आयोजना गरिरहेका थिए ।
नसरल्लाहको अन्तिम संस्कार हुँदै गरेको समयमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले तेहरानको ग्रेन्ड मस्जिदमा हिजबुल्लाह प्रमुखको सम्झनामा नमाज पढेका थिए । त्यसपछि उनले अत्यन्तै दुर्लभ मानिने सार्वजनिक सम्बोधन गरेका थिए । मस्जिद परिसरमा उपस्थित हजारौँ मानिसहरूका बीचमा सार्वजानिक सम्बोधन गर्दै मुस्लिमहरूको साझा सत्रु इजरायल भएको बताए । उनले सो अवसरमा विश्वभरका मुसलमानहरूलाई एकजुट हुन पनि अपिल गरेका थिए ।

साथै उनले भने, ‘विश्वमा एउटा पनि यस्तो अदालत छैन्, जहाँ प्यालेस्टाइनलाई आफ्नो जमीनको सुरक्षा गर्नका लागि दोषी ठहराउन सकोस् ।’ खामेनीले इजरायलको सामना गर्नका लागि अरब देशलाई एकजुट हुन अपिल गरे । उनले भने इजरायललाई ध्वस्त गर्नुको विकल्प अरब देशहरूसँग नभएको बताए । उनले मंगलबार इजरायलविरुद्ध गरिएको मिसायल आक्रमण एउटा सानो सजाय भएको बताए । साथै उनले आवश्यक परेमा फेरि आक्रमण गर्ने चेतावनी दिए ।

उनले कहिले पनि इजरायलले हमास र हिजबुल्लाहलाई हराउन पाएको छैन । नसरल्लाहको मृत्युपछि खामेनीलाई एक सुरक्षित स्थानमा लगिएको थियो । यसपछि पहिलोपटक सार्वजानकि रूपमा देखिएका हुन् । यसअघि खामेनी सन् २०२० मा इरानी रिभोलुसनरी कमान्डर कासिम सुलेमानीको मृत्युको समयमा उनको सम्झनामा नमाज पढेका थिए र मलामीमा सहभागी भएका थिए । लगातार एकपछि अर्को नेता मारिए पनि हमास र हिजबुल्लाहले अहिलेसम्म इजरायलसँगको लडाइँ छाड्ने लक्षण देखाएका छैनन् ।

प्रतिक्रिया