अरब अमेरिकनमा थपिएको निराशाले अनपेक्षित नतिजाको सम्भावना

अमेरिकी चुनाव : आप्रवासी मुद्दामा मुख्य चासो

काठमाडौँ । अमेरिकाका केही विशेषता छन् । यो संसारको सबैभन्दा शक्तिशाली देश हो । अर्को विशेषता भनेको संसारका धेरै देश र भूगोलको राजनीतिमा अमेरिकी चासो पनि छ । तेस्रो विशेषता हो, इतिहासको कालखण्डमा धेरै वर्षपछि स्थापित यो देशमा स्वाभाविक रूपमा आप्रवासीको प्रभाव छ । आप्रवासीको मुद्दा त्यहाँको निर्वाचनमा चासोको विषय बन्नेछ ।

अहिले अमेरिकाको नागरिकता लिएका तथा अमेरिकामा बसोबास गरेका धेरैका आफन्त अन्यत्र कतै छन् । त्यसो त राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पका आफ्ना धेरै दाजुभाइ पर्नेहरू जर्मनीमा छन् भने अर्की उम्मेदवार कमला ह्यारिसका धेरै आफन्त जमैका र भारतमा छन् ।

अहिले इजरायलले गाजामा गरेको आक्रमण बढ्दै गएर लेबनानसम्म पुगेको छ । लेबनानमा पेजर वाकीटकी विस्फोट भइसकेको छ । यसले अमेरिकी निर्वाचनमा पक्कै प्रभाव पार्नेछ । एक दिन डोनाल्ड ट्रम्पले अमेरिकी इजरायल सोसाइटीमा गएर यहुदीहरूको साथ आफूलाई आवश्यक रहेको बताएका थिए । उनले आफू निर्वाचनमा पराजित भए यो इजरायलका समर्थकहरूको हार हुने पनि बताए । विगतदेखि नै यहुदीहरूको धेरै मत डेमोक्र्याटको पक्षमा रहँदै आएको छ । यसका बाबजुद इजरायलको यो आक्रमणको असर ५ नोभेम्बरमा अमेरिकामा हुने राष्ट्रपति चुनावमा पनि पक्कै पर्नेछ ।

मिचिगनमा रहेका धेरै अरब अमेरिकीहरूले ह्यारिसमाथि आक्रोश पनि पोखेका छन् । अमेरिकामा पुख्र्यौली थलो अरब हुनेहरूको सबैभन्दा बाक्लो उपस्थिति रहेको डियरबर्नमा राष्ट्रपति जो बाइडेनको अरब नीतिको आलोचना हुन थालेको छ । मिचिगन अत्यन्त मत स्विङ हुने राज्य हो । डियरबर्न त्यही राज्यमा पर्छ । सन् २०२० को निर्वाचनमा मिचिगनमा बाइडेनले ३ प्रतिशतभन्दा कम मतको अन्तरमा जित हात पारेका थिए । तसर्थ, यस पटकको निर्वाचनमा पनि मिचिगन ह्यारिसका लागि निर्णायक हुन सक्छ ।

त्यहाँ रेस्टुरेन्ट व्यवसाय गरेर बसेका एक अरब मूलका व्यक्तिले अहिलेसम्म कसलाई मत दिने भनेर निर्णय गर्न सकेका छैनन् । मुद्रास्फीतिका कारण व्यवसायमा परेको नकारात्मक असरका कारण उनी अत्यन्त चिन्तित छन् । उनको चाहना अरबमा युद्धविराम नै हो । अहिले मिचिगनमा निर्वाचन बहिष्कार गर्नेसम्मका अभियान चलेका छन् । उनी पनि त्यसै अभियानका सदस्य बनेका छन् ।
अहिले उनीहरूको चाहना युद्धविरामसँगै अन्तर्राष्ट्रिय मानवअधिकार कानुन पूर्ण रूपमा लागु हुनुपर्छ भन्ने नै हो । साउजा हामेद नामकी महिला पेसाले कानुन व्यवसायी हुन् ।

गत निर्वाचनमा उनी अरब अमेरिकन बार एसोसिएसनको अध्यक्ष पनि भएकी थिइन् । गत निर्वाचनमा उनले बाइडेनलाई साथ दिएकी थिइन् । यस निर्वाचनमा उनी ग्रिन पार्टीकी उम्मेदवार जिल स्टेइनलाई मतदान गर्ने सोचमा छिन् । यो मात्र होइन, गत अगस्ट महिनामा इस्लामिक अमेरिकीको मत सर्वेक्षण भएको थियो । मिचिगनको इस्लामिक मतमध्ये ४० प्रतिशत स्टेइनको पक्षमा, १८ प्रतिशत ट्रम्पको पक्षमा तथा १२ प्रतिशत मात्र ह्यारिसको पक्षमा रहेको पाइएको छ ।

हामेद त अरबमा भइरहेको ‘मृत्युसँग सम्बन्धित व्यक्ति’लाई मत दिनै नसक्ने अवस्था रहेको बताउँछिन् । रिपब्लिकका पूर्वउपराष्ट्रपति डिक चेनीका कारण सो दलप्रति इस्लाम अमेरिकी सकारात्मक हुन सकेका छैनन् । सन् २००३ मा अमेरिकाले इराकमा आक्रमण गरेको समयमा उनको भूमिकाका कारण अहिले ट्रम्पका लागि पनि सो समुदायको मत सुखद् हुन नसक्ने संकेत देखिएको छ ।

औषधिको कारोबार गर्ने डा. माइदा हैदर विगतदेखि नै डेमोक्र्याट मतदाता हुन् । यस पटकको निर्वाचनमा भने उनी पनि अनिर्णीत छिन् । अहिले ट्रम्पले यहुदी रिझाउन इजरायलको पक्षमा आवाज उठाउनु र डेमोक्र्याट सरकारले युद्धविरामलाई प्राथमिकता नदिएका कारण अरब अमेरिकनहरूमा निर्वाचनप्रति नै वितृष्णा बढिरहेको छ । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया