हेटौँडा-काठमाडौँको छोटो दूरीका सबै सडक खुला

हेटौँडा । गतसाता आएको बाढीपहिरोबाट विच्छेद भएको हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीका सबै सडक सञ्जाल आइतबार साँझबाट जोडिएका छन् । बाग्मती प्रदेश राजधानीलाई काठमाडौँसँग जोड्ने छोटो मार्गका रुपमा प्रचलित कुलेखानी–फाखेल–काठमाडौँ र कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ सडकखण्डको मर्मतसँगै यातायात सन्चालन गर्न सकिने भएको छ । आइतबार साँझ बाग्मती प्रदेश भौतिक विकास मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री अमन कुमार मास्केले तत्कालका लागि अस्थायी रुपमा यी सडक सन्चालमा ल्याइएको जानकारी दिए ।

दुवैतर्फ गरी कूल ५ वटा डाइभर्सन बनाएर सडक सन्चालनमा ल्याइए पनि जोखिम भने कायमै रहेको मन्त्री मास्केले बताए । फाखेलतर्फ महालक्ष्मी खोला र सिस्नेरीतर्फ सिस्नेरी, ज्यामिरे र दक्षिणकालीमा डाइभर्सन बनाइएको छ । यस्तै हेभी–सिमखोला जोड्ने खण्डमा पनि डाइभर्सन बनाएर यातायात सन्चालन गर्न सकिने बनाइएको छ । यीमध्ये दक्षिणकालीमा नीजि जग्गामा डाइभर्सन गर्नु परेको मन्त्री मास्केले जानकारी दिए ।

एक साताको बिचमा दुवैतर्फ गरी सानाठुला एक सयभन्दा बढी पहिरो पन्छाइएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । सिस्नेरीतर्फ ६० वटा तथा फाखेलतर्फ करिब ४० वटा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । यस्तै कुलेखानी–भीमफेदी सडकखण्डमा आधा दर्जनबढी ठुला पहिरो पन्छाइएको छ ।

तत्कालका लागि सडक सञ्चालनमा ल्याइए पनि चालकहरुलाई सडकको अवस्था हेरि सजगता अपनाउन मन्त्री मास्केले अनुरोध गरेका छन् । उनले भने, ‘हाललाई अस्थायी रुपमा सडक खोलिएको छ । महालक्ष्मी खोला, हेभी र सिस्नेरीमा आपतकालिन अवस्थाका लागि जेसिबी तयारी अवस्थामा राखिएको छ ।’ चाडबाडको समयमा सवारीको चाप बढी हुने र धेरै ठाउँमा सडक एकतर्फी मात्र भएकाले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।

यसैगरी कान्तिलोकपथलाई पनि फूलपातीसम्म सन्चालनमा ल्याउनका लागि काम भइरहेको छ । कान्तिलोकपथ योजनाप्रमुख रत्नलक्ष्मि बज्राचार्यका अनुसार ललितपुर र मकवानपुर दुवैतर्फ पहिरोले क्षति पु¥याएका केही ठाउँमा एकतर्फी र बाँकी ठाउँमा दुईतर्फी यातायात सन्चालन गर्न सकिने भएको छ । यद्यपि बाग्मती पुलको विकल्पमा तयार गर्न लागिएको डाइभर्सन नसकिएसम्म दुई जिल्लाबिचको यातायात सम्पर्क स्थापित हुने अवस्था रहेको छैन ।

‘बाग्मतीको बहाव कम नभएका कारण डाइभर्सनको कामले गति लिन सकेको छ्रैन’, योजना प्रमुख बज्राचार्यले भनिन्, ‘दिनभरि गरेको काम रातभरि खोलाले बगाएर लैजान्छ । यदि थप पानी परेन र बाग्मतीको बहाव कम भयो भने हामी फूलपाति अघिनै कान्तिलोकपथमा यातायात सन्चालन गर्न सक्छौँ ।’

छवि अनित्य

मकवानपुर

प्रतिक्रिया