विपद्पछि महामारीको त्रास

ललितपुरः १२ असोजः दुई दिनको अविरल वर्षाका कारण ललितपुर महानगरपालिकाको नख्खु दोभानस्थित बागमती करिडोर क्षेत्रमा जलमग्न अवस्था । तस्बिरः हरि परियार÷रासस

काठमाडौँ । लगातार ३ दिनको अविरल वर्षाका कारण सिंगो देश नै भयानक विपत्तिको चपेटामा परेको छ । के गाउँ, के सहर सबैतिर ज्यान जोगाउने चिन्ता छ । बाढीपहिरो र डुबानमा ज्यान गुमाएकाहरूलाई महामारीजन्य रोगले सताउने चिन्ता पनि थपिएको छ ।

प्राकृतिक विपद्का बेला महामारीजन्य रोगहरू निम्तिन सक्ने भन्दै विज्ञले सचेत गराएका छन् । अविरल वर्षाका कारण प्राकृतिक विपत्ति निम्तिएकोउन्दै उनीहरूले यस्तो अवस्थामा विभिन्न रोग निम्तन सक्नेतर्फ सचेत गराएका हुन् उनीहरूले बाढीपहिरोका कारण पानीका मुहान प्रदूषित हुने र पानी तथा किटजन्य रोग बढ्ने सम्भावना रहेको बताए ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पानीजन्य रोगहरू (जस्तै झाडापखाला, हैजा आदि) तथा किटजन्य रोग (जस्तै डेंगी, मलेरिया आदि) को संक्रमण बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरे । उनले भने, ‘मुख्यतः पानीजन्य रोगहरू झाडापखाला, हैजाको जोखिम बढेको छ । हैजा अहिले पनि पूर्ण रूपले हटिसकेको अवस्था छैन ।’ उनले मनसुनको समयमा किटजन्य रोगको जोखिम बढी हुने बताए ।

बाढी र पहिरोले संक्रमण बनाउन सक्ने फोहोर बगाएर ल्याउने र ठाउँ–ठाउँमा पानी जम्ने हुनाले डेंगी, मलेरिया जस्ता रोगको जोखिम बढ्न सक्ने उनको भनाइ छ । ‘स्क्रब टाइफसको समस्या पनि छ । समयमै उद्धार नपाएकाहरूलाई बाहिर बस्नुपर्ने हुन सक्छ, रुघाखोकी सर्न सक्ने सम्भावना छ,’ उनले भने ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उद्धार गरिएका घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै उद्धार गरिएकालाई स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा र जनशक्तिलाई २४सै घन्टा उपलब्ध हुने गरी व्यवस्था मिलाउन आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले उद्धार गरिएका घाइतेको स्वास्थ्य संस्थाहरूले निःशुल्क उपचार गर्ने र उपचारको रेकर्ड राखेर पछि सोधभर्ना गरिने व्यवस्था गरेको बताए ।

मन्त्रालयले सबै प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले आपतकालीन अवस्थामा स्वास्थ्यसम्बन्धी समस्याबारे जानकारी प्रदान गर्नका लागि हटलाइन नम्बर सार्वजनिक गर्न, प्रदेश, जिल्ला र स्थानीय तहका द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्न, प्रादेशिक स्वास्थ्य आपतकालीन केन्द्रहरूले हब तथा स्याटेलाइट अस्पतालसँग समन्वय गरी आकस्मिक चिकित्सिकीय समूहलाई तयारी अवस्था राख्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया