काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर गुल्शनकुमार झा नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णली याक्स टिमबाट खेल्ने भएका छन् ।
आगामी मंसिरबाट हुन लागेको पहिलो संस्करणको एनपिएलमा झा कर्णालीमा आबद्ध भएका हुन् । उनलाई गोलाप्रथाबाट कर्णालीले बाजी मारेको हो । गुल्शालाई कर्णलीले रु १५ लाखमा किनेको हो ।
गुल्शन आजको अक्सनमा सबैभन्दा बढी चासोमा थिए । सबै टीम उनलाई भित्र्याउन आतुर थिए । अपेक्षाकृतरुपमा ८ वटै टीमले उच्चतम १५ लाखको बोली लगाए । अन्तिममा गोलाप्रथाबाट कर्णालीले लग्यो ।
गुल्शनलाई प्राप्त गर्दा कर्णाली टीमको खेमामा खुशीयाली छाएको थियो । फ्रेन्चाइजका सदस्यहरुले आपसमा बधाई साटासाट गरेका थिए । गुल्शनले नेपाली राष्ट्रिय टीमबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
नेपालको क्यानडा भ्रमणमा उनले शानदार प्रदर्शन गरेका थिए । १८ वर्षीय गुल्शन झा विष्फोटक ब्याटिङका लागि चिनिन्छन् । उनले थुप्रै म्याचमा नेपाललाई अप्ठेरो स्थितिबाट उकासेका छन् । पछिल्लो समय उनको बलिङ पनि धारिलो हुँदै गएको छ ।
कर्णलीमा अर्का प्रभावशाली खेलाडी सोमपाल कामी यसअघि नै मार्की खेलाडीका रुपमा आबद्ध भइसकेका छन् । त्यस्तै आजकै अक्सनबाट अर्का खेलाडी देव खनाल पनि कर्णलीमै अनुबन्ध भइसकेका छन् ।
मार्की खेलाडीमा कुशल भुर्तेल पोखरा एभेन्जर्स, करण केसी काठमाडौं गुर्खाज, कुशल मल्ल चितवन राइनोज, रोहित पौडेल लुम्बिनी लायन्स, सन्दीप लामिछाने विराटनगर किंग्स, आसिफ सेख जनकपुर रोयल्स, सोमपाल कामी कर्णाली याक्स र दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्स रहेका छन् ।
प्रतिक्रिया