कष्टकर नहोस् बडादसैँ

सम्पादकीय

विपत्तिमा परेकाहरूलाई तत्काल उद्धार गर्न राज्य संयन्त्र चुकेको भन्दै सरकारको आलोचना भइरहेको छ । गृहमन्त्री रमेश लेखकले पनि कतिपय घटनामा राज्य संयन्त्रको कमजोरी रहेको स्वीकारेका छन् भने कतिपय दुर्घटनाको तत्कालीन उद्धार राज्य संयन्त्रमा रहनेहरूको बुताभित्र नभएको बताएका छन् । आवश्यक उपकरण, प्रविधि तथा जनशक्तिको आभावका कारण तत्कालीन उद्धारको काम सोचेजस्तो नभएको नेपाल प्रहरीले यसअघि नै जनाइसकेको थियो । बाढी, पहिरो तथा डुवानजस्ता प्राकृतिक प्रकोपमा तत्कालीन उद्धारका लागि नेपालको भूगोल र मौसम ज्यादै जटिल रहेको यथार्थतालाई ख्याल गरेर मात्रै राज्य संयन्त्रकोे आलोचना गर्नुपर्ने सुझाव पनि कतिपयको छ ।

किनकी डेढ महिनाअघि चितवनको सिमताल पहिरोले बगाएका यात्रु तथा बसको खोजीका लागि भारतीय प्रविधि तथा जनशक्तिसमेत असफल भएको उदाहरण ताजा छ । त्यसैले हाम्रो देशको राज्य संयन्त्रले यस्ता विपत्का बेला तत्काल उद्धार गर्ला भनेर आश गर्नुभन्दा आफँैले पूर्वसतर्कता अपनाउनु बुद्धिमानी हुन्छ । तर, हामी नेपालीहरूमा अनावश्यक जोखिम मोल्ने प्रवृत्तिमा कमी आउन सकेको देखिएन । असोजको दोस्रो साता घनघोर वर्षा हुँदै छ भन्ने सूचना मौसम विज्ञान विभागले समयमै नदिएको होइन ।

पानी परेको बेला र रात्रीको समयमा यात्रा नगर्न सकारले सर्कुलर जारी नगरेको पनि होइन । पृथ्वी राजमार्गमा रातीको समयमा भाडाका सवारी साधन नचलाउन सरकारले उर्दी नै जारी गरेको थियो । मिडियाले यस विषयमा धेरै समाचार बनाएका थिए । तर, हातहातमा सञ्चार सेट (मोबाइल टेलिफोन) भएकाहरूले समेत लापरबाही गरेको देखियो ।

जे नहुनु थियो, त्यो भइसकेको छ । यो घटनाबाट पाठ सिक्दै अब सरकार, नागरिक सबैले उच्च सतर्कता अपनाउनु जरुरी छ । अनावश्यक जोखिम लिनु भनेको मुर्खता हो । भीषण वर्षा थामिएको छ । तर भत्केका सडकहरूको मर्मत भइसकेको छैन । कतिपय ठाउँमा सडक माथिको जमिन चिरा परेको छ, पहिरो खस्नका लागि ठिक्क परेको छ । मौसम विज्ञान विभागले फेरि पनि घटस्थापनाको आसपासमा भीषण वर्षा हुने पूर्वानुमान गरेको छ । गत बिहीबारदेखि शनिबारसम्मको जस्तै वर्षा भयो भने त्यसबाट उत्पन्न हुने बाढी तथा पहिरोको असर दोब्बर हुनसक्छ । किनकी जमिन कमजोर भइसकेको छ । यातायात व्यवसायीहरूले समेत यथास्थितिमा बडादसैँका यात्रुहरूलाई ओसारपसार गर्न कठिनाइ हुने जनाइसकेका छन् । त्यसैले यस वर्षका लागि सबैभन्दा बुद्धिमानी भनेको जो जहाँ छ, त्यहीँ बसेर दसैँ मान्नु हो ।

वर्ष दिनमा एकपटक आउने महान चाड हो दसैँ । त्यसैले दसैँ मनाउन सकेसम्म आफ्नो थातथालेमा जाने चलन छ । त्यसमाथि पनि दसैँको बेला लामो बिदा हुन्छ । अघिपछि घर जानु फुर्सद नहुनेहरूलाई लामो बिदाका कारण पनि दसैँमा घर जान अनुकूल पर्छ । दसैँ नमान्नेहरूले पनि यही बेला घुमघामको कर्यक्रम बनाएका हुन्छन् । बडादसैँका बेला राजधानी काठमाडौँबाट करिब ३० लाख यात्रु बाहिरिने गरेको विगतको तथ्यांक छ । बाढीपहिरोले नराम्ररी क्षति पु¥याएको बिपी राजमार्ग फूलपातीसम्म पनि सूचारु हुने संभावना छैन । बिपी राजमार्ग सूचारु नहुँदा दसैँमा घर जाने यात्रुको चाप पृथ्वीराजमार्गले धान्ने संभावना न्यून छ ।

त्यसैले सरकारले पनि नागरिकलाई सचेत बनाउनु जरुरी छ । जो जहाँ छ, त्यही बसेर यसपटकको दसैँ मान्नका लागि सरकारी स्तरबाट पनि जनतालाई सुसूचित गराउनु जरुरी छ । त्यसैगरी राजधानी काठमाडौँ उपत्यकाको दसैँ बजार विगत वर्षहरूको जस्तो सहज हुने छैन भन्ने यथार्थतालाई पनि सरकारले ध्यान दिनु जरुरी छ । गत वर्ष ३० लाख यात्रु बाहिरिएकोमा यस वर्ष १० लाख भन्दा बढी यात्रु बाहिरिन नसक्ने स्पष्ट देखिएको छ । त्यसैले यस वर्षको दसैँका बेला राजधानी काठमाडौँ उपत्यकामा फलफूल तथा माछा मासुको अभाव हुन सक्छ । मागअनुसार आपूर्र्ति हुन सकेन भने कालोबजारी सुरु हुन्छ, मूल्यवृद्धि हुन्छ ।

यस अघिका दसैँमा राजधानी काठमाडौँ उपत्यकामा करिब ७० हजार खसी–बोका खपत हुने गरेको सरकारी तथ्यांक छ । यस वर्षको दसैँमा खसी–बोकाको माग दोब्बर हुन सक्छ । यस वर्ष दोलखा, रामेछाप, सिन्धुली, खोटाङ, ओखलढुंगा लगायतका जिल्लाबाट काठमाडौँमा विगतको जस्तै खसी–बोका आपूर्र्ति हुने संभावना न्यून छ । त्यसैले खसी–बोका आपूर्तिको व्यवस्थाका लागि सरकारले ध्यान दिनुपर्छ ।

प्रतिक्रिया