हेटौँडा । राजश्व दर बृद्धिको विषयमा उठेको विवादलाई सम्बोधन गर्न हेटौँडा उपमहानगरपालिकाको विशेष नगरसभा सुरु भएको छ । उपमहानगरपालिकाको निर्माणाधीन सभाहलमै जारी नगरसभामा नगरसभा सदस्यहरु र सीमित कर्मचारीको मात्र उपस्थिति रहेको छ ।
उपमहानगरपालिकाले मुलगेटमा नगरप्रहरी परिचालन गरेर सञ्चारकर्मीहरुलाई समेत प्रवेश निषेध गरेको छ । हेटौँडा उपमहानगरपालिकालु चालु आर्थिक वर्षका लागि राजश्वको दरमा अस्वाभाविक वृद्धि गरेको भन्दै व्यवसायीहरु आन्दोलित भएपछि विशेष नगरसभा गर्नुपर्ने अवस्था आएको हो ।
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा हेटौँडाका व्यवसायीहरु चरणवद्ध आन्दोलनमा उत्रिएपछि नगरसभामा प्रतिनिधित्व गर्ने बहुमत सदस्यले गत साउन ३० गते विशेष नगरसभाको माग गर्दै लिखित निवेदन दर्ता गराएका थिए ।
उपमहानगरपालिकाले आजका लागि विशेष नगरसभा राखे पनि व्यवसायीहरुका माग सम्बोधन गर्ने विषयमा ठोस गृहकार्य भने नभएको उपमहानगर स्रोतले बताएको छ । एक नगरसभा सदस्यका अनुसार बहुमत सदस्यले विशेष नगरसभाको माग गरेपछि कानुनी बाध्यताका कारण मात्र आज सभा राखिएको हो ।
स्वयम् विशेष नगरसभाको माग गर्ने सदस्यहरुसँग समेत आफैँले पहिले हस्ताक्षर गरेर बढाएको करको दर परिमार्जन गर्दा आउने कानुनी अड्चनको सामना कसरी गर्ने भन्ने ठोस योजना नभएको ती सदस्यले दाबी गरे । नगरसभामा हाल नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको बहुमत रहेको छ । तर बहुमतले करको दर परिमार्जन गरेर व्यवसायीहरुको माग अनुसार पुरानै करको दर कायम गर्ने सम्बन्धमा निर्णय हुने सम्भावना अत्यन्तै न्यून रहेको छ ।
मकवानपुर
प्रतिक्रिया