पनौती बालश्रममुक्त बालमैत्री नगर घोषणा

काभ्रे । काभ्रेको ऐतिहासिक पनौती नगरपालिकाले शनिबार बालश्रम मुक्त, बालमैत्री नगर घोषणा गरेको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पनौती नगरलाई औपचारिक रूपमा बालश्रममुक्त नगर घोषणा गर्दै, नगर प्रमुख रामशरण भण्डारीलाई प्रमाणपत्र हस्तान्तरण गरेका छन् । यो घोषणा ऐतिहासिक क्षण मात्र होइन, समस्त नगरको भविष्यप्रतिको दिगो प्रतिज्ञा भएको बताइएको छ ।

मुख्यमन्त्री लामाले आफ्नो सम्बोधनमा बाग्मती प्रदेशका सम्पूर्ण ११९ स्थानीय तहलाई बालमैत्री बनाउने लक्ष्यमा काम भइरहेको र पनौतीको यो प्रगति अन्य नगरहरूका लागि प्रेरणाको स्रोत बन्ने बताए । बालश्रमको अन्त्य बाल अधिकारको सुनिश्चिततामा महत्तवपूर्ण पाइला भएको उनले बताए ।

कार्यक्रममा पनौती नगरप्रमुख रामशरण भण्डारीले नगरपालिकालाई बालश्रममुक्त बनाउनु पहिलो पाइला भए पनि यसलाई दिगो राख्नुपर्ने चुनौतीलाई स्वीकार गर्दै निरन्तर सुधारका लागि कटिबद्ध रहेको बताए । बाल श्रमिकको खोजी, बालबालिकाको व्यवस्थापन, शिक्षा र परिवारमा पुनःस्थापनाजस्ता कार्यक्रमहरू सञ्चालन गरेर नगरले यो महत्वपूर्ण लक्ष्य हासिल गरेको उनले बताए ।
बालमैत्री नगरको अभियानमा अन्तर्राष्ट्रिय श्रम संगठन को सहयोग महत्तवपूर्ण रह्यो। १८ जना बालबालिकालाई श्रमबाट मुक्ति दिएर पुनःस्थापनाको लागि शिक्षा र परिवारमा मिलन गराइएको थियो ।

पनौती नगरका सबै वडाहरू क्रमिक रूपमा बालश्रममुक्त घोषणा गरिँदै शनिबार नगरभरि यो स्थिति कायम भएको हो । बालबालिकालाई सुरक्षित वातावरण दिने प्रतिबद्धता सहित, नगरका प्रमुख, उपप्रमुख, र सरोकारवालाहरूले दिगोपनाको लागि हस्ताक्षर गरेका छन् ।

नगर उपप्रमुख गीता बन्जराले यो घोषणा नगरको बालबालिकाहरूको अधिकारको लागि एक महत्वपूर्ण पाइला मात्र होइन, यसले भविष्यमा सम्पूर्ण नगरलाई सुरक्षित, शिक्षित, र बालमैत्री बनाउने मार्ग प्रशस्त गरेको बताइन् ।
पनौती नगरपालिकालाई यसअघि पनि बालमैत्री स्थानीय शासनको रूपमा घोषणा गरिएको थियो । २०७८ असार ३१ मा पूर्वमन्त्री तथा सांसद गोकुल बाँस्कोटाले पनौतीलाई जिल्लाको दोस्रो बालमैत्री नगरपालिका घोषणा गरेका थिए । यस घोषणासँगै पनौतीले बालबालिकाको अधिकार र सुरक्षाका लागि आफ्नो प्रतिबद्धतालाई अझै बलियो बनाउँदै आएको छ ।

यो घोषणासँगै पनौतीलाई एउटा नयाँ उचाइमा पु¥याएको र बालश्रमको अन्त्यले बालबालिकाको उज्यालो भविष्यको सुरुवात तर्फ उन्मुख भएको बताइन्छ ।

प्रतिक्रिया