‘आत्महत्याको प्रमुख कारण डिप्रेसन’

रौतहट । प्रादेशिक अस्पताल गौरका प्रमुख मेडिकल सुप्रिटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले आत्महत्याको घटना बढ्नुको मुख्य कारण डिप्रेसन रहेको बताएका छन् ।

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सञ्चारकर्मीसँग कुरा गर्दै डाक्टर ठाकुरले एक्लोपन र बढी अपेक्षाको कारण मानिस डिप्रेसनको सिकार भएर आत्महत्याको अन्तिम बिन्दुमा पुग्ने गरेको बताए ।

उनले बेरोजगारी, अपेक्षा अनुसारको सफलता नपाउनुको कारण व्यक्ति डिप्रेसनको सिकार हुने गरेकोले आत्महत्याको घटना दिनप्रतिदिन बढ्दै गएको बताए ।

पहिला मानिस समूहमा बसेर एकअर्काबीच छलफल गर्ने गर्थे अहिलेको समयमा एक्लो परिवार भएर कामको बढी चाप भएको कारण डिप्रेसनमा जाने गरेको उनले अनुभव सुनाए । कुनै किसिमको चिन्ता मस्तिष्कमा आएको बेला कसैलाई नभनी एक्लै चिन्तन गर्नेले यस्तो अवस्था आउने उनले बताए ।

मोबाइलको कारण पनि भर्चुअली तनाव उत्पन्न हुने गरेको उल्लेख गर्दै कुनै किसिमको मानसिक तनाव भएमा नजिकका साथी, मित्र, घरपरिवारका सदस्यसँग आदानप्रदान गर्नुपर्ने उनले सुझाव दिए ।
डाक्टर ठाकुरले मानसिक रूपमा स्वास्थ्य रहनका लागि शारीरिक व्यायामका साथै सामाजिक रूपमा समूहगत रूपमा बेलाबेलामा छलफल गर्नुपर्ने उल्लेख गरे ।

मनमा चिन्ता भएको बेलामा कसैलाई नभनी एक्लै समाधान गर्ने प्रयास गर्ने कारणले डिप्रेसनमा जाने र आत्महत्याको बाटो रोज्ने गरेको उनको भनाइ रहेको छ । बढ्दै गएको आत्महत्याको घटनाले चिन्तित बनाएको भन्दै डाक्टर ठाकुरले आत्महत्याको घटना न्यूनीकरण गर्नका लागि व्यापक रूपमा गाउँ समाज सहर टोलमा प्रचारप्रसार गर्नुपर्ने आवश्यक रहेको बताए ।

स्थानीयतहले गाउँगाउँमा छलफल चलाउनुपर्ने जोड दिँदै कुनै किसिमको चिन्ता तनाव भएको खण्डमा प्रादेशिक अस्पताल गौरमा प्रत्येक महिनाको दोस्रो हप्तामा आउने मानसिक रोग विशेषज्ञसँग राय सलाह लिन उनले अपीलसमेत गरे ।

प्रादेशिक अस्पताल गौरमा डिप्रेसनको सिकार भएकालाई मनोविमर्श गर्ने तालिम प्राप्त चिकित्सक रहेको र औषधि प्रदेश सरकारले निःशुल्क दिने व्यवस्था गरेकोले लाभ लिन आग्रह गरेका छन् ।


जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गएको आर्थिक वर्षमा १९० वटा आत्महत्याको घटना भएको जनाएको छ । प्रहरी नायब उपरीक्षक एलिजा गिरीका अनुसार पुरुष ८०, महिला ६८ जना, बालिका ३५ जना र बालक ७ जना गरी आर्थिक वर्ष २०८०/०८१ मा १९० जनाले आत्महत्या गरेको हो ।

आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना २०८१ अनुसार जिल्ला प्रहरी कार्यालयको सहकार्यमा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियान समिति, जिल्ला स्तरीय आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्यदल समिति, पालिका स्तरीय आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्यदल समिति र वडास्तरीय आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्यदल समिति गठन गरिएको प्रवक्ता प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिइन् ।

प्रतिक्रिया