पाँचथर । जिल्लाको फिदिम नगरपालिकामा भएको ६०औँ राष्ट्रिय बालदिवसको अवसरमा आयोजित जुनियर ब्याडमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भएको छ । ब्याडमिन्टन संघ पाँचथरद्वारा आयोजित प्रतियोगितामा यू–१३, यू–१५, यू–१६ र यू–१९ गरी जम्मा चार इभेन्टहरु समावेश गरिएको संघले जनाएको छ ।
नियमित प्रशिक्षणमा रहेका जुनियर खेलाडीहरुको खेल कौशलको विकास गर्न प्रतियोगिताको आयोजना गरिएको संघका अध्यक्ष तेजबहादुर तुम्बापोले जानकारी दिए । उक्त प्रतियोगितामा यू–१३ तर्फ अनुहाङ लिम्बू च्याम्पियन बन्दा मिसन लिम्बूले द्वितीय स्थान हासिल गरे ।
अनुहाङले मिसनलाई १९–२१, २१–८ र २१–१३ ले पराजित गरेका हुन् । सो विधामा इमान बेघा र जेरस तामाङले तृतीय स्थान हासिल गरे । यसै गरी यू–१५ तर्फ पल राईले उपाधि चुमे । उनले द्वितीय स्थान हासिल गरेका नितेश शाहलाई २१–१९ र २१–१५ को सोझो सेटमा पराजित गरे । यस विधामा स्पर्श तुम्बापो र विजय सुवेदीले तृतीय स्थान हासिल गरे ।
प्रतियोगितामा यू–१६ महिलातर्फको उपाधी नेहा राईले हात पारिन् । उनले सो विधामा द्वितीय स्थान हासिल गरेकी प्रजु तामाङलाई २२–२०, १७–२१ र २१–१८ ले पराजित गरिन् । सो विधामा आशिका राई र सलमी लिम्बूले तृतीय स्थान हासिल गरे । यसै गरी, यू–१९ तर्फ आयुश धमला च्याम्पियन बने ।
प्रतिस्पर्धात्मक बनेको फाइनलमा शाहिल राईलाई पराजित गर्दै धमलाले उपाधि हात पारेका हुन् । पहिलो सेट २१–१९ को जित दर्ता गरेका धमलाले दोस्रो सेट १४–२१ ले राईलाई सुम्पिए । उनले तेस्रो तथा निर्णायक सेटमा २६–२४ को संघर्षपूर्ण जित हात पारे । यो विधामा अमित मगर र बबिन मगरले तृतीय स्थान हासिल गरे ।
सबै विधाका विजेता, उपविजेता तथा तेस्रो स्थान हासिल गर्ने खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपाने, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तान, संघका अध्यक्ष तेजबहादुर तुम्बापो, सचिव मंगल बेघा लगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगिताका सबै खेलाडीहरुलाई सहभागिताको प्रमाणपत्र समेत हस्तान्तरण गरिएको थियो ।
समापन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि न्यौपानेले खेलकुदको विकासमा नगरपालिकाको सहयोग रहने बताए । खेलाडी उत्पादन तथा प्रतियोगिता सञ्चालनका लागि नगरपालिकाबाट आवश्यक बजेट विनियोजन गरिने उनले जानकारी दिए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोक्तानले ब्याडमिन्टन खेलको विकासमा संघको गतिविधि प्रसंशनीय रहेको बताउँदै आगामी राष्ट्रिय खेलकुदका लागि हुने छनोट खेलको तयारीमा लाग्न खेलाडीहरुलाई सुसूचित पनि गराए । समापन सत्रमा प्रतियोगिताको ट्रफी सौजन्य गर्ने फालेलुङ गाउँपालिका– ८ का सुमन हाङसरुम्बालाई मायाको चिनो प्रदान गरिएको थियो ।
उनका बुबा स्वर्गीय जयराज केरुङको स्मृतिमा छोराहरु नविन, सुमन, सोनाम र दिवस हाङसरुम्बाले ट्रफी सौजन्य गरेका थिए । यसै गरी यू–१९ तर्फका च्याम्पियन राइजिङ प्लेयर आयुश धमलालाई ६ हजारको एक थान र्याकेट हस्तान्तण गर्नुका साथै यू–१९ र यू–१६ का विजेतालाई जनही १ हजार ५ सय बराबरको दन्त सेवा उपलब्ध गराउने फाल्गुनन्द डेन्टल क्लिनिकका प्रोपाइटर फेडरिच तुम्बापो र प्रतियोगिता सञ्चालन गर्न सहयोग गर्ने निराजन श्रेष्ठलाई समेत मायाको चिनो प्रदान गरिएको थियो ।
दुई दिनसम्म चलेको यस प्रतियोगितामा ५३ जना जुनियर खेलाडीहरुको सहभागिता रहेको ब्याडमिन्टन प्रशिक्षक दुर्गा सारु मगरले बताए ।
प्रतिक्रिया