स्याउखेतिका लागि उत्कृष्ठ मानिएको हाम्रो देश नेपालमा आहिले पनि बार्षिक करिव १० अर्ब रुपैंया बराबरको स्याउ आयत हुन्छ । उत्पादनबृद्धिका लागि सरकारले विशेष अभियान सुरु गरेकै डेढ दशक नाघेको छ । कर्णालीको जुम्लामा सडक संजाल पुगेदेखी नै सरकारले स्याउ उत्पादन वृद्धिको विशेष अभियान सुरु गरेको हो । तर विगत १० वर्षको तथ्यांक हेर्ने हो भने उत्पादनमा अपेक्षित प्रगति हुन सकेको छैन । उचित मुल्य पाउन नसकेकै कारण किसान उत्साहित छैनन् । किसान उत्साहित नभएसम्म उत्पादनवृद्धिले गतिलिन नसक्ने निश्चित छ ।
यो मामिलामा मुख्य खाँचो उपभोक्ताको चेतना वृद्धि र युवाहरुको मानसिकता परिवर्तनको खाँचो रहेको तीतो अनुभव युवा नेता चन्द्र भण्डारीको छ । उनले भनेका छन्–‘हामीले एक महिना अघिदेखि समाजिक संजाल मार्फत ‘स्याउ, नेपाली नै खाउँ’ भन्ने अभियान चलाई रहेका छौं । यो ठुलो सडक निर्माणको सानो गोरेटोको सुरुवात हो , तर सामाजिक सञ्जालमा विभिन्न विषयमा प्रतिक्रिया जनाउनेहरू यस्ता महत्वपूर्ण विषयमा चाहिँ किन मौन ? कसैलाई मुख लागी हाल्नु भन्दा पहिले आफ्नो कर्तब्य त निभाउ ,शब्दका वणमा मात्र मुर्ख नबनौं ।’
कुनै ब्याक्तिको बारेमा कुरा राख्दा पक्ष र विपक्षमा तरंग उठ्दै सामाजिक सन्जालमा भाइरल हुने , तर सानो प्रयास गर्दा देशका लागि निकै नै ठूलो योगदान हुने कुरा उठ्दा वास्तै नगर्ने डरलाग्दो मानसिकता परिवर्तन हुनु जरुरी छ ।
अन्य फलफूल उत्पादन गर्ने नेपाली किसानका तुलनामा स्याउ उत्पादन गर्ने किसानलाई थोरै भए पनि भाग्यमानी मान्नु पर्छ । किनकी तिज, बडा दशैं , तिहार, छठ जस्ता ठूला चाड पर्वको सिजन र स्याउ पाक्ने सिजन सँग सँगै पर्छ ।
नेपालमा वर्षभरीमा जति स्याउ खपत हुन्छ त्यसको करिव ४० प्रतिशत स्याउको खपत तिजदेखि छठ पर्वको अवधी भित्र हुन्छ । नेपालका स्याउ उत्पादक किसानका लागि यो ठूलो अवशर हुनु पर्ने थियो, तर सरकारको अदूरदर्शी नीतिका कारण स्याउ किसानले अपेक्षित लाभ पाउन सकेका छैनन् । पहिलो कुरा त यही बेला विदेशी स्याउ पनि सस्तो मुल्यमा निकै ठूलो परिमाणमा आयत गरिन्छ । दोस्रो कुरा लामो समयसम्म स्याउ भण्डारणका लागि आवश्यक कोल्ड स्टोरहरु किसानको पहुँचमा छैनन् ।
संघीय सरकारको तथ्यांक अनुसार नेपालमा स्याउको बार्षिक खपत करिव ९० हजार मेट्रिक टन छ । यसमध्ये ४५ हजार मेट्रिकटन स्वदेशमा उत्पादन हुन्छ । यो तथ्यांक हेर्दा स्वदेशी स्याउले राम्रो बजार पाउनु पर्ने देखिन्छ । तर जुन बेला स्वदेशमा उत्पादन हुन्छ , त्यही बेला विदेशबाट पनि ठूलो परिमाणमा स्यउ आयत हुन्छ । उदाहरणका लागि गत साउन र भदौ महिनामा मात्र भारतबाट २३ करोड ९ लाख ६१ हजार, चीनबाट १ अर्ब १५ करोड २८ लाख १८ हजार र भुटानबाट २५ हजार रुपैयाँको स्याउ आयात भएको छ । दशैं र तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै आयत गरिएको विदेशी स्याउले नेपालको बजार भरिएको छ ।
स्वदेशी उत्पादनले माग धान्न नसकेका कारण विदेशी स्याउ आयत रोक्न नसकिएको सरकारको भनाई छ । अर्कातिर विदेशी स्याउले बजार ओगटेका कारण आफ्नो उत्पादनले मुल्य पाउन र बजार पाउन समस्या भएको किसानको भनाई छ । सरसरर्ती हेर्दा यी दुवै भनाई ठिकै लाग्छन् । तर आयतलाई कडाई नगरिएसम्म स्वदेशी उत्पादन बृद्धि सहज हुँदैन ।
स्याउ उत्पादनका लागि नेपालको हावापानी तथा माटो निकै अनुकुल रहेका कारण भन्सार तिरेर आयत हुने विदेशी स्याउ सँग नेपालका किसानले प्रतिपस्र्धा गर्न सक्ने संभावना पनि प्रसस्त छ । यो मामिलामा सरकार र उपभोक्ता थोरै सचेत हुने हो भने धेरै कुरा गर्न सकिन्छ । पहिलो कुरा ,स्वदेशमै स्याउ पाक्ने सिजन भरी विदेशी स्याउ आयतमा भन्सार वृद्धि गर्नु पर्छ । दास्रो कुरा उपभोक्ताहरुले सकेसम्म स्वदेशी स्याउ खरिद गर्ने हो भने आयत स्वतः निरुत्साहित हुन्छ । विदेशी स्याउ भन्दा स्वदेशी स्याउ स्वास्थ्य वर्धक छ भन्ने यथार्थतालाई सरकारी स्तरमै व्यापक प्रचार प्रचार गर्नु जरुरी छ ।
प्रतिक्रिया