आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई सरकारले गिरफ्तार गर्ने योजना बनाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता तथा शुभेच्छुकहरू आन्दोलित भएका छन् । गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशी आइतबार पक्राउ परे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीले चीन भ्रमणमा रहेका आफ्ना नेता तथा सांसदहरूलाई तत्काल स्वदेश फिर्ता आउन निर्देशन दिएको थियो । यसैगरी आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जम्मा भई राप्रपाका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले सरकारविरुद्ध नारा लगाएका थिए । सभापति लामिछानेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको हल्ला चलेपछि राति अबेरसम्म केन्द्रीय कार्यालयमा शुभेच्छुकहरूको ठूलो भिड लागेको थियो ।
यो हल्ला निराधर रहेको गृहमन्त्री रमेश लेखकले स्पष्टीकरण दिँदासमेत धेरैले पत्याएका थिएनन् । राती १० बजेतिर रास्वपा अध्यक्ष लामिछानेले आफूमाथि षड्यन्त्र भए पनि पक्राउ पुर्जी भने आफूले नपाएको भन्दै संक्षिप्त संवोधन गरेपछि भिड तितरवितर भएको थियो । कार्यालयमा तैनाथ प्रहरी भिड तितरवितर भएपछि फर्केका थिए भने राति करिब सभा १० बजेतिर सभापति लामिछाने पनि फर्केका थिए । आइतबार राति पार्टी केन्द्रीय कार्यालयमा भएको तनाव थाह पाएपछि रास्वपाका जिल्लास्तरीय कार्यकर्ताहरूसमेत धमाधम काठमाडौँतर्फ रमाना भएको समाचार मिडियाहरूमा आएका छन् । यता गण्डकी प्रदेशको राजधानी पोखरामा पनि सोमबार रास्वपाका कार्यकर्ताहरूले नारा जुलससहित विरोध प्रदर्शन गरेका छन् । सूर्यदर्शन सहकारी तथा गोर्खा मिडिया नेटवर्कका अभियुक्त छविलाल जोशीलाई काठमाडौँमा पक्राउ गरी आइतबार पोखरा लगिएको थियो ।
सरकारले सभापति लामिछानेलाई पक्राउ गर्ने तयारी गरेकै कारण रास्वपा आन्दोलित भएको हो या, छवी जोशीलाई पक्राउ गरिएका कारण आन्दोलित भएको हो ? भन्ने स्पष्ट हुन सकेको छैन । संसदीय छानविन समितिले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई, तत्कालीन महाप्रबन्धक रवि लामिछाने, सञ्चालकद्वय छवी जोशी र कुमार रम्तेलमाथि कारबाहीको सिफारिस गरेको कुरा रास्वपालाई राम्रैसँग थाहा छ । किनकी रास्वपाका सांसद शिशिर खनालसमेत सहभागी रहेको छानविन समितिले सर्वसम्मत प्रतिवेदन तयार गरेको हो । प्रतिवेदनमा सांसद खनालको पनि हस्ताक्षर छ, उनले नोट अफ डिसेन्ट लेखेका छैनन् । तर प्रतिवेदनमा औँल्याइएको दोष भने जिबी, छवी र रम्तेलको भन्दा लामिछानेको पृथक छ । जिबी, छवी र रम्तेल सहकारी ठगीमा समेत संलग्न रहेको प्रमाण छानविन समितिले फेला पारेको छ भने लामिछानेले सहकारीबाट ऋण नलिएको प्रतिवेदनमै उल्लेख छ । त्यसैले छवीको गिरफ्तारीपछि रविको पालो आउँछ भन्ने भन्ने कुरा केवल अनुमान मात्रै पनि हुन सक्छ । अनुमानका आधारमा विरोध प्रदर्शन गर्दा नाफा घाटा के हुन्छ ? स्वयं रास्वपाले जान्ने कुरा हो ।
रास्वपा अध्यक्ष लामिछाने भाग्ने संभावना छैन ।
सरकारको नियन्त्रणमा पुगिसकेको र सार्वजनिकसमेत भइसकेको छनविन समितिको प्रतिवेदनलाई लामिछानेले तलमाथि गर्न सक्ने अवस्था पनि छैन । उनले गोर्खा मिडिया नेटवर्कका आफ्ना पूर्वसहकर्मीहरू विरुद्धको छानविन प्रभावित बनाउँछन् कि, भन्ने आशंका गर्ने ठाउँ पनि छैन, किनकी उनी अहिले सरकारी पदमा छैनन् । छानविन समितिको प्रतिवेदनमा उल्लेख भएअनुसार उनले जघन्य अपराध गरेको पुष्टि पनि भएको छैन । उनको गल्ती भनेको सहकारीमार्फत गैरकानुनी रूपमा लिएको ऋणबाट सञ्चालित गोर्खा मिडिया नेटवर्कमा जागिर खानु हो, त्यो कम्पनीले प्रदान गरेको १५ प्रतिशत ‘स्विट सेयर’ स्वीकार गर्नु हो । आफूबाट अन्जानमा यस्तो गल्ती हुन पुगेको लामिछानेले स्वीकार गरिसकेका छन् । कुनै कम्पनीमा जागिर खान जानेले त्यो कम्पनीको पुँजी कसरी जुटाइएको हो ? भनेर जानकारी लिने चलन छैन । थप छानबिनका लागि सहयोग गर्छु भनिरहेकै छन् । त्यसैले उनलाई किन गर्नुप¥यो गिरफ्तार ? त्यसमाथि पनि देशमा लोकतान्त्रिक शासन व्यवस्था छ, कानुनी राज छ । कानुनी राजमा यस्ता प्रकृतिका मुद्दाहरूको छिनोफानो सरकारले गर्ने होइन अदालतले हो । बरु यो प्रकरणलाई जतिसक्दो छिटो अदालतमा लैजानेतर्फ सरकार लाग्नुपर्छ । रास्वपा पनि अहिले नै आन्दोलनमा उत्रिइहाल्नु जरुरी छैन ।
प्रतिक्रिया