जनकपुर । कर्मचारी सञ्चय कोषको जनकपुरधाममा रहेको शाखा कार्यालयले मधेस प्रदेशका सञ्चयकर्तालाई भरपर्दो सेवा प्रदान गरेपछि यस क्षेत्रका सञ्चयकर्ता लाभान्वित भएका छन् । अहिले सञ्चयकर्ताले सेवा प्रदेशको राजधानी जनकपुरधाममा नै सहज तरिकाले पाइरहेको कारणले धेरै सञ्चयकर्ता कोषको सेवावाट लाभान्वित भएका छन् ।
आर्थिक वर्ष २०८०–०८१ मा २ हजार ४५८ सेवा निवृत्त भएपछि सञ्चयकर्तालाई ४४ करोड २७ लाख रकम भुक्तानी गरेको जनकपुर शाखा कार्यालयका प्रमुख रामप्रसाद लामिछानेले कोषको ६३औँ वार्षिकोत्सवको अवसरमा जनकपुरधाममा आयोजना गरिएको कार्यक्रममा जानकारी दिएका हुन् ।
यसका साथे सोही अवधिमा ३ हजार ६६ सञ्चयकर्तालाई विषेश सापटी बापत ९४ करोड ८ लाख भुक्तानी गर्नुका साथै १ हजार ६२२ सञ्चयकर्तालाई सुत्केरी तथा शिशु हेरचाह खर्चबापत १ करोड २० लाख रकम भुक्तानी दिएको शाखा प्रमुख लामिछानेले जानकारी दिए ।
यसै गरी ३५ जना सञ्चयकर्तालाई काजक्रिया खर्च भुक्तानी वापत १४ लाख, ५ जनालाई दुर्घटना क्षति भुक्तानी वापत २५ हजारको दरले १० लाख, १७ जना सञ्चयकर्तालाई स्वास्थ्य उपचार खर्चवापत २ लाख ८८ हजार र ५० जनालाई धितोमा आधारित सापटी लगानी वापत ७ करोड ५१ लाख रकम भुक्तानी गरेको कार्यालयले जानकारी दिएको छ ।
कार्यक्रममा मधेस प्रदेशका निमित्त प्रमुख सचिव राजन नेपालले कर्मचारी सञ्चयकोषले सञ्चयकर्ताका लागि ल्याएका कतिपय योजनाहरू निक्कै राम्रो भएको बताउँदै आगामी दिनमा थप सेवा बिस्तार गरेर व्याजको दर बढाउनुका साटो सेवाको दर बिस्तार गरेको खण्डमा सञ्चयकोषको मुनाफा बढ्ने भएकाले यसतर्फ ध्यान दिनका लागि सुझाव दिए । मधेस प्रदेशका अर्थ मन्त्रालयका सचिव शुभाषचन्द्र शिवाकोेटीले सञ्चयकर्ताका लागि ल्याएको सामाजिक सुरक्षाको कार्यक्रमलाई अगामी दिनमा थप बिस्तार गर्दै जान आवश्यक भएको बताउँदै सञ्चयकर्ताको लगानी सही ठाउँमा गर्नका लागि सुझाव दिए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले कर्मचारी सञ्चयकोषले स्वास्थ्य उपचारको सुविधा निजामति सेवा ऐनले परिवार भनेर परिभाषित गरेको परिवारका सदस्यलाई दिनका लागि आग्रह गरे । कार्यक्रममा संघीय कोष तथा लेखा नियन्त्रकको कार्यालय धनुषाका प्रमुख नवराज नेपाल, कोषका कर्मचारीहरू सन्तोषकुमार साह र लोकनाथ ताजपुरियाले विभिन्न विषयमा जानकारी दिएका थिए ।
प्रतिक्रिया