यतिबेला विश्वभरका नेपालीहरू आफ्ना दुःख कष्ट बिर्सेर वा थाति राखेर महान चाड बडादसैँ मनाइरहेका छन् । हरेक वर्ष आश्विन शुक्ल पक्षका १५ दिनसम्म मनाइने दसैँ चाड यस वर्ष १७ असोजदेखि सुरु भएको छ । बडादसैँ १५ दिनसम्म मनाउने चलन भए पनि घटस्थापनादेखि विजयादशमीसम्मको १० दिनलाई विशेष रूपमा मनाइन्छ । यही १० दिनको चाड भएका कारण बडादसैँ भनिएको हो । बडादसैँका १० दिनमध्ये पनि विजयादशमीको दिनलाई अझ महत्व दिने गरिएको छ । बडादसैँ मनाउने चलन कहिलेदेखि सुरु भयो ? किन मनाउन थालियो ? बडादसैँ मनाउने विधि विधान के को हो ? भन्ने प्रश्न चाड, पर्व तथा धर्म संस्कृतिप्रति चासो राख्ने सबैका लागि महत्वपूर्ण हुन्, तर आमनेपालीका लागि यो प्रश्न खासै महत्वपूर्ण होइन । किनकी चाडपर्वहरू कसैको करकापमा मनाइँदैन । स्वेच्छाले मनाइने संस्कृतिहरू हुन् चाडपर्व भनेका । नेपालमा मनाइने चाड, पर्वहरूले समाज तथा समुदायहरूलाई एकआपसमा जोड्ने भूमिका निर्वाह गरेका छन् । त्यसमध्ये बडादसैँ मुख्य चाड हो । नेपालमा मनाइने केही चाडपर्वहरू भारतबाट बिस्तार हुँदै भित्रिएको देखिन्छ भने केही चाडपर्वहरू तिब्बतबाट बिस्तार हुँदै भित्रिएको देखिन्छ । अझ केही चाडपर्वहरू त अरबबाट र युरोपबाट बिस्तार हुँदै भित्रिएको देखिन्छ । तर बडादसैँ यस्तो चाड हो, जो नेपालबाट बिस्तार भई विश्वका धेरै देशहरूमा पुगेको देखिन्छ ।
कुनै पनि जात, जाति, समुदाय तथा राष्ट्रको मुख्य पहिचान भनेका संस्कृति तथा चाडपर्वहरू हुन् । पहिला समाज बन्यो, त्यसपछि संस्कृति बन्यो, अनि मात्रै देश बनेको हो । त्यसैले चाडपर्वहरू भनेका समाज विकासका ऐना हुन् । कुन समुदाय के कति विकसित छ ? भन्ने अध्ययन त्यो समुदायले मनाउने चाडपर्वका आधारमा गर्ने गरिन्छ । उदाहरणका लागि नेपालका समुदायहरूमध्ये नेवार समुदाय सबैभन्दा विकसित र राउटे समुदाय सबैभन्दा अविकसित भनेर मापन गरिनुको मुख्य आधार संस्कृति तथा चाडपर्वहरू हुन् । किनकी संस्कृति तथा चाडपर्वको दृष्टिले राउटे समुदाय धेरै नै पछि छ । राउटे समुदाय चाडपर्व मनाउने गरी विकसित हुन अझै बाँकी छ । उदाहरणका लागि राउटे समुदायले बडादसैँ मनाउन थालेको राज्यद्वारा सामाजिक सुरक्षा भत्ता पाउन थालेदेखि हो भन्दा पनि हुन्छ ।
नेपालमा मनाइने चाडपर्वको तुलनामा बडादसैँ पर्व अली खर्चिलो र भड्किलो भएको कुरा सत्य हो । यसको कारण पनि प्रष्ट छ । किनकी इतिहासको लामो कालखण्डदेखि राज्यले नै बडादसैँ धुमधामका साथ मनाउन प्रोत्साहन गर्दै आएको छ । जसका कारण देशमा वर्षभरी जति आर्थिक गतिविधि हुने गर्छ त्यसको करिब एकचौथाई आर्थिक गतिविधि बडादसैँका अवसरमा मात्रै हुने गर्छ । तर नेपालमा मात्रै होइन छिमेकी देश भुटानमा पनि बडादसैँका अवसरमा ठूलो आर्थिक गतिवधि हुने गर्छ । केही दशक अघि भारतमा गाभिएको सिक्कममा पनि बडादसैँका अवसरमा निकै ठूलो आर्थिक गतिविधि हुने गर्छ । विश्वमा २ प्रकारका नेपालीहरू छन् । एकप्रकारका नेपालीको पहिचान भूगोलका आधारमा बनेको छ, अर्को प्रकारका नेपालीको पहिचान भाषा तथा संस्कृतिको आधारमा बनेको छ ।
भाषा तथा संस्कृतिको आधारमा नेपाली पहिचान बनेकाहरू प्रायः सबैले बडादसैँ मान्छन् । भूगोलका आधारमा पहिचान बनाएका सबै नेपालीले बडादसैँ मान्दैनन् । अथवा पृथक शैलीमा मान्छन् । खासगरी नेपाल एकीकरणपछि तिब्बतबाट झरेका तथा भारतबाट उक्लिएका समुदायले बडादसैँ मान्दैनन्, माने पनि अली पृथक ढंगले मान्छन् । पृथ्वीनारायण शाह जन्मनुभन्दा ३०० वर्षअघि नै भुटान पुगेका मगरहरूले मान्ने दसैँको शैली र जयस्थिति मल्लको पालामा तिब्बत पुगेका नेवारहरूले मान्ने बडादसैँको शैलीमा केही भिन्नता हुनु स्वभाविकै हो ।
प्रतिक्रिया