सुनसरीको गलैँचा उद्योगमा आगलागी, ८० कराेडभन्दा धेरैको क्षति

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–३ स्थित गलैँचा उद्योगमा बुधबार बेलुका भएको भीषण आगलागीबाट ८० करोडभन्दा बढीको क्षति भएको छ । धरानका व्यवसायी प्रिन्स अग्रवालले सञ्चालन गर्दै आएको दुहबी नगरपालिका–३ कदमगाछी चोकदेखि पूर्वमा रहेको हनुमन्ते गलैचा उद्योगमा बुधबार राति भीषण आगलागी भएको थियो ।

उक्त आगो अहिलेसम्म पनि पूर्ण रूपमा नियन्त्रण हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए । उनले भने, ‘उद्योग सञ्चालनका क्रममा विद्युत् सर्ट भई आगलागी भएको हो, आगो ठूलो भागमा भित्रभित्र फैलिएको कारण नियन्त्रण गर्न गाह्रो भएको छ ।’

आगलागीबाट एक बिघा क्षेत्रफलमा निर्माण गरिएको भवन र मेसिन र गोदाममा राखेका गलैँचा, सिरक, डस्ना, चकटी, म्यट्रेस, कार्पेट, सवारी साधनलगायतका सामग्री सबै जलेर नष्ट भएको सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार उद्योगको गोदाममा राखेको ४० करोडको सामग्री, मेसिन र भौतिक संरचना गरी ८० करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । पूर्ण रूपमा अझ क्षतिको विवरण आइसकेको छैन । आगलागी सुरु भएसँगै विराटनगर, इटहरी, धरान, दुहबी, इनरुवा, झुम्कालगायत स्थानबाट १२ वटा दमकल र सुरक्षाकर्मी स्थानीयलगायतले आगो नियन्त्रण प्रयास गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता तिमल्सिनाले बताए । रासस

प्रतिक्रिया