मुम्बई । साउथ सुपरस्टार रजनीकान्तको आगामी फिल्म ‘वैट्टैयन’ को ट्रेलर सार्वजनिक भएको छ । विशेष कुरा के छ भने यस फिल्ममा रजनीसँगै अमिताभ बच्चन पनि देखिनेछन् । यो अमिताभको पहिलो तमिल फिल्म हो । यसबाट उनी ३३ वर्षपछि रजनीकान्तसँग काम गर्दै देखिनेछन् । दुवैले पछिल्लोपटक सन् १९९१ मा रिलिज भएको फिल्म ‘हम’ मा सँगै काम गरेका थिए । २ मिनेट ३९ सेकेन्डको यो ट्रेलरमा निकै सस्पेन्स, थ्रिलर र एक्सन रहेको छ । कथा एक अधिकारीको हो जो अपराधीलाई सजाय दिन चाहन्छ । ट्रेलरमा सुपरस्टार रजनी आफ्नो पुरानो एक्सन स्टाइलमा गुन्डालाई पिट्दै देखिएका छन् ।
उनका अलावा अमिताभ बच्चन, फहद फासिल र राणा दग्गुबती पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । यसमा मञ्जु वारियर, ऋतिका सिंह, दुशारा विजयन र किशोरजस्ता कलाकारहरू पनि देखिएका छन् । फिल्म अमिताभ बच्चनको ८२औँ जन्मदिनको १ दिनअगाडि अक्टोबर १० मा विश्वभरका थिएटरमा रिलिज हुनेछ । यो तमिल, तेलुगु, हिन्दी र कन्नड भाषामा रिलिज हुनेछ । फिल्मलाई टिजे गनानावेलले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया