काठमाडौँ । हलमा प्रदर्शनरत फिल्म ‘बेहुली फ्रम मेघौली’ का क्लिपहरू टिकटक र सामाजिक सञ्जालमा छ्यापछ्याप्ति भेटिएपछि निर्माताले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । फिल्म हेर्न हलमा पुगेका दर्शकले मोबाइलबाट भिडिओ खिचेर टिकटक, फेसबुक लगायतमा अपलोड हुने क्रम बढेपछि सोमबार ब्युरो पुगेर उजुरी दिएका निश्चल बस्नेत जानकारी दिए ।
सामाजिक सञ्जालमा अपलोड भएका भिडिओहरू हटाउनुका साथै पाइरेसी गर्नेलाई कारबाही गर्न कानुनी प्रक्रिया अघि बढेको उनले फेसबुकमा उल्लेख गरेका छन् । ‘हलमा भिडिओ खिचेर आफ्नो सामाजिक संजालमा (फेसबुक, ट्विटर, इन्स्टाग्राम र टिकटक) मा हाल्नुभएको छ भने तपाईंको अकाउन्ट बन्द हुनेछ । साइबर ब्युरोलाई धेरै धेरै धन्यवाद । साथै बौद्धिक सम्पति चोरी नगर्न सबैमा अनुरोध छ । कानुनी प्रक्रिया अगाडि बडिसकेको जानकारी दिन चाहन्छु’, उनले भनेका छन् । केही दिनअघि यस फिल्मको भिडिओहरू सामाजिक सञ्जालमा अपलोड भएसँगै चलचपत्र विकास बोर्डले पनि सूचना जारी गर्दै चेतावनी दिएको थियो । गत शुक्रबारदेखि रिलिज भएको यस फिल्ममा निश्चलसहित स्वस्तिमा खड्का मुख्य भूमिकामा छन् । यस फिल्मले ३ दिनमा २ करोड २५ लाखको व्यापार गरिसकेको छ ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा सजन काफ्ले र आकाश बरालले लेखन तथा निर्देशन गरेका हुन् । यो उनीहरूको डेब्यु निर्देशकीय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।
प्रतिक्रिया