अक्टोबरले असर गर्न सक्छ अमेरिकी निर्वाचनलाई

न्युयोर्क । अमेरिकामा हालै आएको हेलेन आँधीले झण्डै दुईसय जनाको ज्यान मात्रै लिएन आसन्न राष्ट्रपति चुनावलाई समेत तरंङगित बनाएको छ । राष्ट्रपति पदको निर्वाचनमा उम्मेद्वार भएका डोनाल्ड ट्रम्पले आँधी पीडितलाई राज्यले कम चासो दिएको आरोप लगाएका छन् । उनको आरोप डेमोक्र्याट पार्टी, वर्तमान राष्ट्रपति जो बाइडेन तथा हालका उपराष्ट्रपति तथा ५ नोभेम्बरमा हुने निर्वाचनमा ट्रम्पकी प्रतिस्पर्धी कमला ह्यारिसको विरुद्धमा लक्षित छ ।

आसन्न निर्वाचनका लागि २ पटक टेलिभिजन बहस भइसकेको छ । बारम्बार भएका मत सर्वेक्षणहरू सार्वजनिक भएका छन् । पछिल्ला धेरै सर्वेक्षणले ह्यारिस २ प्रतिशतले अघि छिन् । परन्तु १ महिना बाँकी रहँदा पनि धेरै मतदाताले आफ्नो मतको निर्णय गरिसकेका छैनन् । तसर्थ यस निर्वाचन इतिहासकै प्रतिस्पर्धात्मक निर्वाचन हुने तथा अक्टोबर महिनामा हुने हरेक घटना निर्णायक हुन सक्ने सम्भावना देखिएको छ ।

जुलाई महिनामा जो बाइडेनले उम्मेद्वार त्याग्नुअघिसम्मको सर्वेक्षणमा ट्रम्प अघि थिए । बाइडेनले रेस त्याग्ने बित्तिकै ह्यारिसको पक्षमा माहौल बन्दै गएको हो । बहसमा सुरुमा ध्यानाकृष्ट गर्ने र विपक्षीमाथि आक्रामक हुने कमलाको कलाले चुनावी अभियानमा धेरै सहयोग पुगेको छ ।

साथमा आप्रवासी मुद्दा र गर्भपतनका मुद्दाले अफ्रिकन अमेरिकन र महिलाहरूको सद्भाव पाएकी उनले उठाएको मुद्रास्फीति मुद्दाले शिक्षित युवालाई आकर्षित गरेको छ । घर र गाडीमा दिइने धेरै कर छुटको घोषणापछि उनलाई ट्रम्पले रेडिकल माक्र्सवादी भएको भन्दै ह्यारिस विजयी भएमा अमेरिकाको साख नै गिर्ने सम्मका अभिव्यक्ति दिए । यत्ति मात्र होइन ट्रम्पले शनिबार राति पेनेसेल्भिनियाको कार्यक्रममा आफूमाथि भएको हत्या प्रयास बाइडेन र ह्यारिसले उत्पन्न गराएको घृणाको उपज भएको बताए ।

हालको अवस्था हेर्दा अत्यन्त प्रतिस्पर्धात्मक हुने यस निर्वाचनको परिणामलाई प्रभाव पार्ने केही नयाँ घटना भएका छन् । जसका कारण अक्टोबर महिना अमेरिकी निर्वाचनका लागि फरक ल्याउन सक्ने किसिमका पनि हुन सक्नेछन् ।

हेलेन आँधीका कारण प्रभावित क्लोरोलिना र जर्जियामा ह्यारिस सहयोग लिएर पुगिन् । ट्रम्पले पनि आरोप लगाउन भ्याइ हाले । आप्रवासीका लागि भएको खर्चका कारण आँधी प्रभावित राज्यमा आवश्यक सहयोग गर्न नसकेको आरोप उनको थियो ।

मध्यपूर्वको अशान्तिले अमेरिकाको निर्वाचनमा अझै प्रभाव पार्न सक्नेछ । मध्यपूर्वको घटना र अमेरिकी धारणामा परिवर्तन आएको छ । गत वर्ष हमासले इजरायलमा आक्रमण गरेपछि अमेरिकाले इजरायललाई सहयोग गरेको थियो । सहयोग गरे पनि आफ्ना नागरिकसमेत बन्दी बनाइएका कारण अमेरिकाले बारम्बार युद्ध विरामको प्रस्ताव राखेको थियो । अमेरिकी प्रस्तावमा कतार र इजिप्ट पनि सहमत भए पनि हमास र इजरायल दुवै टस न मस भए ।

पछिल्लो समय हिजबुल्लाहले इजरायलमा आक्रमण गरेपछि इजरायलको आक्रमण हिजबुल्लाहतर्फ मोडिएको थियो । संयुक्त राष्ट्र संघ र अमेरिकाले इजरायलले नरसंहार गरेको आरोप लगाए पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु टस न मस भए । यसै कारण अमेरिका र इजरायलको दुरी बढिरहेको समयमा इरानले फेरि इजरायलमाथि गरेको आक्रमणले अमेरिका इजरायलकै पक्षमा उभ्याएको छ ।

मध्यपूर्वको यो घटनाले त्यहाँ रहेका इस्लाम र यहुदी मतदातामा पक्कै असर गर्नेछ । अहिले बेरोजगारी दरमा कटौतीको ह्यारिसको मुद्दाले युवालाई गरेको आकर्षणले डेमोक्र्याटमा खुसी छाएको छ । यसको असर कति पर्ने हो हेर्न बाँकी नै छ ।

प्रतिक्रिया