नेपालमा उत्पादित ताजा तरकारी कतारमा निर्यात गर्न थालिएको छ । काठमाडौँको दक्षिणकाली क्षेत्रमा उत्पादित ताजा तरकारी बिहीबारदेखि कतार निर्यात सुरु गरिएको हो । दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतका अनुसार चाइना फाउन्डेसनले नेपालस्थित कतारका राजदूतसँग समन्वय गरी ताजा तरकारी निर्यातको मार्गप्रसस्त गरेका हुन् । नेपालीहरूको सघन बसोबास भएका देशहरूमा ताजा तरकारी निर्यात गर्ने प्रयास सरकारले धेरै वर्षदेखि गर्दै आएको थियो, तर उनीहरूले तोकेको गुणस्तर अनुसारको तरकारी नेपाली किसानले उत्पादन गर्न नसकेका कारण निर्यात संभव भइरहेको थिएन ।
यसै समस्यालाई मध्यनजर गर्दै चिनियाँ गैरसरकारी संस्था चाइना फाउन्डेसन फर रुलर डेभलपमेन्टले नेपाली किसानलाई गुणस्तरीय तरकारी खेतीका लागि केही वर्षदेखि फिल्डमै प्रशिक्षण दिन सुरु गरेको थियो । यसका लागि नमुनाका रूपमा फाउन्डेसनले काठमाडौँ उपत्यकाका दक्षिणकाली र तारकेश्वर क्षेत्र रोजेको थियो । दुर्गम भेकमा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्दै आएको चाइना फाउन्डेसनले ताजा तरकारी विदेश निर्यात गर्नसके किसानको आर्थिक समृद्धि छिटो हुने सुझाव नेपाल सरकारलाई दिएको थियो । यसका लागि आर्थिक, प्राविधिक तथा बिक्री वितरणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो । बिहीबार कतार पठाइएका २ हजार केजी तरकारीमा रातो चेरी मिर्च खुर्सानी (अकबरे), फ्ल्याट बिन्स र करेला लगायतका रहेका छन् ।
हरेक वर्ष अर्बौं रुपैयाँको ताजा तरकारी आयात गर्दै आएको नेपालले सानो परिमाणमा भए पनि कतारजस्तो विकसित देशमा निर्यात गर्ने अवसर पाउनु आशाजनक संकेत हो । तर खुसी प्रकट गरिहाल्नुपर्ने अवस्था छैन । पहिलो कुरा त यो सुरुआतलाई के कसरी निरन्तरता दिन सकिन्छ ? निर्यातका लागि गुणस्तर कायम गर्न नेपाली किसानले सक्छन् कि सक्दैनन् ? भन्ने चुनौती छ । विगतमा पनि निर्यात थालनी हुने तर गुणस्तर कायम हुन नसकेका कारण बन्द हुने सिलसिला चलेको थियो । विकसित देशमा उपभोग हुने तरकारीको गुणस्तर कायम गर्न किसानको आर्थिक लगानी पनि ठूलै हुन्छ, लगानी अनुसारको मूल्य पाउन सकेनन् भने किसानले गुणस्तरीय उत्पादनलाई निरन्तरता दिन सक्दैनन् ।
विश्वकै उत्कृष्ट तरकारी फर्महरूसँग गुणस्तर र मूल्यमा प्रतिस्पर्धा गर्न नेपाली किसानलाई सहज छैन । उदाहरणका लागि भारतको मुम्बइबाट पानीजहाजमै भारतको तरकारी खाडी मुलुक जाने गर्छ । नेपालले खाडी मुलुकमा तरकारी पठाउन हवाई जहाजको प्रयोग गर्नुपर्ने वाध्यता छ । यो कहालीलाग्दो ढुवानी लागतका कारण पनि नेपालको ताजा तरकारी विकसित देशहरूमा निर्यात गर्न जटिल हुँदै आएको छ ।
कतार, दुबई, साउदी अरब लगायतका खाडी देशहरूमा २० लाखभन्दा बढी नेपालीहरू बसोबास गर्छन् । यो संख्या भनेको राजधानी काठमाडौँ उपत्यकाको करिब आधा जनसंख्या बराबर हो । राजधानी काठमाडौँ उपत्यकामा जति तरकारी खपत हुन्छ त्यसको आधा तरकारी खाडी क्षेत्रमा बस्ने नेपालीहरूले नै खपत गर्छन् । त्यति मात्रै होइन मलेसिया, बेलायत, जापान लगायतका केही देशहरूमा पनि ठूलो संख्यामा नेपालीहरू छन् ।
त्यहाँ पनि नेपालीलाई लक्षित गरेर तरकारी निर्यात गर्न सकिन्छ । तर, यसका लागि सरकारी स्तरमा कुराकानी अघि बढाउन नेपालका नीति निर्माण तहमा रहनेहरू असफल हुँदै आएका छन् । उदाहरणका लागि अहिले चाइना फाउन्डेसनले सिधै कतारसँग कुरा मिलाइदिएका कारण निर्यात संभव भएको हो । विश्वका विकसित देशहरूले मूल्यलाई भन्दा गुणस्तरलाई बढी प्राथमिकता दिने भएकोले हवाई मार्गबाटै भए पनि नेपालको तरकारी विदेश निर्यात हुनसक्ने संभावना नरहेको होइन, तर यसका लागि स्थायी र संस्थागत किसान तथा कृषि फर्महरू तयार गर्नुपर्छ ।
भारतबाट निर्वाध रूपमा तरकारी आयात हुने गरेका कारण नेपालमा स्थायी र संस्थागत किसान तथा कृषि फर्महरू तयार हुन सकिरहेको छैन । भारतबाट निर्वाध रूपमा तरकारी आयात हुने सिलसिला जारी रहँदासम्म नेपालमा व्यावसायिक तरकारी उत्पादनका लागि कृषि फर्ममा लगानी हुने संभावना कमजोर देखिन्छ ।
प्रतिक्रिया