काठमाडौँमा क्षेत्राधिकारमा लडाइँ गरेको सरकारले देखेन कर्णालीको पीडा

नाम राजमार्ग, अवस्था ग्रामीण सडकभन्दा बेहाल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोडमा फुटपाथ बढाउन खोज्दा संघीय सरकारअन्तर्गको सडक डिभिजनले काममा हस्तक्षेप गर्दै काम रोक्यो । भलै पछि अदालतले काम नरोक्न अन्तरिम आदेश दिएसँगै काम पुनः सुरु भयो । न्युरोडमा जुँगाको लडाइँ लडेको सडक डिभिजनले त्यहाँ मात्रै हस्तक्षेप गरेन काठमाडौँ महानगरपालिकाभरका सडकछेउमा रहेको बिजुलीका पोलपोलमा आफ्नो क्षेत्राधिकार जनाउन ‘स.वि.’ लेख्यो ।

न्युरोडमा महानगरले ठेक्का लगाएर फुटपाथ बढाउन काटेको भाग रातारात टालेको सरकारको आँखा विकटको उपमा पाएको कर्णालीमा भने परेको छैन । क्षेत्राधिकारका हिसाबले राजमार्गहरू संघीय सरकारअन्तर्गत पर्छन् । तर, भन्नलाई कर्णाली राजमार्ग भनिए पनि यहाँको सडकको अवस्था ग्रामीण सडकभन्दा पनि बेहाल छ । कतिबेला दुर्घटना भएर कति मानिसको ज्यान जाने हो जस्तो अवस्थाको बाटो हुँदा पनि काठमाडौँका मेयर बालेन शाहसँग द्वन्द्वमा उत्रिएको सरकारको कर्णाली राजमार्गमा भने ध्यान पुगेको छैन ।
यहाँको राजमार्ग लामो समयदेखि स्तरोन्नति नहुँदा हिउँदमा धुलो र वर्षामा बाढीपहिरोका कारण यात्रुले सास्ती खेपिरहेका छन् । बाँके, नेपालगन्जको रुपैडियादेखि मुगु सदरमुकाम गमगढीसम्मको सडकखण्ड पार गर्न यात्रुले बाह्रैमास सास्ती खेपिरहेका छन् ।

१८ वर्षअघि खुलेको कर्णाली राजमार्ग हालसम्म पनि उस्तै अवस्थामा छ । सुर्खेतदेखि जुम्लासम्मको सडकखण्ड एसियाली विकास बैंकको सहयोगमा ८ वर्षअघि कालोपत्र गरिए पनि धेरै ठाउँमा बाढीपहिरोका कारण भत्किसकेको छ । सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुका नागरिकको ‘लाइफलाइन’ यो सडक बेहाल बन्दा माथिल्लो कर्णालीका नागरिकले पाउनु दुःख पाइरहेका छन् ।

त्यस्तै, कर्णाली राजमार्गअन्तर्गत नेपाल प्रमुख पर्यटकीय गतव्य मुगुको राराताल जाने सडकको अवस्था पनि उस्तै रहेको जुम्ला तातोपानी गाउँपालिका–४ का राजबहादुर शाहीले बताए । ‘अहिले बर्खाको समय भएकाले कर्णाली राजमार्गको नाग्म–गमगढी सडकको अवस्था जीर्ण छ । त्यसमाथि ठाउँठाउँमा पहिरोले गन्तव्यमा पुग्ने समय निश्चित हुँदैन,’ उनले भने, ‘नाग्म–गमगढी सडकको कोइरेली, बड्की, बिष्टबाडा, रोकायबाडा, गोठीज्युलालगायत ठाउँमा सडक निकै अप्ठयारो छ ।’

कर्णाली राजमार्गको २३२ किलोमिटर सडकमध्ये सडक डिभिजन कार्यालय जुम्लाले १०० किलोमिटर र सडक डिभिजन कार्यालय सुर्खेतले १३२ किलोमिटर हेर्ने जिम्मा लिएका छन् । सडक डिभिजन कार्यालय सुर्खेतले सुर्खेतदेखि कालीकोटसम्म र सडक डिभिजन कार्यालय जुम्लाले कालीकोटदेखि जुम्लासम्मको सडक हेर्दै आएका छन् । तर, सरकार भने भौगोलिक अवस्था र ठेकेदारलाई दोष दिँदै पन्छिने गरेको छ ।

कालीकोटको सुनारखोला, पिली, मोल्फा, खल्लागाडलगायत ठाउँमा दिनहुँ आउने पहिरोले यात्रु समस्यामा पर्ने गरेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी एवं इन्जिनियर वीरबहादुर जिटीले बताए । ‘त्यो क्षेत्रलाई हेरेर हेभी इक्विप्मेन्टहरू राखेका छौँ,’ उनले भने ‘ती ठाउँमा कतिबेला पहिरो जान्छ भन्ने कुरा पत्तो नै हुँदैन ।’

ठेक्का लगाउने निकायको राम्रो निगरानी नहुने र निर्माण व्यवसायीको कमाउने मनसाय भएकाले सडकमा समस्या हुँदै आएको कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए । ‘अबदेखि कार्यालयले निर्माण व्यवसायीलाई सडक मर्मत गर्दा निस्केको माटोको व्यवस्थापन आफैँले गर्नुपर्ने भनेर सम्झौतामा लेख्नुपर्छ,’ उनले भने ‘निगरानी पनि त्यहीअनुसार गरे मात्र समस्या समाधान हुन्छ ।’

सबैभन्दा बढी समस्या कालीकोटमा भएको सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख चेतनकुमार मण्डलले बताए । उनले सम्झौतामा त्यसरी नलेखिएको जानकारी दिए । तर, निर्माण व्यवसायी आफैँले पनि थाहा पाउनुपर्ने विषय भएकाले सडकमा माटोको ढिस्को पारेर छाड्नु उनीहरूकै लापरबाही भएको बताए ।
कर्णाली राजमार्गमा बर्सेनि सडक मर्मतका नाममा करोडौँ रुपैयाँ खर्च हुने गरेको भए पनि सडकको अवस्था भने ज्यूँका त्यूँ छ ।

बर्सेनि कर्णाली राजमार्ग मर्मत तथा सम्भारका नाममा बजेट आउने भए पनि भत्केको ठाउँमा सामान्य मर्मत गरेर बजेट मात्र सक्ने परिपाटी छ । अगाडिबाट सडकमा ओटासिल हाल्दै जाने र पछिबाट उप्किँदै जाने भएकाले सडक सुधारका नाममा बजेट मात्र खर्च हुने गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा कर्णाली राजमार्ग मर्मतका लागि झन्डै १६ करोड बजेट खर्च भएको थियो भने आव २०७८/८९ मा २६ करोड र आव २०७९/८० मा पनि सोही हाराहारीमा बजेट खर्च भएको थियो ।

विभिन्न खण्डमा भाग गरेर मर्मतका लागि भनेर ठेक्कामार्फत् काम सुरु गरिएको थियो । निर्माण व्यवसायीले ठेक्का हाले पनि सडक बनाउने नाममा खाल्डाखुल्डी मात्र पुरेको र कतैकतै ओटासिल हाले पनि सडकको अवस्था उस्तै रहेको खाडाँचक्र नगरपालिका–६ दाहाँका स्थानीय नरबहादुर शाही बताउँछन् ।

अगाडिबाट ओटासिल हाले पनि पछाडिबाट उप्किँदै जाने गरेको तिलागुफा नगरपालिका–४, राँचुलीका पूर्ववडाध्यक्ष खड्कराज शाहीले बताए । ‘मेरो वडाको राँचुलीमा सडकमा कालोपत्र गरेको १५ दिनमा पुरानै अवस्थामा परिणत भएको छ,’ उनले भने, ‘केही दिनसम्म कालो राम्रो देखिएको सडक २ हप्तापछि हेर्दा पहिलेको जस्तै जीर्ण बनेको छ ।’

कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडकका अधिकांश स्थानमा फलामे सेफ्टी बार भाँचिएका छन् । भिरको सडक किनारमा लगाइएका सेफ्टी बार केही ठाउँमा पहिरो र केही ठाउँमा खियाका कारण जीर्ण बनेका छन् । साँघुरो र अप्ठेरो सडकमा सेफ्टी बारले पनि सुरक्षित महसुस गर्न सकिनेमा त्यही पनि जीर्ण भएका कारणले डर लाग्ने गरेको कर्णाली राजमार्गमा सवारी चलाउँदै आएका चालक राजन कार्कीले बताए ।

मुख्य राजमार्ग भएर खनिएका सहायक सडक पनि कर्णाली राजमार्गमा आउने बाढीपहिरोका समस्या भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । शुभकालिका गाउँपालिकाको केन्द्रसम्म जान निर्माण गरिएका ग्रामीण सडकबाट दैखोला, गगनेखोलामा सधैँ ढुंगासहितको पहिरो आउने गरेको डिभिजन सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख चेतन मण्डलले बताए । कर्णाली राजमार्गमा भएका सानादेखि ठुला दुर्घटनाका घटना थुप्रै छन् ।

२०६३ चैतमा भएको बस दुर्घटनामा ४२ जनाले ज्यान गुमाएका थिए । कालीकोटको हुम्लादेखि सुर्खेतका लागि प्रस्थान गरेको बस दैलेखको आठबिस नगरपालिका–५ को किटुमा दुर्घटना भएको थियो । यो दुर्घटनालाई कर्णाली राजमार्ग सञ्चालनमा आएयताको सबैभन्दा ठुलो र भयानक दुर्घटना मानिन्छ । कर्णाली प्रदेशमा गत वर्षमात्र १ हजार ४४५ वटा दुर्घटनामा परी ११२ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया