दसैँअघि सिस्नेरी सडक नखुल्ने !

हेटौँडा । चाडबाडको मुखैमा बाढीपहिरोबाट क्षतिग्रस्त बनेका छोटो दुरीका सडकहरू सञ्चालन गरेर बागमती प्रदेशको राजधानीलाई संघीय राजधानीसँग जोड्न प्रयास भइरहेको सम्बन्धित निकायहरूले जनाएका छन् । यद्यपि अझै केही दिन वर्षाको सम्भावना रहेको र थप पहिरो जान सक्ने भएकाले अपेक्षा गरेअनुरूप तत्कालै वैकल्पिक मार्गहरू खुलाउन समस्या देखिएको छ ।

बागमती प्रदेशभित्र प्राकृतिक कारणबाट भएका अवरोध तत्काल हटाउनका लागि प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले गठन गरेको द्रुत प्रतिकार्य टोलीले काम निरन्तर भइरहे पनि सोचेभन्दा ठुलो क्षति भएका कारण अपेक्षा गरेअनुसार प्रगति नदेखिएको जनाएको छ । मन्त्रालयले गत साउन १६ गते प्रदेशभित्रका सडकसञ्जालमा हुने अवरोध तत्काल हटाउनका लागि भन्दै यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाका निर्देशक पुष्करप्रसाद पोखरेलको संयोजकत्वमा द्रुत प्रतिकार्य टोली गठन गरेको थियो । टोलीले प्राकृतिक कारणबाट भएका अवरोधको तत्काल पहिचान गरी त्यसबारे सूचना सम्प्रेषण गर्ने र वैकल्पिक मार्गहरूको पहिचान गरी सोबारे सडक प्रयोगकर्तालाई जानकारी गराउने बताइएको थियो ।

टोलीका संयोजक पोखरेलका अनुसार टोलीले तत्कालै काम सुरु गरे पनि दिनहुँजसो अवरोध थपिँदै गएका कारण सडक अवरोध हट्न सकेको छैन । भीमफेदी–कुलेखानी सडकमा सोमबार राती पनि पहिरो खसेपछि भीमफेदी हुँदै अघि बढेको टोलीलाई कुलेखानीसम्म पुग्न अझै केही दिन लाग्ने भएको छ । काठमाडौँ तर्फबाट महालक्ष्मी खोला हुँदै अघि बढेको टोलीले घटस्थापनाका दिनसम्म फाखेल–कुलेखानी सडक सुचारु गराउने पहल भइरहेको पोखरेलले जानकारी दिए । कुलेखानी–सिस्नेरी–दक्षिणकाली खण्डको यातायात सञ्चालन गर्न भने दसैँअघि सम्भावना कम रहेको छ ।

उता पछिल्लो समय चल्तीको रुटका रूपमा रहेको कान्तिलोकपथमा पनि बागमती पुलमा क्षति पुगेपछि यातायात अवरुद्ध छ । कान्तिलोकपथ योजना प्रमुख रत्नलक्ष्मी बज्राचार्यले दिएको जानकारीअनुसार मंगलबारदेखि हेटौँडादेखि बागमतीसम्म एकतर्फी यातायात सञ्चालनमा छ । यस्तै, उपत्यकातर्फबाट टीकाभैरव–तीनपाने भन्ज्याङ हुँदै छपेलीसम्मको बाटो एकतर्फी यातायात सञ्चालन हुनसक्ने गरी पहिरो पन्छाउने कार्य मंगलबार साँझसम्म जारी छ । टीकाभैरबदेखि तीनपाने भन्ज्याङसम्म र छपेलीदेखि नयाँगाउँसम्म पहिरो पन्छाउने कार्य भइसकेको बज्राचार्यले जानकारी दिइन् । बज्राचार्यका अनुसार मकवानपुर र ललितपुरको सिमानामा पर्ने बाग्मती पुलमा भएको क्षतिका कारण सवारीसाधन तत्कालै पार गर्न सक्ने अवस्था रहेको छैन । साथै बागमती पुलदेखि छपेली खण्ड पन्छाउन अझै केहीदिन लाग्ने भएको छ ।

तत्कालका लागि हेटौँडा–काठमाडौँ जोड्ने त्रिभुवन राजपथ सञ्चालनमा रहेको छ । यस्तै वैकल्पिक मार्गका रूपमा थानकोट–चन्द्रागिरी–पालुङ हुँदै हेटौँडासम्म साना सवारीसाधन चलिरहेका छन् । यसैबीच पहिरोका कारण ४ दिनदेखि सिस्नेरी खण्डमा थुनिएका यात्रुहरू सवारीसाधन छोडेर पैदलै सुरक्षित स्थानतर्फ लागेका छन् । अधिकांश यात्री छैमले हुँदै काठमाडौँतर्फ लागेको सिस्नेरी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार करिब १०० निजी तथा भाडाका सवारीसाधन सिस्नेरीमै थुनिएका छन् । पहिरोले कम्तिमा ४ वटा सवारीसाधन पुरिएको अवस्थामा रहेको न्यौपानेले जानकारी दिए ।

छवि अनित्य

मकवानपुर

प्रतिक्रिया