कोलम्बो । श्रीलंकाको नयाँ राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको निर्वाचन आयोगले राष्ट्रपतिमा दिसानायके विजयी भएको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतगणनाबाट वामपन्थी दल जनता विमुक्ति पेरामुना (जेभिपी) का नेता अनुरा राष्ट्रपतिमा निर्वाचित भएका हुन् । अनुराले ५७ लाख ४० हजार १७९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी प्रेमदासाले ४५ लाख ३० हजार ९०२ मत प्राप्त गरे । श्रीलंकाको राष्ट्रपतीय निर्वाचनको इतिहासमा दोस्रो चरणको मतगणना भएको यो पहिलो पटक हो ।
चुनाव आयोगले अनुरा र सजीथ प्रेमदासाबाहेक अरू सबै उम्मेदवार चुनावी दौडबाट बाहिरिएको जनाएको थियो । बहालवाला राष्ट्रपति रानिल बिक्रमसिंघे पनि पहिलो चरणबाटै बाहिरिएका थिए । उनी तेस्रो भएका छन् ।
चुनावी अभियाका क्रममा अनुराले मतदातामाझ भ्रष्टाचारविरूद्ध कडा कदम उठाउने प्रतिबद्धता जनाएका थिए । उनले सोमबार राष्ट्रपति पदको शपथ लिनेछन् । श्रीलंका सरकारले सोमबार देशमा ‘विशेष बिदा’ को घोषणा गरेको छ । त्यहाँको सामान्य प्रशासन एवं गृह मन्त्रालयले सोमबार सार्वजनिक बिदा दिने घोषणा गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सन् २०२२ मा भएको आन्दोलनका कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छाडेपछि श्रीलंकामा शनिबार पहिलो पटक राष्ट्रपति निर्वाचन भएको थियो । यस निर्वाचनले केही वर्षदेखि तनावबीच गुज्रिएको श्रीलंकाले सत्ताको बागडोर कम्युनिस्ट नेतालाई दिएको हो । श्रीलंकामा राष्ट्रपतिको कार्यकाल ५ वर्षको हुने र बढीमा २ कार्यकाल राष्ट्रपति बन्न पाउने व्यवस्था छ । सन् २०१९ को चुनावमा ३ प्रतिशत मत ल्याएर तेस्रो भएका दिसानायके यस पटक भने राष्ट्रपति बन्न सफल भएका हुन् ।
राष्ट्रपतिमा विजयी दिसानायके कोलम्बो जिल्लाका सांसद हुन् । चुनावी सभामा उनले महत्वपूर्ण सुधारको बाचा गरेका थिए । उनले चुनावका क्रममा भ्रष्टाचार विरोधी उपाय र गरिबको भलाइमा ध्यान दिने बताएका थिए । आफ्नो चुनाव प्रचारका क्रममा उनले नयाँ जनादेश हासिल गर्न ४५ दिनभित्र संसद् भंग गर्ने बाचा गरेका थिए । उनको नीतिले उनलाई श्रीलंकाको राजनीतिमा एक प्रमुख नेताका रूपमा स्थापित गरेको छ । उनले आफूलाई समाजका कमजोर वर्गको अधिकारको रक्षा र विकासप्रति प्रतिबद्ध नेताका रूपमा चिनाएका छन् । दिसानायकेको जितले श्रीलंकाको राजनीतिक परिदृश्यमा एक नयाँ आशा सञ्चार गराएको छ । खासगरी देश आर्थिक संकटमा जुधिरहेका बेला दिसानायकको उदयले जनतामा पनि विश्वासको वातावरण बनाएको छ ।
माक्र्सवादी पृष्ठभूमि र उनको चीनप्रतिको झुकावले भारत र अमेरिकालाई भने चिन्तित बनाएको छ । तर, दिसानायकेले आफू सबै प्रमुख शक्तिसँग सम्बन्ध बलियो बनाउने पक्षमा रहेको बताएका छन् । जसमा छिमेकी भारत र चीन पनि छन् । उनको यस जितले केवल श्रीलंकाको राजनीतिक दिशामा परिवर्तन मात्रै ल्याउने छैन, देशको आर्थिक पुनरुद्धारका लागि एक महत्वपूर्ण कदम सावित हुन सक्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया