धनराजको धनमाथि प्रश्नै प्रश्न

सम्पादकीय

सत्तारूढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको नाम सहकारी ठगी प्रकरणमा जोडिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं तत्कालीन गृहमन्त्री रवि लामिछानेको नाम मुछिएका सहकारीलगायत अन्य समस्याग्रस्त सहकारीको छानविन गर्न गत १५ जेठमा संसदीय समिति गठन गरिएको थियो । संसदीय समितिद्वारा समस्याग्रस्त सहकारीका सञ्चालकहरूसँग बयान लिने क्रममा कांग्रेस उपसभापति गुरुङको पनि नाम मुछिएको हो ।

ललितपुरस्थित मितेरी सहकारीबाट अढाई करोड रुपैयाँ ऋण लिएर फरार रहेकी ज्योति गुरुङ कांग्रेस उपसभापति गुरुङकी श्रीमती रहेको तथ्य छानविन समितिले फेला पारेको छ ।

मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङले संसदीय छानविन समितिसँगको वयानमा श्रीमती ज्योति मात्रै नभएर नेता गुुरुङ पनि रकम हिनामिनामा संलग्न रहेको जनाएका छन् । तर, नेता गुरुङले भने उक्त सहकारीबाट आफूले कारोबार गरेको तर रकम हिनामिना भने नगरेको जनाएका छन् । साथै श्रीमती ज्योति गुरुङसँग २०७६ फागुनमै आफ्नो डिभोर्स भइसकेको जनाएका छन् ।

डिभोर्स भइसके पनि ज्योतिले लिएको ऋण नेता गुरुङले तिर्ने गरेको प्रमाण फेला परेको छ । पूर्व श्रीमतीले लिएको ऋण मानवीय नाताले तिरिरहेको नेता गुरुङले जनाएका छन् ।

यसैगरी डिभोर्सको प्रमाणपत्र लिएको १ वर्षपछि नेता गुरुङले मितेरी सहकारीबाट १४ लाख रुपैयाँ ऋण लिँदा हकवालाका रूपमा ज्योति गुरुङको नाम उल्लेख गरेको प्रमाण पनि फेला परेको छ । तर नेता गुरुङले भने ज्योतिको नाम आफूले नभएर सहकारीका सञ्चालकहरूले नै नियतबस उल्लेख गरिदिएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसकै निकै ठूलो जोडबलमा तत्कालीन गृहमन्त्री लामिछाने केन्द्रित संसदीय छानविन समिति गठन हुनु, तर छानविन गर्दै जाँदा कांग्रेसकै उपसभापति गुरुङको नाम सतहमा आउनु संयोग मात्रै हुनसक्छ । मितेरी सहकारीका सञ्चालक तथा कर्मचारीहरूले दिएको बयानकै आधारमा गुरुङलाई दोषी किटान गरिहाल्नु हुन्न । आजभन्दा अढाइ दशकअघि फर्कने हो भने गुरुङको पृष्ठभूमि राम्रो देखिन्न ।

पासपोर्ट दुरुपयोगको आरोपका कारण उनलाई नेपाली कांग्रेसले पार्टीको जिम्मेवारीबाट अलग गरेको थियो । त्यो प्रकरणमा उनले अदालतबाट सफाइ पाइसकेका छन् । विगत १५ वर्षदेखि भ्रष्टाचारविरुद्ध सशक्त आवाज उठाउँदै आएका गुरुङ लोकप्रियताकै कारण नेपाली कांग्रेसजस्तो देशको मियो पार्टीको उपसभापति निर्वाचित हुन सफल भएका छन् । त्यस यता उनी संभावना बोकेका युवा नेताका रूपमा चर्चित छन् । तर, अहिले लागेको सहकारी ठगीको आरोपले उनको व्यक्तित्व फेरि पनि २५ वर्षअघिकै अवस्थामा पुग्ने त होइन ? भन्ने आशंका गरिँदै छ ।

गुरुङले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । यस्ता प्रकरणमा कानुनी रूपमा पुष्टि नहुँदासम्म सबै अभियुक्तले गर्ने भनेको अस्वीकार नै हो । आफ्नो पार्टीका उपसभापति मुछिएको मितेरी सहकारी हिनामिना प्रकरणलाई नेपाली कांग्रेसले कुन रूपमा लिएको छ ? भन्ने प्रश्नको स्पष्ट उत्तर अझै आउन सकेको छैन ।

नियमित छानविन तथा अदालती प्रक्रियामा जाने हो भने यो प्रकरण टुंगिन निकै लामो समय लाग्न सक्छ । किनकी करिब ५०० सहकारीहरूमा यस्ता समस्या छन् । त्यसैले आफ्ना उपसभापति गुरुङ मुछिएको प्रकरण छानविनका लागि फास्ट ट्रयाकको बाटो अवलम्वन गर्न नेपाली कांग्रेसले लबिङ गर्नु जरुरी देखिन्छ ।

गुरुङ दोषी हुन् वा होइनन् ? भन्ने यथार्थता पत्ता लगाउन धेरै मिहिनेत गरिरहनु पर्दैन । अहिलेसम्म २१ जना सहकारी ठगहरूले श्रीमतीका नाममा सम्पत्ति जोड्ने र कागजी रूपमा डिभोर्स गरी रकम पचाउने चलखेल गरेको देखिएको छ । उपसभापति गुरुङले पनि यसैका लागि डिभोर्स गरेका हुन् या वास्तविक डिभोर्स हो ? भन्ने कुरा पत्ता लगाउन खासै अप्ठेरो छैन ।

उपसभापति गुरुङले ऋण लिँदा हकवालाका रूपमा ज्योति गुरुङको नाम कसले लेखिदिएको हो ? कतिबेला लेखिएको हो ? गुरुङले हस्ताक्षर गर्नुभन्दा पहिले नै लेखिएको हो या पछि लेखिएको हो ? भन्ने कुरा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट १ मिनेटमा पत्ता लाग्न सक्छ ।

यसैगरी डिभोर्सको प्रमाणपत्र लिएको ५ वर्षपछि धनराजले ज्योति गुरुङले लिएको ऋणमध्ये ८४ लाख रुपैयाँ तिरेको प्रमाण पनि भेटिएको छ । उनले यो रकम कुन स्रोतबाट तिरे ? भन्ने प्रश्नको उत्तर खोज्न पनि खासै समस्या छैन । अर्को कुरा धनराज र ज्योति गुरुङ तथा उनीहरूका नातापाताको सम्पत्ति छानविन गर्ने हो भने पनि धेरै तथ्यहरू फेला पर्नसक्छन् ।

प्रतिक्रिया