श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति दिसानायकालाई अमेरिका, चीन र भारतले दिए बधाई

नयाँ दिल्ली । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकालाई अमेरिका, चीन र भारतलगायतका मुलुकले बधाई तथा शुभकामना दिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति दिसानायकालाई बधाई तथा शुभकामना व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समार्फत दिएको सन्देशमा भनिएको छ,’ अनुरा कुमारा दिसानायका, श्रीलंकाको राष्ट्रपति चुनावमा तपाईंको विजयका लागि बधाई।’

‘भारतको छिमेक प्रथम नीति र भिजन सागरमा श्रीलंकाको विशेष स्थान छ, हाम्रा जनता र सम्पूर्ण क्षेत्रको हितका लागि हाम्रो बहुआयामिक सहयोगलाई थप मजबुत बनाउन म तपाईंसँग नजिकबाट काम गर्न उत्सुक छु,’ उनले एक्समा लेखेका छन् । त्यसैगरी, चिनिया समाचार संस्था सिन्ह्वाका अनुसार दिसानायकाको विजयप्रति चीनका राष्ट्रपति सी चिनफिङले पनि खुशी व्यक्त गरेका छन् ।

उनले ६७ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै चीन र श्रीलंकाले एक अर्कालाई सधैँ बुझेको र समर्थन गर्दै विभिन्न आकारका देशहरूबीच मैत्रीपूर्ण सहअस्तित्व र पारस्परिक लाभकारी सहयोगको राम्रो उदाहरण प्रस्तुत गरेको उल्लेख गर्नुभएको छ । राष्ट्रपति सीले चीन र श्रीलंकालाई परम्परागत मित्रवत छिमेकीका रूपमा प्रशंसा गरेका छन् ।

राष्ट्रपति सीले चीन र श्रीलंका सम्बन्धको विकासलाई आफूले सम्मान गर्ने र परम्परागत मित्रतालाई अगाडि बढाउन र राजनीतिक पारस्परिक विश्वास अभिवृद्धि गर्न राष्ट्रपति दिसानायकेसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।अमेरिकाले पनि श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति दिसानायकालाई राष्ट्रपति निर्वाचित भएकोमा शुभकामना व्यक्त गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले आइतबार एक वक्तव्य जारी गर्दै निर्वाचनलाई श्रीलंकाको लोकतान्त्रिक संस्थाहरूको शक्तिको प्रमाणको संज्ञा दिँदै श्रीलंकाले स्थिर, समृद्ध र एकताबद्ध समाज निर्माण गर्ने भएकाले यसलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वक्तव्यमा भनिएको छ, ‘संयुक्त राज्य अमेरिका श्रीलंकालाई सहयोग गर्न प्रतिबद्ध छ, श्रीलंकाले एक स्थिर, समृद्ध र एकताबद्ध समाजको निर्माण गरेको छ, साझा लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय सार्वभौमिकताको सम्मानमा आधारित द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन नवनिर्वाचित राष्ट्रपतिसँग मिलेर काम गर्न हामी आतुर छौँ, साथै हामी आर्थिक वृद्धि, सुरक्षा र हाम्रा राष्ट्रहरूबीच गहिरो सहयोग लाई बढावा दिन पनि तत्पर छौँ ।’– रासस, एएनआई

प्रतिक्रिया