हेटौँडा । मकवानपुरकी महाकाव्यकार मुना अर्याललाई २०८० को महालक्ष्मी साहित्य पुरस्कार प्रदान गरिएको छ । मातृभूमि साहित्य समाजम कवानपुर र महालक्ष्मी विकास बैंक लिमिटेडले संयुक्त रुपमा प्रदान गरेको पुरस्कारको २१ औँ संस्करणमा अर्याललाई सो प्रदान गरिएको हो । मकवानपुरकै साहित्यकारले पहिलोपटक प्राप्त गरेको पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ ।
शनिबार हेटौंडामा आयोजित विशेष समारोहमा बागमती प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले अर्याललाई पुरस्कार हस्तान्तरण गरेका छन् । लामो समयदेखि साहित्य लेखनमा सक्रिय अर्यालका आत्म–सलील महाकाव्य (२०७६) र महाकाश महाकाव्य (२०८०) प्रकाशित छन् । विगतमा काठमाडौंमा शिक्षा क्षेत्रमा संलग्न महाकाव्यकार अर्याल एक दशकदेखि मकवानपुरको साहित्य क्षेत्रमा सक्रिय छिन् । उनी नारी स्रष्टाहरूबाट सञ्चालित आँचल साहित्यकला पुञ्ज मकवानपुरको संस्थापक अध्यक्ष समेत हुन् ।
त्यसैगरी केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०८० मकवानपुरका पत्रकार माधव न्योपानेलाई प्रदान गरिएको छ । मातृभूमि साहित्य समाजको संयोजनमा सो पुरस्कार समाज सेवी ईश्वर मैनालीले आफ्नापिताको स्मृतिमा स्थापना गरेका हुन् ।
पुरस्कारको राशी दशहजार रुपैयाँ रहेको छ । सोही कार्यक्रममा ‘मकवानपुर श्री’ सम्मानबाट मकवानपुरका अग्रज शिक्षा सेवी बद्रीनाथ शर्मा अर्याल सम्मानित भएका छन् । मकवानपुर जिल्लाको उन्नयन विशेष भूमिका निर्वाह गर्ने व्यक्तित्वलाई समाजले यो सम्मान समर्पण गर्ने समाजका अध्यक्ष कृष्णप्रसाद दाहालले बताए ।
सो अवसरमा पुरस्कृत व्यक्तित्वहरूको व्यक्तित्व तथा कृतित्व माथि समाजका पूर्व अध्यक्ष हयग्रीव आचार्यले प्रकाश पारेका थिए । कार्यक्रममा एक दर्जनबढी साहित्यकारले आफ्ना रचना समेत प्रस्तुत गरेका थिए ।
मकवानपुर
प्रतिक्रिया