काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बर्खास्त गरेका राष्ट्रिय खेलकुद परिषद्का २ जना बोर्ड सदस्य प्रकाश कुसारी र अञ्जन धमला अदालतको आदेशपछि फिर्ता भए । यसले नेपाली खेलकुदमा नयाँ तरंग ल्याएको छ ।
विगतको परम्परा हेर्दा सदस्यभन्दा पहिले कार्यकारी प्रमुखलाई हटाउने चलन थियो । यसपटक तेजुलालले चालेको यो कदमले धेरैलाई आश्चर्यमा पारेको छ । अहिले राष्ट्रिय खेलकुद परिषद््मा उपाध्यक्ष पद खाली छ । निवर्तमान उपाध्यक्ष शिव कोइराला ज्वालाको स्थान रिक्त छ । घटनाक्रमले तेजुलाल एउटा नयाँ शक्ति संयन्त्रको मोर्चाबन्दीमा परेको गाइँगुइँलाई केही हदसम्म पुष्टि गरेको छ ।
नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा, सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष ध्रुवबहादुर प्रधान र नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्र श्रेष्ठबीचमा खेलकुद सत्ता पूर्ण रूपमा कब्जा गर्ने नयाँ रणनीति बनेको समाचार स्रोत बताउँछ ।
यसै रणनीतिअन्तर्गत टंकलाललाई यथावत राख्न त्यो समूहले प्रयासले गरेको छ । परन्तु टंकलालको कार्यकालमा गलत क्रियाकलाप खेलकुद क्षेत्रबाट छिपेको छैन । उनकै आर्थिक मोहका कारण कीर्तिपुरमा फ्लडलाइटको काम अघि नबढेको जनाइएको छ ।
समस्या यतिमा मात्रै सीमित छैन, टंकलाल घिसिङकै कार्यकालमा वरीयता क्रमलाई बेवास्ता गरिएको छ । युवराज लामाले करातेको मुख्य प्रशिक्षकमा वरिष्ठ रहेका दीपक श्रेष्ठलाई बेवास्ता गर्दै नारायणदेव राणालाई सिफारिस गरेपछि घिसिङ पनि राणाको पक्षमा थिए । श्रेष्ठले पनि आफ्नो सम्पूर्ण पहुँच प्रयोग गरेपछि ७ महिनाको अन्तरालमा श्रेष्ठलाई मुख्य प्रशिक्षक बनाइएको हो ।
यसैगरी, दोस्रो तहका धेरै अधिकृतलाई बेवास्ता गर्दै तेस्रो तहका दीपक विष्टलाई राष्ट्रिय टिम तयारी समितिको निर्देशक बनाउने काम पनि घिसिङले नै गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद्को निर्देशकमा संगीना वैद्यलाई बेवास्ता गर्दै सोभित प्रसाईंलाई नियुक्त गरेपछि अर्को समस्या निम्तिएको छ ।
त्यसो त गत एसियाली खेलकुदको पोसाक खरिदबिक्रीमा पनि सुरुमा देखाइएको स्याम्पल र खेलाडीलाई दिइएको कपडाबारे छानबिन गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ । एसियाली खेलकुदको समयमा आफ्नो खेल छाडेर अन्य खेलका व्यक्तिलाई म्यानेजर बनाउने काममा पनि घिसिङ संलग्न थिए । यसका बाबजुद घिसिङलाई आफ्नो पदमा यथावत राख्ने मन्त्री चौधरीको नियत भने आश्चर्यजनक नै छ ।
यस गठबन्धनमा अन्य धेरैको भूमिका रहेको जनाइएको छ । संगीनालाई रोकेर सोभितलाई नियुक्त गर्नु राजनीतिक कारण मात्र नभएर तेक्वान्दो खेलको कुनै समूहले उनको लोकप्रियता नरुचाएको र सोभितको पक्षमा उभिएको पनि हुन सक्ने अर्को चर्चा खेलकुदमा चलेको छ । एसियाली च्याम्पियनसिपमा स्वर्ण विजेताका रूपमा कीर्तिमान कायम गरेकी संगीनालाई प्रशिक्षक र खेलाडीकै रूपमा नेपालको शीर्ष र सफल खेल व्यक्तिका रूपमा हेर्नेहरूको ठुलो जमात छ । परिषद्को यो निर्णयमा असहमति जनाउनु अघिसम्म उनी तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशक थिइन् ।
टंकलालको यही गतिविधिविरुद्ध कुनै समय उनकै सचिवालयमा रहेका गंगालाल गोलेले सामाजिक सञ्जालमार्फत् आक्रामक रूपमा आवाज उठाएपछि सञ्जालमा नै एउटा गिरोहले रिपोर्ट गरेपछि फेसबुकबाट हटेको थियो । सो स्ट्याटसमा घिसिङले सही काम नगरे पनि भ्रम छरेको आरोप लगाइएको थियो ।
कुनै पनि सत्ता परिवर्तन हुँदा त्यो सत्तासँग असहमत हुनेले स्वतः राजीनामा दिने प्रचलन भए पनि टंकललाले यसलाई बेवास्ता गरेका छन् । घिसिङले माओवादी केन्द्रको तर्फबाट राजनीतिक नियुक्तिका रूपमा सदस्यसचिवको जिम्मेवारी पाएका हुन् । राजनीतिक रूपमा अहिले नेपाली कांग्रेस र माओवादी २ फरक खेमामा छन् ।
प्रतिक्रिया