पालिका अध्यक्षको पारिश्रमिकबाट एकल महिलालाई घर

हेटौँडा । आफ्नो पारिश्रमिक तथा सेवा सुविधाको रकमबाट मकवानपुरको मनहरि गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले एकल महिलाका लागि घर बनाइदिएका छन् । अध्यक्ष कालाखेतीले मंगलबार सो घर मनहरी–५ वसन्तपुरकी एकल सोनी राइलाई हस्तान्तरण गरेका छन् ।

गाउँपालिका अध्यक्षले प्राप्त गर्ने सबै पारिश्रमिक तथा सेवा सुविधावापतको कोष बनाएर जम्मा गर्दै आएका कालाखेतीले सोही कोषबाट २ लाख १५ हजार रुपैयाँ खर्चेर राईलाई १ कोठाको घर बनाइदिएका हुन् । ८ वर्षअगाडि श्रीमान् नरबहादुरको काठ काट्न जाँदा लडेर मृत्यु भएपश्चात् राई बसन्तुरमा सानो छाप्रो बनाएर बस्दै आएकी थिइन् । ज्याला मजदुरी गरेर जीविका चलाउँदै वर्षामा छानो चुहिन थालेपछि केही समयदेखि कहिले आफन्त र कहिले छिमेकीकोमा बस्दै आएकी थिइन् । पालिका अध्यक्षले घर हस्तान्तरण गरेपछि राईले खुसी व्यक्त गरेकी छन् ।

स्थानीयबासीले राईको अवस्थाका बारेमा जानकारी गराएपछि आफूले जम्मा गर्दै आएको कोषबाटै घर तयार गरेको अध्यक्ष कालाखेतीले बताए । ‘अध्यक्षको रूपमा जेजति सेवा सुविधा पालिकाबाट प्राप्त हुन्छ ती सबै सोही कोषमा जम्मा हुन्छ’, उनले भने । पालिकामा सहयोगको अपेक्षासहित आउनेहरूलाई आवश्यकताका आधारमा आफूले कोषबाट सहयोग उपलब्ध गराउँदै आएको उनले आफूले निर्वाचनका बेला जनताको बीचमा गरेको प्रतिवद्धताअनुसार आफूले पाउने सेवा सुविधा वापतको रकम जनताको सेवा समर्पित गर्दै आएको बताए ।

यसअघि सोही कोषबाट साढे ३ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको बताउँदै उनले आगामी दिनमा पनि समस्यामा परेका जनताको सेवामा सो कोषलाई प्रयोग गरिने प्रतिवद्धता व्यक्त गरे ।

छवि अनित्य

मकवानपुर

प्रतिक्रिया